५ कार्तिक २०८३, बिहिबार

दाङको राप्ती गाउँपालिकामा होमस्टे सञ्चालन हुँदै, यसरी भयो तयारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देउखुरी, ५ जेठ । दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाले होमस्टे सञ्चालनका लागि तालिम दिनुका साथै पूर्वतयारीहरू पूरा गरेको छ ।

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले होमस्टे सञ्चालन गरेर सर्वसाधारहरूको जीवनस्तर माथि उठाउन विशेष पहल थालेका हुन् । दाङ जिल्लामा राप्ती गाउँपालिकाले स्थानीय जनताको जीवनस्तर सुधार गर्नका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । अध्यक्ष सुवेदीले पनि नयाँ कार्यक्रमहरूमा जोड दिँदै आएका छन् ।

वडा नं. ६ को थारुवस्ती बगरापुर का साथै वडा नं. १ र २ को मगरवस्ती बगासोती तथा स्यानीघोष भन्ने गाउँमा होमस्टे सञ्चालन गर्ने अन्तिम तयारी भएको छ ।

होमस्टे सञ्चालक, जनप्रतिनिधि तथा राप्ती गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूलाई होमस्टे सञ्चालन भएका स्थानहरूको अध्ययन र अवलोकन भ्रमण समेत गराईको छ ।

टोलीले होमस्टे सञ्चालन भएका नवलपरासीको पिप्रहर सामुदायिक होमस्टे ग्राम, पोखराका पर्यटकीय तथा सांस्कृतिकस्थल तथा होमस्टे सञ्चालित स्थान, कालीगण्डकी जलविद्युत् आयोजना, पाल्पाको पहाडी क्षेत्रमा संञ्चालित होमस्टे तथा धार्मिक पुरातात्विक स्थलहरू, नवलपरासीको सिजी टेम्पल लगायतका स्थानको अध्ययन अवलोकन भ्रमण गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

अध्यक्ष सुवेदीले राप्ती गाउँपालिकामा पनि होमस्टे संञ्चालन भएपछि कला संस्कृति आदान प्रदान तथा अवलोकनका लागि पिप्रहरवासीलाई आमन्त्रण गरेका छन् ।

नवलपरासीको पिप्रहर होमस्टे ग्राममा होमस्टे सञ्चालनमा सुरुमा केही समस्या रहे पनि सबैको सबैको प्रयासबाट आम्दानीको स्रोत बनेको छ ।

होमस्टे सञ्चालन गर्न छनौट गरिएका बगरापुर थारु होमस्टे तथा बगासोती, स्यानीघोस मगर होमस्टे सञ्चालकहरूले विभिन्न स्थानको अवलोकन गरिसकेपछि आफूहरूमा उत्साह थपिएको बताए ।