१ कार्तिक २०८३, शनिबार

पैसा कमाउन ठूला प्रहरीबीच तछाडमछाड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_policeकाठमाडौं, १६ पुस । नक्कली सुराकी खडा गरेर प्रहरीले तस्करीका क्रममा बरामद हुने सुनबाट लाखौँ कमिसन खाने गरेको छ । पछिल्ला तीन वर्षमा झन्डै साढे २३ करोड रुपैयाँ कमिसनमा खर्च भएको छ । त्यसको ७० प्रतिशत रकम प्रहरीले नै खाएको छ ।

नियमित चेकजाँचका क्रममा गत १९ कात्तिकमा प्रहरीले थानकोटमा बरामद गरेको सात किलो सुनमा पनि नक्कली सुराकी खडा गरिएका छन् । सुराकी प्रतिवेदनमा प्रहरीका आफन्तकै नाम उल्लेख गरिएको छ ।

त्यस्तै, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले बरामद गरेको ३५ किलो सुनमा पनि प्रहरीले आफन्तलाई नै नक्कली सुराकी बनाएको छ ।

प्रहरीले आफन्तलाई नै सुराकी देखाएर वास्तविक सुराकीको पैसा खान खोजेपछि संसद्को सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

‘सुराकी कमिसनका नाममा योभन्दा डरलाग्दा भ्रष्टाचार भएका छन्,’ स्रोतले भन्यो ।

सुराकीले पाउने १५ प्रतिशत भत्ता खान प्रहरीले आफन्तहरूको नाम सुराकीको सूचीमा राखेर राजस्व अनुसन्धान विभागमा पठाउने गरेको छ ।

सात किलो सुनमा सुराकी देखाउँदा ४६ लाख रुपैयाँ भत्ता आउँछ । थानकोटमा सइको कमान्डमा खटिएको प्रहरी टोलीले सुन बरामद गरेको थियो ।

तर, बरामद गर्नेमा सयभन्दा धेरै प्रहरीको नाम राखिएको छ । सामान्यतया सइको कमान्डमा आठ–दश प्रहरी मात्रै खटाइन्छ ।

राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, ०५२ अनुसार भन्सार छलीका सामान बरामद गर्दा सुराकीले १५ तथा बरामद गर्ने सरकारी अधिकारी (प्रहरी तथा भन्सारका कर्मचारी)ले २० प्रतिशत कमिसन पाउँछन् । २० प्रतिशत कमिसन प्रहरी र राजस्वका कर्मचारीले बाँडीचुँडी लिन्छन् ।

त्यस्तै, काल्पनिक र नक्कली सुराकी बनाएर प्रहरी र राजस्व अनुसन्धानका कर्मचारीले ठूलो नीतिगत भ्रष्टाचार गर्दै आएका छन् ।

प्रहरीले सुराकीले पाउने रकमको २०–२५ प्रतिशत मात्रै दिने गरेको छ ।

खासगरी गत आर्थिक वर्षमा विमानस्थल प्रहरीले ठूलो मात्रामा तस्करीको सुन बरामद गरेको थियो ।

बरामदमध्ये आधा चेकिङकै क्रममा समातिएको स्रोत बताउँछ । तर, सबैमा प्रहरीले सुराकीको नाम राखेर १५ प्रतिशत सुराकी भत्ता खाएको छ ।

‘प्लेनबाट सुुन आउँदा कहिलेकाहीँ मात्रै सुराकी आउने हो,’ विमानस्थलमा लामो समयदेखि कार्यरत एक प्रहरी भन्छन्, ‘बरामद हुने अधिकांश सुन चेकिङमै फेला पर्ने हुन् ।’

नेपाल प्रहरीका प्रवक्ता डिआइजी माधव जोशीले सबै घटनामा सुराकी नै हुन्छ भनेर ठोकुवा गर्न नसकिने बताए । उनले सुन सुराकी र चेकिङ दुवै किसिमबाट बरामद हुँदै आएको बताए ।

नक्कली र काल्पनिक सुराकी राख्ने गरेको विषयमा विस्तृत अनुसन्धान नगरी केही भन्न नसकिने उनले बताए ।