३० आश्विन २०८३, शुक्रबार

‘गुग्ली’ गोरे

11.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विनोद ढकाल

गुग्ली अर्थात् लेग स्पीनर । क्रिकेटको पिचका लागि उत्कृष्ट बलर । वान डे र टी–ट्वान्टीका लागि त जीतको अचुक उपाय । उसको काम हो– कम रन दिने र क्याच आउट गराउने । स्पेशल गुग्ली खेलाडीले विश्वका मुर्धन्य ब्याट्सम्यानलाई पानी पनि पिउन दिँदैनन् । अति कम हुन्छन् यस्ता बलर, टिममा ।

अहिले नेपालको चर्चामा रहेको सुन तस्करीको खेल, यसको मुद्दा, बयान र थुनाका प्रकरणमा लामो समय फरार रहेर आत्मसमर्पणमा आएका चुडामणि उप्रेती उर्फ गोरे गुग्ली बलर हुन् । जसको हरेक बलिङ महत्वपूर्ण र यस नेक्ससका सुकिला आवरणका काला चेहरा क्याच आउटका कारण हुन सक्छन् ।

विषयहरू धेरै आएका छन् । सत्ता पक्षका नेतालाई चुनाव खर्च, प्रहरीलाई घरखर्च, एउटा गिरोहलाई बाटो खर्च दिने गरेका गोरे अदालतमा अन्तर्मुखी बनिरहेका छन् । उनलाई थाहा छ– तस्करीको नेक्सस शक्तिकेन्द्रको आडमा मात्रै हुन्छ । उनी शक्ति केन्द्रको वरिपरिका सबै चुनौती र खतरासँग नजिक पुगेका कारण अदालतमा यथेष्ट बोलिरहेका छैनन् ।

तस्करीको नेक्ससमा गोरे ‘गुग्ली’ प्लेयर हुन् । उनले यस प्रकरणका माहिर खेलाडीलाई ‘क्याच आउट’ बनाउने हैसियत राख्छन् । त्रास, भय र जीवन गुमाउनुपर्ने बाध्यताका कारण अदालतमा ‘म्याच फिक्सिङ’को तयारी त गरेका छैनन् ? अथवा उनलाई त्यसो गर्न दबाब पनि छ भन्ने प्रस्ट छ । उनले मानवअधिकारवादीको रहोबरमा मात्रै हिरासतमा बस्छु भन्नु अर्थपूर्ण कारण हो । प्रहरीको ठूलो झुन्ड र लहरो यो प्रकरणमा संलग्न छ ।

तस्करीको सुनलाई गन्तव्यसम्म निकाल्नका लागि गोरेले कति रकम कमाउँथे त्यो आफ्नो ठाउँमा छ । तर सत्य सेवा सुरक्षणम्को सपथ लिएर एसएसपी श्याम खत्रीदेखि प्रहरीका निक्कै ठूला अधिकृतहरूले श्रीमतिका घाँटीमा सुनका गहना जोडेका छन् । यी तथ्यलाई रोक्नकै लागि गोरेलाई म्याच फिक्सिङ गराउने प्रयत्न अनेक कोणबाट भइरहेको छ । बाहलवाला मन्त्राणी, पूर्व मन्त्राणीहरू, नेत्रीका गलाका सिक्रि र लकरका सुनमा ‘तस्करी’ भनेर नलेखिए पनि त्यसको गन्ध जलपबाट आइरहेको प्रतित आम साधारणले गरेकै छन् ।

यो ३० वर्षमा भएका तस्करीमा अहिलेको प्रहरी प्रशासनका धेरै कित्ताहरू, राजनीतिका अनेक पक्ष र प्रतिपक्ष पनि जोडिन्छन्, ठूला माछा पक्राउ गर्ने, कारबाही गर्ने वा जेलमा हाल्ने भन्ने कुरा कति कठिन र सकसपूर्ण छ भन्ने हेक्का राख्न आवश्यक छ 

गोरे त्यसै तस्करीमा सक्रिय भएका होइनन् । उसको तस्करीको साइनो चाँडो धनाड्य बन्ने र बनाउने क्रमसँग जोडिएको छ । यस प्रकरणको देखिएको खलपात्रका रूपमा अदालतमा बयान दिँदै गर्दा साधुवादको भेषमा उभिएका सस्पेन्स खलपात्रका विषयमा ऊ मुख खोल्न डराउने अवस्था कसरी आइरहेको छ ?

विनोद ढकाल

उसलाई साधारण जीवनयापन गर्न दुख थिएन । भारतीय सेनामा जागिर थियो, युएईको सुरक्षा निकायमा जागिर थियो । त्यहि जागिरवापत नै उसले नेपाली बाटोमा हुने तस्करी र त्यसका सहजीकरणका लाइन पत्ता लगाएको थियो । ३० वर्षदेखि निरन्तर ठूलो परिमाणमा तस्करी हुने गरेको बयान भुजुङ गुरुङले दिएका छन् । यो ३० वर्षमा भएका तस्करीमा अहिलेको प्रहरी प्रशासनका धेरै कित्ताहरू, राजनीतिका अनेक पक्ष र प्रतिपक्ष पनि जोडिन्छन् । यो प्रकरणका ठूला माछा पक्राउ गर्ने, कारबाही गर्ने वा जेलमा हाल्ने भन्ने कुरा कति कठिन र सकसपूर्ण छ भन्ने हेक्का राख्न आवश्यक छ ।

सुशासन र भ्रष्टाचार न्युनिकरणका लागि नेपाल कम्युनिस्ट पार्टीका नेताद्वयले बालुवाटारमा केन्द्रीय सदस्यलाई निर्देशन दिँदै गर्दा गोरेको तस्करीले आर्जन गरेको रकम चुनावी प्रयोजनका लागि तिनै दलका सांसद घनश्याम खतिवडाले प्रयोग गरेको तथ्य पनि खुलेको छ । रेवत आचार्यमार्फत खुलेको यो तथ्यले सुन तस्करी प्रकरणमा प्रत्यक्ष होस् वा परोक्ष राजनीतिक संलग्नताको विषय तानिएको छ ।

यहि प्रकरणका जानकार मानिने विमानस्थलका कर्मचारी प्रेमलाल चौधरीको सिंहदरबार हिरासतमा आत्महत्या भयो,  त्यो आत्महत्या मात्रै थियो वा हत्या ? यो कोणबाट अनुसन्धान भइरहेको छैन, यसकारण छानबिन टोली पनि कति दबाबमा छ भन्ने विषयको सहज हेक्का राख्न सकिन्छ 

पारिवारिक रूपमा गोरेका ससुरालीतिरबाट सरकारका वकिल, महान्यायाधीवक्ता अग्नी खरेलसँग पनि नातासम्बन्धको बल प्रयोग नहोला भन्ने ठाउँ छैन । यहाँ सम्बन्धका आधारमा अपराधलाई आम माफी दिने राज्यको तयारी यसै पनि हुन्छ । सुन प्रकरणमा जतिसुकै कडा मिजासमा उत्रिए पनि हत्या अभियोगमा जेलमा रहेका बालकृष्ण ढुंगेललाई छाड्ने प्रक्रिया सुरु भइसकेको हुँदा यो मुद्दा छानबिनमा मात्रै सीमित नहोला पनि भन्न सकिन्न । यसकारण प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष चासोमा मात्र यो मुद्दाले किनारा लाग्न पाउने ठाउँ देखिन्छ । खासगरी प्रधानमन्त्री माथाहतमा शक्तिशाली छानबिन समिति गठन गरी तस्करीको चिरफारसहित कारबाहीको प्रक्रिया बढाउन आवश्यक छ । यो माग अरु कसैले गर्न सक्तैन, गोरे बाहेक ।

अभियुक्त भएका कारणले नै उसको सम्बन्ध, प्रयोजन, तस्करीको कारण, संलग्नता, उच्च तहको सहभागीता सहयोग र घुसका विषयमा खुलस्त बोल्यो भने राज्यले कारबाहीको प्रक्रिया, तस्करीको नेक्ससलाई तोड्न सक्ला त ? अहम् प्रश्न यसै पनि बन्छ ।

पर्दा अगाडीका भरियाहरूको संलग्नता केही भिडियोले पुष्टि गरिसकेको छ । यस प्रकरणमा तीन जनाको ज्यान पनि गएको छ । आत्महत्या गर्नुअघि सानु वन भन्ने मानिसले परिवारलाई दिएको सूचनालाई मान्ने हो भने बाँच्ने आधार खोज्न कठिन हुन्छ । यस प्रकरणमा नेपालका धेरै ठूला र शक्तिशाली मानिसहरूको संलग्नता छ । खासगरी प्रहरीका उच्च अधिकारी र राजनीतिक शक्तिकेन्द्र । यहि प्रकरणका जानकार मानिने विमानस्थलका कर्मचारी प्रेमलाल चौधरीको सिंहदरबार हिरासतमा आत्महत्या भयो । के त्यो आत्महत्या मात्रै थियो वा हत्या ? यो कोणबाट अनुसन्धान भइरहेको छैन । यसकारण छानबिन टोली पनि कति दबाबमा छ भन्ने विषयको सहज हेक्का राख्न सकिन्छ । यसको पुष्टि गोरेले मानव अधिकारवादीको रहोबरमा हिरासतमा बस्छु भनेर चढाएको निवेदनले गरिसकेको छ ।

गोरेमाथि सबैको नाम बाहिर ल्याउने केरकार हुन जरुरी छ, विमानस्थलको जिम्मा लिने अहिलेसम्मका प्रहरी अधिकारी, भन्सार कर्मचारीको सम्पत्ति विवरणको स्रोत खोजेर अनुसन्धानको दायरामा ल्याउनु पर्छ, राम्रा र मालदार ठाउँमात्र खोज्ने कर्मचारीसँग सोधपुछ हुनुपर्छ

यस प्रकरणमा अहिलेसम्म मोरङ अदालतले विवेक नगुमाई फैसला गरिरहेको छ । यसबीचमा गोरेको इन्काउन्टर नै गर्ने सोच बनाएका भनिएका अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले सम्बन्धित प्रहरी इकाईलाई मात्र होइन, राज्यलाई नै आश्चर्यमा पार्ने थिए कि थिएनन् ? एकातिर रकमको डिल र अर्कातिर गोरेको इन्काउन्टर । इटहरी होटलमा बसेर रकम लिएर आउन प्रहरीको अपिल र लासलाई मोरङमा देखाउनूको सम्बन्धभित्रको स्वार्थ के थियो ? रकम लिने, लास देखाउने र गोरेको इन्काउन्टर गर्ने थियो ? घटनाक्रम र अभियोगहरूको व्याख्याले यसै भनिरहेको छ ।

तस्करीको जालो बुन्ने ‘माकुरा’हरूको मुटुको कम्पन यसबेला बढेको हुनुपर्छ । सुगर हाई, प्रेसर हाई र कतिपयको मानसिक अवस्था पनि असन्तुलन हुँदा डिप्रेशनको ओखती खाइरहेका होलान् । तर यस प्रकरणको समाधान गोरेको अन्तिम बयान नै हो ।

जसरी उसले सुन खोज्नका लागि आफ्ना नेक्ससका सदस्यहरूमाथि केरकार गरेको छ, गोरेमाथि सबैको नाम बाहिर ल्याउने केरकार हुन जरुरी छ । विमानस्थलको जिम्मा लिने अहिलेसम्मका प्रहरी अधिकारी, भन्सार कर्मचारीको सम्पत्ति विवरणको स्रोत खोजेर अनुसन्धानको दायरामा ल्याउनु पर्छ । राम्रा र मालदार ठाउँमात्र खोज्ने कर्मचारीसँग सोधपुछ हुनुपर्छ ।

तस्करीको सुनका असली मालिक भारतीय नागरिक हुन् भन्ने चर्चा छ । त्यसो हो भने भारतीय सुशासनको अहिलेको सरकारको नीतिलाई सहयोग गर्नका लागि नेपाल सरकारका तर्फबाट इन्टरपोलमा यस्ता तस्करको जानकारी भारतीय सीबीआईसम्म पुराउन आवश्यक छ । जसले नेपालको अनुसन्धानमा पनि सहजीकरण गर्दछ । भारतमा सीबीआई अनुसन्धानलाई मात्र प्रभावकारी मानिन्छ ।

यो चरणसम्म पुग्नका लागि छानबिन टोली होस्, सरकार होस् वा अदालत होस् उसले गोरेलाई ‘गुग्ली’ बयानका लागि तयार पार्न सक्नुपर्छ । जसका कारण ठूला माछा क्याच आउट हुनेछन् । उनको क्याचआउटले सुन तस्करीको पुरा जालो तयार पार्ने मुख्य योजनाकार ‘बोल्ड आउट’ हुने वातावरण यसै बन्छ ।