–मिना बुढाथोकी
सल्यान, ३ जेठ । यहाँ रहेका १० वटै स्थानीय तहका न्यायिक समितिका प्रमुख तथा सदस्यहरुलाई न्यायिक कार्य सम्पादनका लागी तीन दिने सहजीकरण तालीम बिहीबार सल्यानको बरलामा सम्पन्न भएको छ ।
तालीमको समापन कार्यक्रममा बोल्दै बनगाड कुपिण्डे नगरपालिकाका उप प्रमुख मन्जु यरीले यस प्रकारको तालीमले न्यायिक समितिबाट हुने न्याय सम्पादन प्रकृयामा महत्वपुर्ण भुमिका खेल्ने बताईन् । उनले तालीम अवधिभर न्यायिक समितिको महत्व र न्यायिक सिद्धान्त, विवाद सम्बन्धि नमूना, मेलमिलाप सम्बन्धि नमूना अभ्यासले गर्दा यहाँबाट फर्केर कार्यालयमा गएर काम गर्न सहज हुने बताईन् ।
‘अहिले गाँउपालिका तथा नगरपालिकामा रहेको न्यायिक समितिको कार्यालयमा स्थानीय स्तरबाट आउने मुद्दाहरुमध्ये प्राय हामीले कार्यालयबाट नै मिलाउने गरेका छौँ’ उनले भनिन् ‘यस तालीमले कानुन सम्बिन्धीको अझ धेरै कुरा जानकारी प्राप्त भयो ।’ कानुनका कुराहरु जति बुझेपनि पुर्ण नहुने भन्दे उनले आगामी दिनमा पनि यस्ता तालीमको आयोजना गर्नु पर्नेमा जोड दिईन् ।
यस्तै तालीममा सहभागी न्यायिक समितिका प्रमुख तथा सदस्यहरुले न्यायिक समितिको जिम्मेवारी, मेलमिलाप सम्बन्धि अवधारणा र कानुनी ब्यवस्था, न्यायिक समिमितिको निर्णय बारे राम्रोसँग बुझ्न पाएको बताएका छन् । तालीमको उद्घाटन कार्यक्रममा जिल्ला न्यायधिस मदन बहादुर धामीले न्याय सम्पादन सबै भन्दा जटिल कार्य भएको बताए ।
उनले भने ‘सकेसम्म दुवै पक्षलाई स्विकार हुने गरी मेलमिलाप गरेर स्थानीय तहमा न्यासम्पादन गर्नु आवश्यक छ ।’ नयाँ संरचना अनुसार स्थानीय तहमा पनि न्याय सम्पादनको काम हुने भएकाले ऐन नियम आदिलाई ख्याल गरेर काम गर्न न्याय समितिलाई उनले आग्रह गरेका छन् ।
जिल्ला समन्वय समितिको आयोजनामा भएको तालिममा जिल्लाका ७ गाउँपालिका र ३ नगरपालिका न्यायिक समितिका संयोजक र सदस्यहरु गरि जम्मा ४० जनाको सहभागिता रहेको जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशवहादुर विष्टले बताए ।












प्रतिक्रिया