१३ कार्तिक २०८३, शुक्रबार

आठ महिनामा प्रतिव्यक्ति ऋण चार हजार ६९३ रुपैयाँ थपियो, के हो प्रतिव्यक्ति ऋण ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । पछिल्लो ८ महिनामा प्रतिव्यक्ति सार्वजनिक ऋण दायित्व ४ हजार ६९३ रुपैयाँ थपिएको छ । अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा प्रतिव्यक्ति ऋण २४ हजार २७० थियो ।

सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार चालू आर्थिक वर्ष ०७४/७५ को ८ महिनामा एक व्यक्तिको टाउकोमा अब २८ हजार ९ सय ६३ रुपैयाँ ऋण पुगेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तथ्यांकअनुसार अहिले सार्वजनिक ऋण ८ खर्ब ४३ अर्ब पुगेको छ । चालू आवको ८ महिनामा सरकारले १ खर्ब ४ अर्ब ५५ करोड खुद आन्तरिक ऋण परिचालन गरिसकेको छ । जसले गर्दा कुल सार्वजनिक ऋण उल्लेख्य बढेको हो ।

सरकारले बाह्य मुलुक, बहुराष्ट्रिय दाता र आन्तरिक स्रोतबाट लिएको ऋण सार्वजनिक ऋण हो । कुल आठ खर्ब ४३ अर्ब ऋण एकै वर्षमा लिएको होइन ।

विगतदेखि अहिलेसम्म लिएको ऋणको तिर्न बाँकी रकमसमेत गरेर कुल आकार आएको हो । कुल सार्वजनिक ऋणलाई कुल जनसंख्याले भाग गर्दा पर्न जाने दायित्व नै प्रतिव्यक्ति ऋण हो । यो ऋण जनताले भने तिर्नुपर्दैन, सरकारले नै तिर्छ ।

यस वर्षको आर्थिक सर्वेक्षणअनुसार कुल गार्हस्थ उत्पादनमा ऋणको अनुपात २८ प्रतिशत पुगेको छ । अन्य देशको तुलनामा यो सन्तोषजनक ऋण हो । विश्व अर्थतन्त्रमा सार्वजनिक ऋणको औसत अनुपात ८२ प्रतिशत छ भने जापानले जिडिपीको २३६ प्रतिशत ऋण लिएको छ ।