काठमाडौँ, १६ पुस । प्रधानमन्त्री सुशील कोइराला नर्भिक अस्पताल पुगी नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई भेट गरी शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले उहाँको स्वास्थ्य अवस्थाको बारेमा स्वास्थोपचारमा संलग्न चिकित्सकहरुसँग जिज्ञासा राख्नुभएको थियो । चिकित्सकहरुले उहाँको स्वास्थ्यमा उल्यख्य सुधार भएको जानकारी दिनु भएको थियो ।
प्रधानमन्त्री कोइरालाले नेताहरुलाई एकएक रोगले छोएको बताउदै आफूलाई पनि क्यान्सर लागेको प्रसङ्ग सुनाउनु भएको थियो । उहाँले अध्यक्ष वैद्यलाई भन्नुभयो–‘ठाँउमा आइपुग्नु भएको छ, सबै ठीक हुन्छ ।’
प्रधानमन्त्री कोइरालाले निमोनिया लागेको मानिस चिसोबाट जोगिनु पर्ने उल्लेख गर्दै चिसोको पर्वाह नगर्दा आफ्नो भाई अरुणको स्वास्थ्य बिग्रेको पनि बताउनु भयो । प्रधानमन्त्री कोइरालाले उहाँका स्वजन र स्वास्थोपचारमा खटिनुभएका चिकित्सकहरुलाई राम्रो रेखदेख र उपचार गर्न अनुरोध गर्दै १०–१५ दिन पूर्णत आराम गर्न पनि उहाँलाई सुझाव दिनुभएको थियो ।
छोटो बसाइमा प्रधानमन्त्री कोइरालाले राजनीतिक संवाद पनि गर्न भ्याउनु भयो । उहाँले भन्नुभयो, ‘राजनीति यस्तै छ । तर सबैले मुलुकलाई हेर्नुपर्दछ ।’ उहाँले एमाओवादी अध्यक्ष प्रचण्डसहित नेताहरुलाई सहमतिको प्रयास र प्रकृयाबाट कोही पनि नभागेको बताएको उल्लेख गर्दै भन्नुभयो, ‘सहमतिमा केही लेनदेन हुन्छ ।
सबैले जितेको अनुभूति गर्न पाऊन र कसैले पनि पराजित भएको अनुभव गर्न नपरोस ।’ ‘बीचमा सोंचे अनुरुप काम नहुँदा सबैमा चिन्ता छायो । यो अवसर पनि खुस्कियो भने नेपाललाई हानी हुन्छ ,’ उहाँले भन्नुभयो,‘अहिले हामी बसिरहेका छौं ।
अलिकति आफूले भनेको नहोला । दुःख होला । तर विकासले फड्को हान्ने अवस्था आउँछ । दुःख, बेरोजगारी, अस्थिरताबाट त मुक्ति पाइन्छ ।’
प्रधानमन्त्री कोइरालाले कुनै पनि देशको संविधान जारी हुने वित्तिकै पूर्ण हुन नसक्ने बताउदै भन्नुभयो, ‘एक पटक जारी भएपछि केही कमी कमजोरी भए त्यसमा संशोधन हुन्छ ।
लोकतन्त्रका लागि यत्रो बर्ष खर्च भयो । यसलाई सहमतिमा टुंगो लगाएर संस्थागत गर्नुपर्दछ । हामी लागिरहेका छौ । केही भए भन्नुहोला ।’
हिजो नर्भिकमा भर्ना हुनुभएका नेकपा–माओवादीका अध्यक्ष वैद्यको उपचार डा. बृजेन्द्र श्रीवास्तवको नेतृत्वमा रहेको चिकित्सक टोलीले गरिरहेको छ ।















प्रतिक्रिया