२२ कार्तिक २०८३, आइतबार

मोदीले नेपाल भ्रमणमा नाकाबन्दीबारे बोल्न जरुरी थिएन : राणा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३१ वैशाख । राप्रपा–प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले नेपालसँग सम्बन्ध सुधार गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको बताएका छन् ।

रिपोर्टर्स नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘मोदीजीले आफू प्रधानमन्त्रीको रुपमा भन्दापनि प्रधान तिर्थयात्रीको रुपमा नेपाल आएको भन्नुभएको थियो, र उहाँ जनकपुर आउनुभयो, मुक्तिनाथ जानुभयो, त्यसपछि पशुपतिनाथको दर्शन गर्नुभयो ।’

अध्यक्ष राणाले मोदीले तीन पटकसम्म नेपालको भ्रमण गर्नुले नै नेपालसँग सम्बन्ध सुधार गर्न चाहेको स्पष्ट हुने बताए । उनले भने, ‘अहिले मोदीको नेपाल भ्रमणको प्राथमिकता भनेको नै द्धिपक्षीय सम्बन्ध सुधार गर्नु हो ।’

मोदीले बेलैमा विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल भ्रमणमा पठाएको र आफू पनि बेलैमा नेपाल आएकोले नेपाल र भारतबीचको सम्बन्ध सुधार्न सफल भएको राणाको दाबी छ । उनले भने, ‘नेपालले पनि हिन्तुस्तानसँग राम्रो सम्बन्ध राख्नुपर्छ ।’

यस्तै संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले मोदीको भ्रमणको क्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्रीले बोलेको कुरा पार्टी र प्रदेश सरकारको धारणा बमोजिम नै रहेको स्पष्ट पारेका छन् ।

५ दर्जन व्यक्तिको लाशमा टेकेर र संविधान सभामा कफ्र्यु लगाएर संविधान जारी गर्नेहरुले प्रत्येकपटक विश्कै उत्कृष्ट संविधान भनेर भन्ने गरेको बताउँदै नेता श्रेष्ठले भने, ‘उहाँहरुले संविधानलाई उत्कृष्ट भन्नुहुन्छ, हामी निकृष्ट भन्छौं ।’ वर्तमान संविधान संघीयताको सवालमा विश्वमै कमजोर भएको उनको जिकिर छ ।

यस्तै, राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले २ नम्बर प्रदेशका मुख्यमन्त्रीले संविधानप्रति असन्तुष्टि राखेर बोल्दा के गलत गरे भन्दै प्रतिप्रश्न गरेका छन् ।

उनले भने, ‘हामी त चुनावमा पनि संविधानको विरोध गरेर नै सहभागी भएको हो नि, जनताले हामीलाई राम्रो पोजिशन बनाएर पठाईदिए, संविधानप्रति असन्तुष्टि राखेर मुख्यमन्त्रीले बोल्दा के गलत गर्नुभयो त ? जुन कुराको लागि हामी अहिलेसम्मपनि लडिरहेका छौं ।’ मुख्यमन्त्रीले भएको कुरा बोलेको उनको दाबी थियो ।

कर्णले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले आफै भारतले नाकाबन्दी लगाएको भनेर हल्ला गरेपनि अहिले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे संसदमा घण्टौंघण्टा भाषण गरेर भ्रमण सफल र फलदायी भएको भनेर बोलेको बताए ।

हिजो संविधानको विरोध गरेर आफूहरु नाकामा धर्ना बस्दा भारतले नाकाबन्दी लगायो भनेको स्मरण गराउँदै नेता कर्णले भने, ‘अहिले उहाँहरुले नै मोदीजीलाई वार्म वेलकम गर्नुभयो, जानकी मन्दिरमा त एउटै ड्रेस लगाएर दर्शन गर्नुभयो ।’