३ कार्तिक २०८३, मंगलबार

पार्टी एकीकरणका बारेमा भीम रावलको आलोचनात्मक प्रतिक्रिया

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले व्यक्तिगत रुपमा पूर्ण सन्तुष्ट हुन नसके पनि दुई पार्टी मिलेर बनेको नयाँ पार्टीप्रति समर्थन रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले आफू सुरुदेखि नै एमाले र माओवादीबीच एकता हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । तर नेताहरूको व्यवस्थापन कसरी हुन्छ भन्नेमा आफू चिन्तित रहेको रावलले बताए ।

रावलले नेताहरुको व्यवस्थापन राष्ट्रहित हुने गरी गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए । ‘पार्टीभित्र नेताहरुको व्यवस्थापन कसरी हुन्छ, निर्णय कसरी हुन्छ, त्यसमा मेरो छलफल हुन बाँकी छ’, रावलले भने । आफ्नो असन्तुष्टि र दाबीका विषयमा पार्टीभित्र कुरा राख्ने उनले स्पष्ट पारे ।

आफ्नो भूमिकाका बारेमा रावलले कार्यकर्ताले मूल्याङ्कन गर्ने बताए । विगतमा पार्टीभित्रको विवाद मिलाउने काममा आफ्नो ठूलो भूमिका रहेको स्मरण गराउँदै उनले अहिले पनि सोहीअनुसार कार्यकर्ता र पार्टी पंक्तिले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे ।

नौ सदस्यीय सचिवालयमा अहिले आफूलाई नराखिए पनि पछि राखिनेमा उनी आशावादी देखिए । ‘अहिले नौ सदस्यीय सचिवालय बनेको छ । यो नै अन्तिम सत्य त होइन होला’, रावलले भने ।

धेरै विषयमा पार्टीभित्र छलफल हुन बाँकी रहेको भन्दै रावलले स्थायी समिति बैठकमा कुरा उठ्ने बताए । पार्टीभित्र आफ्नो असन्तुष्टी र विचार राख्ने रावलको भनाई छ ।

आफू सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्छ भनेर लामो समयदेखि माथिल्लो तहमा भएका मतभेदहरुलाई मिलाउँदै आएको व्यक्ति भएको दाबी गर्दै रावलले भने, ‘मैले राष्ट्रको स्वार्थको अधिनमा रहेर आफ्नो स्वार्थ राख्नुपर्छ भन्ने मान्यता राख्दै आएको छु । पार्टीलाई अगाडि बढाउँदा हामीले सामाजिक न्याय, समावेशिता लगायतका सम्पूर्ण कुरालाई ध्यानमा राख्नुपर्छ । यसलाई पार्टीको विधान र कार्यक्रमले अंगिकार गरेको छ । यससम्बन्धमा म छलफल गर्छु ।’

नयाँ पार्टी नेकपाले तल्लो तहसम्मको संगठन निर्माणका लागि ठूलो चुनौतिको सामना गर्नुपर्ने रावलले औँल्याए । ‘केन्द्रमा घोषणा त गर्यौँ, तर पार्टीका तल्लो तहका कमिटी, जनवर्गीय संगठनमा अन्याय नहोस् । सक्रियता र भूमिकाका आधारमा सबैलाई न्याय गर्नुपर्छ’, उनले भने ।

राष्ट्रिय स्वार्थका लागि दुई दल मिलेर एउटै पार्टी बनाएको रावलले दाबी गरे । रावल पार्टी एकता घोषणा कार्यक्रममा सहभागी थिएनन् ।