काठमाडौं, १७ पुस । पूर्वनिर्धारित मिति माघ ८ मा संविधान जारी हुन नसक्ने देखिएपछि संविधान जारी गर्ने अर्को मिति घोषणाको आन्तरिक गृहकार्य सुरु भएको छ।
संविधानका विवादित अन्तरवस्तुमा तीन दिनभित्र सहमति नजुटे प्रक्रियाबाट माघ ८ गते संविधान जारी हुन असम्भव भएपछि संविधानसभाबाटै अर्को मिति घोषणा गर्ने गृहकार्य सुरु भएको संसद् सचिवालय स्रोतले बतायो।
संविधानसभा अध्यक्ष सुवास नेम्बाङले प्रक्रियाका विषयमा सहमति जुटाउन बिहीबार बोलाएको प्रमुख दलका शीर्ष नेतासहितको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अन्तरवस्तुमा तत्काल सहमति जुट्ने अवस्था नभए संविधान जारी गर्ने अर्को मिति घोषणाबारे छलफल हुनेछ।
अर्को मिति कहिले उपयुक्त हुन्छ भन्ने विषयमा छलफल गर्नकै लागि संवाद समितिका सभापति बाबुराम भट्टराई र मस्यौदा समितिका सभापति कृष्ण सिटौलालाई पनि आमन्त्रण गरिएको स्रोतको दाबी छ।
कार्यव्यवस्था परामर्श समितिको बुधबार डाकिएको बैठक सबै शीर्ष नेता उपस्थित नभएपछि बिहीबार सारिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
विषय अन्तरवस्तुमा सहमति भएमात्र नियम निलम्बन गरेर भए पनि माघ ८ मा संविधान जारी गर्न सकिन्छ।
प्रक्रियाबाट जाने हो भने सम्भव छैनसभाध्यक्ष नेम्बाङले भने, त्योभन्दा अर्को विक ल्प नेताहरूले दिन सक्नुहुन्छ कि भनेर बिहीबार छलफल बोलाइएको हो।
नयाँ संविधानमा संघीय संरचना, शासकीय स्वरूप, न्याय तथा निर्वाचन प्रणालीबारे दलहरूबीच चर्को मतभेद छ।
तत्काल सहमति हुने सम्भावना न्यून रहेकाले माघ ८ मा संविधान जारी नहुने निश्चितजस्तै भएको छ।
त्यसैले अर्को मिति घोषणाको गृहकार्य थालिएको संसद् सचिवालयका एक अधिकारीले बताए।
बिहीबार हुने बैठकमा अन्तरवस्तुमा सहमति गरी माघ ८ मै संविधान ल्याउने, सहमति नजुटे प्रक्रियाबाट कसरी अगाडि बढ्ने र माघ ८ मा संविधान नआए जारी गर्ने अर्को मितिबारे छलफल हुने स्रोतको दाबी छ।
२०७२ जेठ १५ का लागि अर्को मिति घोषणा गर्नेगरी गृहकार्य हुने सम्भावना छ।
जेठ १५ गणतन्त्र दिवस पनि भएकाले उपयुक्त हुने कतिपय नेताहरू ले बताउँदै आएका छन्।
गम्भीर छलफल र विशेष निर्णय गर्नुपर्ने भएकाले बिहीबारका लागि डाकिएको संविधानसभाको बैठकसमेत स्थगित गरिएको छ।
कार्यव्यवस्था समितिको बुधबारको बैठक एमाले अध्यक्ष केपी ओली झापाबाट आउन नसकेका कारण बस्न नसकेको हो।
बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला उपस्थित थिए।
एमाले तर्फबाट उपाध्यक्ष एवं उपप्रधानमन्त्री वामदेव गौतम सहभागी थिए।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सभाध्यक्षसँग टेलिफोनमार्फत एमालेका अध्यक्ष ओली बाहिर रहेकाले आफू र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष आउन नसक्ने जानकारी गराएका थिए।















प्रतिक्रिया