
काठमाडौँ, १३ जेठ । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । उनले सुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरेपनि मुख्य मान्छे नभएको बताएका छन् । उनले आफूले छिरिङ वालेङ घलेको लाइनमा काम गर्ने गरेको समेत बताएका छन् ।
गोरेका अनुसार नेपालमा तस्करीको धन्दा चलाउने मुख्य मान्छे घले हुन् । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको गोरेले बयानमा क्रममा भनेका छन् । गोरेले आफूले भरियाहरुको सेटिङ मिलाउने गरेको भन्दै भनेका छन्, ‘म छिरिङकै लाइनमा बसेर सुन ओसार पसारको कारोबार गर्ने सामान्य मानिस मात्र हुँ ।’
छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान छ । गोरेका अनुसार तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीले विमानस्थलको जिम्मा लिने गरेका थिए । खत्रीले एक किलो सुन बराबर ५० हजार लिने गरेका थिए । खत्री विमानस्थलमा हुँदा झण्डै ५ सय किलो सुन भित्रिएको थियो ।
खत्रीले सुन विमानस्थलबाट सीधै आफ्नो निवास लैजाने र निवासबाटै वितरण गर्ने गरेको गोरेले बताएका छन् । खत्रीले अनुकूल समय मिलाएर मात्र सुन बाहिर ल्याउने र आफ्ना भरियाहरुलाई दिने गरेको बयान गोरेले अदालतमा दिएका छन् ।
गोरेले प्रहरीका साथै सुन तस्करीमा फ्लाई दुवई र थाई एयरवेज प्रयोग हुने बयान दिएका छन् । उनले २५ देखि ३० किलोसम्मको सुन एक पटकमा ल्याउन मिल्ने र उक्त सुन विमानको शौचालयमा समेत राखेर ल्याउने गरेको अदालतमा बताएका छन् ।
सुन तस्करी प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मासिसको मिलेमतोमा हुने गरेको बताएका गोरेले कुन कुन पार्टीका को को संलग्न छन् भन्ने कुरा चाँही खुलाएका छैनन् ।
जिल्ला अदालत मोरङमा न्यायधीश नारायणप्रसाद शर्माको इजलाशले ४ दिनको बयान र थुनछेक बहसपछि जेल चलानको आदेश सुनाएका गोरेले श्याम खत्रीको प्रत्यक्ष संलग्नता खुलाएका हुन् । गोरलाई गत मंगलबार प्रहरीले काठमाडौंको गौरीघाटमा पक्राउ गरेको थियो ।
सञ्जेल मामा आउनुहुन्छ भनेर भारत भागेँ
भरिया उर्लाबारीका सनम शाक्यको हत्यापछि गोरेले प्रहरीसँग शव लुकाउने ‘डिल’ गरेर भारत छिरेको बताएका छन् । सनमको हत्यापछि शव व्यवस्थापन गर्न प्रहरीसँग २ करोडको डिल भएको तर, प्रहरीमाथि भर नलागेपछि भागेर कलकता पुगेको बताएका हुन् ।
गोरेले सुरुमा भारतीय तस्करहरुको समूहले साथीको हत्या गरेको भनी अपराध महाशाखाका प्रहरीलाई बताएका थिए । आफूले शुरुमा सहयोग माग्दै चिनजानका सई बालकृष्ण सञ्जेललाई फोन गरेको र उनले ‘माथि सरहरुसँग कुरा गरेपछि’ मात्रै हुन्छ भनेको बयानका क्रममा गोरेले बताएका छन् ।
आफूलाई सहयोग गर्न महाशाखका डिएसपी प्रजित केसीको नेतृत्वमा टोली पूर्वतर्फ हिँडेको खबर पाएको गोरेले बताएका छन् । बाटोमा पुगेपछि डिएसपी केसीले फोन गरेर ‘लास व्यवस्थापन गरिदिए वापत पैसा दिनुपर्ने’ भनेर रकम माग गर्न थालेको गोरेको दाबी छ ।
सई सञ्जेलले समेत त्यसबारे कुरा गरेको उनी बताउँछन् । घटनाको जिम्मा टेकराज मल्लले लिने, शव जंगलतिर कतै राखेर मृतक परिवारलाई खबर गर्ने, क्षतिपूर्ति दिने र टेकराजलाई निश्चित रकम दिने सहमति भएको र त्यसवापत प्रहरीलाई दुई करोड दिने कुरा भएको गोरेले बताएका छन् ।
तर, आफूहरु धरान पुग्दा सनमको मृत्यु भएको गाउँघरमा हल्ला चलेको खबर पाएपछि टेकबहादुरलाई सञ्जेल मामा आउँदै हुनहुन्छ, सबै ठीक हुन्छ भनेर त्यहाँबाट हिँडेको बताएका छन् । उनले सञ्जेललाई टेकबहादुरको नम्बर समेत दिएका थिए । आफू भारत पुगेको भोलिपल्ट डीएसपी प्रजित केसीसँग भारतबाटै फोन सम्पर्क भएको पनि उनले खुलाएका छन् । केसीले आफूलाई बारम्बार नेपाल आउन भनेपनि आफू टाढा गइसकेको गोरेले बताएका छन् ।
यो मुद्दामा एसएसपी दिवेश लोहनी, डीएसपी केसी, सई सञ्जेजलाई पनि प्रतिवादी बनाइएको छ । जिल्ला अदालतको आदेशमा उनीहरु अहिले पूर्पक्षका लागि थुनामा छन् ।
खत्रीका नाममा रेड कर्नर नोटिस जारी गर्ने तयारी
एसएसपी श्याम खत्रीका नाममा रेड कर्नर नोटिस जारी गर्ने तयारी भएको छ । अुसन्धान समितिले बयानका लागि बोलाएपछि खत्री फरार भएका थिए । खत्री यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए तर, पछि उनलाई अदालतले सफाइ दिएको थियो ।
गोरेकै बयानलाई आधार मान्ने हो खत्रीले पछिल्लो समय सुन पास गराए वापत साढे २ करोड रकम बुझेको देखिन्छ । गोरेका अनुसार दुबईबाट भरियामार्फत झोलामा सुन आउँथ्यो । भरियालाई प्रहरीले पास उपलब्ध गराउथे । प्रहरी हाकिम कहाँ छाडिएको सुन प्रहरीले अनुकुल समय मिलाएर बाहिर निकाल्ने गरेको गोरेको बयान छ । उनले भने, ‘दुबईबाट आउने सुन भारतीय ब्यापारीको हुन्थ्यो । सुन सिधै तत्कालीन एसएसपी श्याम खत्रीको कोठामा जान्थ्यो । निजले अनुकल समयमा सुन बाहिर निकाली हाम्रा भरियालाई दिन्थे ।’
गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे । छानविन समितिको अनुसन्धानका क्रममा बरामद भएको खातामा पनि खत्रीलाई एक करोड बढी रकम दिएको पाइएको थियो । जिल्ला अदालत मोरङमा दिएको ३७ पृष्ठ लामो बयानमा गोरेले सुन तस्करीबारे धेरै कुरा खोलेका छन् ।















प्रतिक्रिया