
काठमाडौं, १३ जेठ । नाम चलेका केही गुन्डा नाइके जेलमै छन् । अपराध कर्मसँग जोडिएका धेरै राजनीतिक आवरणमा नेताको वरिपरि घुमिरहेका छन् । कतिपय युवक, तरूण संगठनका जिम्मेबार पदमा रहेका छन् । तर सबैलाई छानी–छानी पहिलेदेखिका मुद्धा ‘रिभ्यु’ गरी विभिन्न मुद्धा र कारबाहीसहित इन्काउन्टरसम्मको योजनामा नेपाल प्रहरी जुटेको छ । यसका लागि गृहमन्त्री रामबहादुर थापा बादलले अनुमति दिइसकेका छन् ।
गृह मन्त्रालयको निर्देशनमा नेपाल प्रहरीले सार्वजनिक अपराध, हात हतियार खरखजाना, सम्पत्ति शुद्धिकरणलगायतका मुद्दाको ‘रिभ्यु’ गर्न थालेको छ । लागुऔषध कारोबारी, संगठीत अपराध, अपहरण, फिरौति र कर्तव्य ज्यान मुद्दामा फरार रहेकालाई सिधै इन्काउन्टर गर्नेसम्मको तयारीमा नेपाल प्रहरी जुटेको छ ।
‘समाजलाई अपराधमुक्त बनाउन, विकास र समृद्धिको सरकारको लक्ष्यमा कमिशन, फिरौति माग्ने र तर्साउने संगठन, समुह र झुन्डलाई नियन्त्रणमा लिने योजना छ’, उच्च प्रहरी स्रोतले दैनिक नेपालसँग भन्यो,‘यसका लागि प्रहरीको सूचीमा रहेका दशक यताका अपराधमा संलग्न सबैको रिभ्यु हुनेछ । क्याटेगोरीअनुसारको मुद्दामा कारबाही गरिनेछ ।’
कतिपय गुन्डा नाइके व्यावसाय र राजनीतिक दलका जिम्मेवार पदमा सक्रियताका साथ लाग्दा पनि कारबाही हुन्छ ? अदालतले सफाई दिएका माथि पनि कारबाही गरिन्छ त ? दैनिक नेपालको प्रश्नमा ति अधिकारीले भने,‘उनीहरू आजभोली हुने हरप्रकारका घटनामा प्रत्यक्ष वा परोक्ष सहभागी छन् छैनन् भन्ने विषयको सूक्ष्म अध्ययन गरेर नियन्त्रणमा राखिन्छ । प्रमाणमा संलग्नताका गन्ध देखे मात्रै पनि कारबाहीका लागि अघि बढिन्छ ।’
अपराध कर्ममा लागेकाहरूलाई त सिधै इन्काउन्टर नै गर्नका लागि ‘इन्काउन्टर स्पेशिलय फोर्स’ नै खडा गरिने भएको छ । यसका लागि प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल नै सक्रिय भएर लागेको स्रोतको दाबी छ । खनाल अपराध महाशाखा प्रमुख रहँदा स्वघोािष्त डन कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर गरिएको थियो । त्यसअघि दिनेश अधिकारी चरीलगायतको इन्काउन्टर भयो । हालै मात्र संगठित अपराध र हत्यामा संलग्न रहेका मनोज पुनको इन्काउन्टर भयो ।
अपराधसँग जोडिएका रमेश बाहुन, गणेश लामा, दिपक मनाङेलगायत जेलमा छन् । ‘अहिले पनि विभिन्न समुहले धम्की, फिरौति उठाउने गरेका उजुरीलगायतका रेकर्ड प्रहरी कन्ट्रोलमा पुगिसकेको छ’, प्रहरी उच्च स्रोतले भन्यो,‘देशैभर रहेका त्यस्ता सञ्जाललाई ध्वस्त बनाउने योजना आइसकेको छ ।’
केही दिन अघिमात्र तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङलाई गुन्डागर्दीकै आरोपमा प्रहरीले पक्राउ गरेको छ । त्यतिमात्र होइन बलात्कार जस्तो जघन्य अपराध मिलाउन, जग्गाका विषयमा धम्क्याउन उनी र उनको संगठित गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ ।
सत्तारुढ पार्टीका विभिन्न संगठनका ओहदामा, मन्त्रीका वरिपरि घुम्ने, ठूला मान्छेसँग उठबस भएकाको त रेकर्ड नहोला ? विचारका आधारमा गुन्डाको सेलेक्सन गरिएको हो ? भन्ने प्रश्नमा ति अधिकारीले भने,‘अपराधको विचार हुँदैन । गुन्डागर्दीको कुनै विचार नहुने र तिनको आवद्धताका विषयमा राजनीतिक नेतृत्व, प्रधानमन्त्री, गृहमन्त्रीसँग गहन अध्ययन भइसकेका कारणले अपराध कर्मको सजायबाट कोही उन्मुक्त हुन सक्तैन ।’
संगठित अपराधमा संलग्न गुन्डाको लगत संकलनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), अपराध महाशाखा, प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई उपल्लो तहबाट निर्देशन दिने तयारी भएको छ ।
देशभर राजनीतिक दलको खोल ओढेर कम्तिमा एक हजार गुन्डाहरूले विकास निर्माणमा सताएको, ठेक्कापट्टामा जबरजस्ती गरेको, जग्गा प्लटिङका नाममा धम्क्याएको, ढुंगागिटीलगायतका काममा अवरोध गरेको, अबैधानिक हिसाबले सञ्चालन गरेको जानकारी प्रहरीले राखेको छ ।















प्रतिक्रिया