१३ कार्तिक २०८३, शुक्रबार

निःशुल्क भन्दैमा सबै औषधि पाइन्छ भन्ने होइन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । सरकारले निःशुल्क उपलब्ध गराउने भनेका अधिकांश औषधि किन्नै सकेको छैन । खरिद प्रक्रियामा टेन्डर नै परेको छैन ।

सरकारले ७० प्रकारका औषधिको १०४ डोजेज फम निःशुल्क उपलब्ध गराउने भने पनि ४३ औषधिको ४४ डोजेज फम खरिद नै हुन नसकेको हो । सरकार आफैँसँग नभएपछि स्वास्थ्य संस्थामा निःशुल्क औषधि अभाव छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

औषधिको मात्रालाई डोजेज फम भनिन्छ । एउटै औषधिका विभिन्न डोज हुन्छन् । जस्तै : ज्वरो कम गराउन सेवन गरिने एउटै एन्टिबायोटिक ट्याब्लेट, झोल र इन्जेक्सन विभिन्न मात्रामा उपलब्ध हुन्छ ।

सरकारले ७० प्रकारका औषधिको १०४ डोजेज फम निःशुल्क वितरण गर्ने भनेको छ । तर, ४३ औषधिको ४४ डोजेज फम खरिद नै गर्न सकेको छैन ।

थप १० औषधि निःशुल्क

सरकारले निःशुल्क औषधि बढाएको छ । १० औषधिको १५ डोजेज फम निःशुल्कको सूचीमा थपेको हो । अब सरकारी प्रक्रिया पूरा भएपछि ८० औषधिका ११९ डोजेज फम निःशुल्क पाइन्छ । पुनर्जागरण महाशाखा निर्देशक भोगेन्द्र डोटेलले थप गरिएका १० औषधिको १५ वटा डोजेज फम औषधि व्यवस्था विभागमा पठाइसकेको बताए । यसपटक मानसिक रोग र नसर्ने रोगसँग सम्बन्धित औषधि थप गरिएको हो ।

कहाँ कति पाइन्छ निःशुल्क औषधि ?

-२५ शैयासम्मको जिल्ला अस्पतालमा ७० प्रकारका औषधिको ८३ डोजेज फम
-प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकार औषधिका ७१ डोजेज फम
-हेल्थपोस्टमा ३५ प्रकारका औषधिका ३९ डोजेज फम

डा. गुणराज लोहनी 
महानिर्देशक, स्वास्थ्य सेवा विभाग

निःशुल्क औषधि अभाव भएको सत्य होइन । निःशुल्क औषधिबारे सर्वसाधारणमा जानकारी अभाव छ । सबै स्वास्थ्य संस्थामा ७० प्रकारकै निःशुल्क औषधि पाइन्छ भन्ने होइन । अवस्था हेरी सरकारले उपलब्ध गराउने हो । बीचमा लामो समय विभागको महानिर्देशक नियुक्ति नहुँदा अख्तियारी रोकिएको थियो । जसकारण समयमा औषधि खरिद हुन नसक्दा केही स्वास्थ्य संस्थामा सामान्य अभाव देखिएको हो । महानिर्देशक भएर आएसँगै मैले औषधि खरिदका लागि रोकिएर बसेको २५ करोड रुपैयाँ तत्काल पठाएँ । अहिले धमाधम खरिद गर्दै छन् । हामीले औषधि अभाव भए–नभएको अनुगमन हरेक मेडिकल स्टोरहरूमा गरेका छौँ । आवश्यक पर्ने सबै औषधि स्टोरमा भण्डारण भएको अवस्था छ । जिल्ला जनस्वास्थ्य र स्थानीय तहलाई पनि प्राप्त बजेटबाट आवश्यक औषधि खरिद गर्नू भनिसकेका छौँ । औषधि अभाव हुने अवस्था सरकारले देखेको छैन ।