बुटवल, ५ जेठ । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीमा वहुमतको दम्भ देखिन थालेको टिप्पणी गरेका छन् ।
रुपन्देही जिल्लास्थित कांग्रेसको सैनामैना नगरसभालाई शनिबार सम्बोधन गर्दै केन्द्रीय सदस्य थापाले लोकतन्त्रमा जित र हार स्वाभाविकको बताए । उनले भने, ‘कम्युनिष्टहरूमा जितको दम्भका संकेतहरू देखा पर्न थालेको छ ।’
कांग्रेस चुनावमा भएको हारबाट नआत्तिएको थापाले बताए । उनले भने, ‘नेता कार्यकर्ताहरू धैर्य र संयम भएर बस्नु पर्छ । आउने चुनावमा जनताको शक्तिशाली पार्टी कांग्रेसलाई बनाउनुपर्छ ।’
कांग्रेसले सरकारका राम्रा कामको स्वागत गर्ने, विकासका मुद्दामा सरकारसंगै सहकार्य गर्ने तर, सरकार गलत कामतर्फ अघि बढे विरोध गर्ने उनले बताए । थापाले कांग्रेस अबको पाँच वर्ष जनताको घर घरमा पुग्ने र जनतासँगै सहकार्य गर्ने बताए ।
केन्द्रीय सदस्य थापाले भर्खरै स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा मधेसी, दलित, मुस्लिम र मधेसी तथा महिलाको उपस्थिति नरहेको बताए । उनले नेकपाले समावेशीतालाई लत्याएको आरोप पनि लगाए ।















प्रतिक्रिया