
सोल, दक्षिण कोरिया, ६ जेठ । दक्षिण कोरियाको कृषि प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय सहकारी गोष्ठीमा सहभागी हुन कोरिया पुगेका नेपालका सहकारीकर्मीहरुलाई बागलुङ सम्पर्क समिति दक्षिण कोरियाले शनिबार स्वागत तथा सम्मान गरेको छ ।
रोजगारी तथा व्यापार व्यवसायका लागि दक्षिण कोरिया गएका बागलुङवासीहरुले १६ वर्ष पहिला स्थापना गरेको बागलुङ सम्पर्क समिति कोरियाका पदाधिकारी तथा सदस्यहरुले नेपाल पत्रकार महासंघ बागलुङ र जिल्ला सहकारी संघ बागलुङका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी सहितका सहकारीकर्मीहरुलाई स्वागत गरेका हुन् ।
बागलुङ सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष सुवास लामिछानेले अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन कोरिया आएका जिसी सहित राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव दुलाल, राष्ट्रिय सहकारी बैंकको सदस्य संस्थाका तर्फबाट प्रतिनिधित्व गरेका हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था काठमाडौंका कार्यकारी प्रमुख सुमन थापालाई स्वागत गरेका थिए ।
सो अवसरमा बागलुङ सम्पर्क समिति कोरियाले धौलागिरि क्षेत्रका विपन्न वर्गका जनताको स्वास्थ्य सेवामा सहयोग गर्ने लक्ष्यका साथ धौलागिरि अञ्चल अस्पतालमा सञ्चालन हुने गरी आदर्श सञ्चार सहकारी संस्था बागलुङमा स्थापना गरेको स्वास्थ्य सेवा अक्षयकोषलाई थप प्रभावकारी गराउने विषयमा छलफल गरिएको थियो ।
कोषको वर्तमान अवस्था, कोषबाट गरिएको सहयोग र आगामी दिनमा सञ्चालनमा प्रभावकारीता ल्याउने लगायतका विषयमा कोष सञ्चालक समितिका सदस्य तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक समेत रहेका जिसीले जानकारी गराएका थिए । बागलुङ सम्पर्क समिति कोरियाले २०६८ सालमा धौलागिरिका विपन्न वर्गका जनताको स्वास्थ्य सेवामा सहयोग गर्ने उदेश्यका साथ ५ लाख ५० हजारको अक्षयकोष स्थापना गरेको थियो ।
उक्त कोषको व्याजबाट सहयोग गर्ने गरी स्थापना भएको कोषबाट हालसम्म २९ जनालाई १ लाख ४५ हजार रुपैया सहयोग गरिएको र उक्त कोषमा करिब ९ लाख रुपैया रहेको जिसीले जानकारी गराए ।
कोषलाई थप प्रभावकारी बनाउने, विपन्न वर्गका जनताको स्वास्थ्य सेवामा सहयोग बढाउने, कोष सञ्चालनका लागि दक्षिण कोरियाबाट फर्केका बागलुङेहरुलाई समितिमा सहभागी गराउने लगायतका विषयमा छलफल भएको थियो ।















प्रतिक्रिया