
विनोद ढकाल/दैनिक नेपाल
काठमाडौं, ३ जेठ । संयोजन समितिको बैठकले पार्टी एकता घोषणाको सबै तयारी पुरा गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटि विघटन गर्दै शक्तिशाली कम्युनिष्ट पार्टी आजै (विहीबार) गठन हुने पक्का छ ।
४ सय ४१ सदस्यीय केन्द्रीय कमिटि बनाइए पनि एकीकृत पार्टीमा स्पष्ट दुई पिल्लर रहनेछन् । बालुवाटार र खुमलटार । यहि दुई पिल्लरले बृहत कम्युनिष्ट पार्टीलाई हाँक्नेछ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र ‘वेटिङ’ प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत पार्टी सत्ता केन्द्रको नेतृत्व गर्नेछन् । जसलाई एकता संयोजन समितिले ‘सामुहिक’ नेतृत्व भनेर उल्लेख गर्नेछ । महाधिवेशनको मिति केही समय विलम्ब गरेरै तोकिने तय भएको छ ।
उच्च स्रोतहरूका अनुसार ओली–प्रचण्डबीच पार्टी र सरकारमा चक्रिय नेतृत्व गर्ने सहमति बनेको छ । ३ वर्षसम्म सरकारको नेतृत्व ओलीले र त्यसको २ वर्ष प्रचण्डले गर्नेछन् । दुई तिहाई बढि विश्वासको मत पाएको सरकार अब एकल बहुमतमा रहने भएकाले कुनै शक्तिले हल्लाउन नसक्ने अवस्थामा सरकार पनि पुगेको छ ।
‘एमालेसँग माओवादीको एकता इतिहासको ठूलो घटना हो । मैले भन्दै आएको कम्युनिष्टहरूको एकीकरण र केन्द्र एउटै हुनुपर्छ’, प्रचण्डले मदन–आश्रीत स्मृति दिवसमा एकताबारे जोड दिँदै भने,‘मदन भण्डारीको स्मृति दिवसका दिन नै एकीकरण गर्ने प्रस्ताव मैले गरेको हुँ ।’
लेलिन वा माक्र्सको जन्मोत्सवका अवसरमा पार्टी एकीकरणको तयारी पूरा नहुँदा नेपाली कम्युनिष्ट आन्दोलन र एमालेका संस्थापक भण्डारीको स्मृति दिवसलाई घोषणाको दिन बनाइएको हो । एकतासँगै निर्वाचन आयोगमा पार्टी दर्ता हुनेछ ।
झापा विद्रोहदेखि विद्यार्थी आन्दोलन हुँदै शान्तिपूर्ण राजनीतिक इतिहास बोकेको एमाले र जनयुद्ध हुँदै सशस्त्र विद्रोह गरी शान्ति प्रक्रियामा आएको माओवादीबीचको एकता नेपालमा कम्युनिष्ट ‘ध्रुवीकरण’को कोसेढुंगाजस्तै देखिएको छ ।
यो एकतापछि दक्षिण एसीयामा कम्युनिष्टको नेतृत्वमा बलियो सरकार भएको देश नेपाल हुनेछ । ‘आर्थिक समृद्ध र विकासको दायित्व’ पुरा गर्ने संयुक्त घोषणापत्रमुताबिक एकीकृत पार्टीले सरकार चलाउने विश्वास लिइएको छ ।
ओली–प्रचण्डको युटर्न
एक दशकको राजनीतिक परिदृश्यलाई नियाल्दा ओली भनेको माओवादीविरोधी र प्रचण्ड ओलीको नाकमुख हेर्न नचाहने परिस्थितिका पयार्य थिए । एमालेमा ओली प्रतिपक्षमा रहँदा झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन प्रचण्डले एमालेभित्रै गोटी चालिदिएका थिए ।
तर दोस्रो संविधानसभाको निर्वाचनपछि आएको परिणाम र राजनीतिमा कम्युनिष्टको बहुमतको अवस्था आएपछि दुवैको मन फेरिएको थियो । ओलीको प्रधानमन्त्रीको पहिलो इनिङ्मा प्रचण्डको समर्थन थियो । साधारण बहुमतमा रहेका कम्युनिष्टबीच एकीकरणको चर्चा त्यसैबेला चलेको थियो । तर अन्तर्राष्ट्रिय दबाब र पहिलो शक्ति बनेको कांग्रेसको चलाखीपूर्ण खेलका कारणले त्यसबेला सम्बन्धमा केही उतारचढाव आएको थियो ।
यद्यपि, प्रदेश, प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गरी जाने निर्णयसँगै एकीकरणको चरणमा पुग्ने सहमति भयो । ‘राजनीतिमा स्थायी शत्रु हुँदैन, कम्युनिष्ट केन्द्रको कल्पना गरेका प्रचण्डको सपना पुरा गर्ने साहसले पनि काम गरेको हो’, माओवादी उच्च स्रोतले भन्यो,‘ओलीको दृढता, प्रचण्डको साहसका कारण यो एकीकरण सम्भव भएको हो ।’
एकीकरण गर्ने ढाडसका लागि विभिन्न पिल्लरमा उभिएका एमाले नेताहरूले पनि काम गरेका छन् । माधवकुमार नेपाल, बामदेव गौतम एमाले महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल र दोस्रो तहका एमाले नेता तथा नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुनलगायतका माओवादीका दोस्रो तहका नेताले ओली–प्रचण्डलाई सहमतिमा पुराएको हो ।
चुनावमा जाँदा नै एकीकरण गर्ने घोषणा गरी अघि बढेका कारणले दुवै नेतालाई पछाडी फर्कने बाटो नै मिलेको थिएन । जनताको मत त्यसैका आधारमा पनि बहुमतमा खसेको निक्र्यौल निकालेर नेताहरू एकताको अन्तिम विन्दुमा पुग्न बाध्य भए ।















प्रतिक्रिया