
काठमाडौं, ३० वैशाख । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी प्रभावशाली मन्त्री बर्षमान पुन प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिढिएका छन् ।
प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पुनले आइतबार माओवादीका अध्यक्ष प्रचण्डलाई भेटेका छन् । प्रधानमन्त्रीले मन्त्रालयको कामकारबाहीमा हस्तक्षेप गरेको भन्दै उनले प्रचण्डसामु गुनासो पोखेका छन् ।
‘अध्यक्षज्यू तपाईंले एक पटक प्रधानमन्त्री ओलीजीसँग फाइनल कुरा गर्नुहोस्, उहाँले यस्तैगरी पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं, उहाँले मन्त्रालयको कामकारबाहीमा समेत हस्तक्षेप गर्दै आउनुभएको छ, हामी माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने साथीहरुलाई काम गर्न निकै गाहो भएको छ ।’- पुनको प्रचण्डलाई आग्रह थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त बैठकमा मन्त्रीलाई नराखी सचिवलाई राखिएको र विभागीय मन्त्रीलाई समेत थाहा नदिई अरुण तेस्रोको शिलान्यास गरिएको भन्दै पुनले प्रचण्डको ध्यानाकर्षण गराएका थिए । आफूलाई बाईपास गरिएको भनी पुनले चित्त दुखाएका थिए ।
प्रचण्डलाई भेट्न मन्त्री पुनसँगै अरु मन्त्रीहरुपनि पुगेका थिए । प्रचण्डले आफूले ओलीसँग कुरा गर्ने आश्वासन दिएको स्रोतको दाबी छ ।















प्रतिक्रिया