बिष्णु पौडेल
जीवन जिउने हरेकको कला हुन्छ । भलै जिउने कला फरक फरक किन नहोस । जिउने कला सभ्यतामा निर्भर रहन्छ । हामी कस्तो सभ्यतामा जीवन बिताइरहेका छौँ भन्ने बिषय महत्वपूर्ण हो । देश, काल परिस्थिति अनुसार जीवन जिउने कला फरक फरक हुन्छ । त्यही फरक जिउने कलाको बारेमा केहि लेख्न मनलागेर एकछिन घोत्लिन पुगेँ ।
कुरा आज भन्दा करिब आठ महिना पहिलाको । भर्खरै लिस्वनमा आएको थिएँ, केही नयाँ आशा र केहि अपेक्षासहित । लिस्बनमा मेरो पसलमा एकजना बृद आइरहन्थे, हामी नेपालीका वीच उनी भुड्के बुढोको नामले परिचित थिए । उमेर ६८ बर्ष । उनको असली नाम कोहीलु ।
बिहानदेखि बेलुकीसम्म रक्सी खाइरहने उनको आदत थियो, त्यहिकारण उनले नयाँ उपनाम पाएका थिए भुड्के बुढोको । छोटो समयमा उनीसँग निकै आत्मियता बढेको थियो । उनीसँग नजिक हुनुको मेरो स्वार्थ थियो । चाँडो भाषा सिक्नको लागि दिनभर उनीसँग कुरा गरिरहन्थेँ । नेपालको बारेमा जानीनजानी भनिरहन्थेँ, उनी सुनिरहन्थे र बीचमा खिस्स हाँस्थे, नबुझेको कुरा इसाराले भन्ने गर्थे । उनीसँग संगत भएको ९ दिन बित्न नपाउँदै उनको मृत्यु भयो । राती ११ बजेको थियो । उनको मृत्यु भएको खबर सुनेँ । सोही दिन दिउँसो हजाम कहाँ गएर कपाल काटेर आएका थिए । कपाल कस्तो छ भनेर सोधेको थिए । मैले भनेँ– धेरै राम्रो छ । बेलुकी बियर पिउन आउँछु भनेर गएका, तर कहिल्यै नआउने गरी गए । उनको शबलाई चार जना प्रहरीले गाडीमा राखेर लगे ।
कोहीलु अर्थात भुडेके बुढोको निधनले म मर्माहत भएँ । त्यो रातभर उनको क्रियाकलाप आँखा वरिपरि घुमिरहे । निदाउन मनै लागेन या भनौँ निद्रा नै आएन । भोलिपल्ट बिहान आठ बजे पसल खोल्न आएँ । गहभरी आँशु थियो तर देख्ने कोही थिएनन् । भुड्के बुढोका याद आइनै रह्यो । मेरो पसलवाट चार घर पर उनको घर थियो । चार घर परको त्यो घर घरीघरी हेरिरहेँ ।
उनी मेरो नातेदार पनि थिएनन् । मेरो साथी पनि थिएनन् । न त उनले मेरो समस्यालाई ढाडस लगाउने कुनै काम नै गरेका थिए । न त मैले उनलाई सहयोग गरेको थिएँ । तर पनि आठदिनको भेट र त्यो भेटमा जुटेको आत्मियता कहाँ मेटिँदो रहेछ र । म कहाँको, उनी कहाँको । सात समुद्रपारिको मान्छेको मृत्यु भएको थियो । खासै चिन्तित हुनुपर्ने थिएन । न त म मर्दा उनै चिन्तित हुन्थे सायद । तर पनि मन मान्दै मानेन । भित्रैदेखि नरमाइलो लागिरहेको थियो ।
यत्तिकैमा म झसंग भएँ । कारण थियो, उनको श्रीमती र छोरा तयारीका साथ आ–आफ्नो काममा हिड्न लागेको दृष्य । श्रीमान मरेको थियो, बाबु मरेको थियो तर पनि उनीहरु आमा छोरामा पीडाको कुनै छन्द समेत देखिन । हिजो अस्ति जसरी उनीहरु काममा जान्थे आज अर्थात कोहीलु मरेको भोलिपल्ट पनि उस्तै । आमाछोरा दुबै जनाको क्रियाकलाप देखेर भित्रभित्रै रिस उठ्यो । अरुको निजी मामलामा बोल्न पनि मिलेन । चुप लागेर बसेँ । वरिपरि छरछिमेकी पनि उस्तै, कसैले ऊ मरेर गएकोमा पश्चाताप पनि गरेनन् । निधिखोजी गरेर सोध्दा पनि सोधेनन् ।
न त भुड्के बुढोको घरमा मान्छे जम्मा भए, न त कसैले शोकनै मनाए । यतिसम्मकी हिजो भुड्के बुढोसँगै हिँडडुल गर्ने साथीलाई समेत मृत्युले खासै असर गरेन ।
मैले सोधेँ, तेरो साथी त मरेछ नि थाहा पाइस ?
साथीको जवाफ थियो, अँ थाहा पाएँ ।
तँलाई पीर लागेन ?
के को पीर ? भोलि म पनि मर्नुछ ।
यत्ति उत्तर आए छि थप कुरा सोध्ने मैले चेष्टा गरिन ।
कोहिलु त एउटा प्रतिनिधि पात्र मात्र हुन् । कोठाभित्र एक्लो जीवन बाँच्न बाध्य भएका युरोपका बृद्धबृद्धाको अबस्था अझै दर्दानाक छ । घरभित्र बसेका बृद्धबृद्धाहरुको लाश गनाएर बाहिर दुर्धन्ध आएपछि मात्र फलोनो मरेछ भनेर प्रहरीलाई खबर गर्ने चलन रहेछ युरोपमा । यही सम्झेर कोहिलुको मृत्यु सामान्य सम्झेर चित्त बुझाएँ ।
यहा कोहिलुको मरेको प्रसंग र नेपालको संस्कार अनि सभ्यतामा आकाश पतालको फरक पाएँ मैले । हाम्रो देशमा मरेको मलामी, जिउँदाको जन्ती भन्ने उखान नै छ । जस्तोसुकै मन नपरेको मान्छे होस् उसको मरणमा बिचरा भन्ने चलन छ । सक्दो सहयोग गर्ने प्रचलन छ । दुख पर्दा भलै कसैले केही नगरुन, जस्तोसुकै कठोर हृदय भएकाहरुले पनि एकपल्ट बिचरा भन्छ, भन्छ । यो घटनाले मलाई निकै पिरलिरह्यो र भन्न मन लाग्यो, सलाम मेरो संस्कारलाई ।
यही घटना सँग मिल्दोजुल्दो अर्को घटना । उमेर ८२ बर्ष । असली नाम लिजएलिया । मैले राखेको नाम चस्मे बुढी । हप्तामा प्रायः तीनपटक मेरो पसलमा सामान किन्न आउँछिन् उनी । कहिले काँही बाँकी लैजाने भएकोले खातामा उनको नाम मैले चस्मे बुढी भनेर राखेको । अन्यथा नलिनुहोला । कोहिलु यानी भुड्के बुढो र उनीमा एउटा फरक थियो, उनी राम्रोसँग अंग्रेजी बोल्छिन । यहाँ सितीमिती अंग्रेजी बोल्ने मान्छे पाउन गाह्रो हुन्छ । भाषाको समस्या नभएपछि उनीसँग धक फुकाएर कुराकानी गर्न सकिने । उनको जीबनवारे केही जान्ने मनशाय थियो म मा ।
प्रायः एक्लै हिडेको देख्थेँ अनि सामान घरसम्म डेलीभरी गर्दा उनको घरमा कोही पनि मानिस बस्छ जस्तो मलाई लागेन । त्यही भएर हुनसक्छ उनको बारेमा केही कुरा जान्न मन लागेको । उमेरले नेटो काटे पनि मैले केही गर्न सक्दिन अब, म मर्ने बेला भयो, मेरो साहरा कोही पनि छैन भन्ने हिनताबोध चस्मे बुढीमा मैले कहिल्यै पाइन । एक्लो जीवन बोल्ने कोही साथी छैन, न त सन्तान, भएका सन्तान पनि कोही घरमा छैनन् । युरोपका अन्य मुलुकमा । भएको एउटा साहारा श्रीमानले पनि यो संसार छोडेको नौ बर्ष भएछ । कति उदेकलाग्दो जीवन । साथी भनेको घरमा भएको टेलिभिजन । उनको घर नजिक बजार छ । मान्छेहरुको चहलपहल छ । प्रशस्त पसलहरु छन् तर अलि टाढा भए पनि मेरो पसलमा आउँछिन् । कारण उनलाई नेपाल ज्यादै मनपर्छ रे । नेपाल जान नपाएकोमा आफ्नै जीवनसँग गुनासो गरिन् । भन्छिन्, दिन उमेरसम्म काम गर्दा फुर्सद भएन, अब जान सक्दिन ।
प्रायः युरोपका मान्छेहरुको जीवन एकैखाले हुन्छ । काम, घर बिदाको समयमा जवरजस्त मस्ती । सायद ती दिन सम्झेर हाँस्दै थिइन उनी । उनको आँखामा युवावस्थाको अनुभुति छचल्केको महसुस गरेँ मैले । लामो सुस्केरा हालिन एक वाक्य बोलिन । त्यो वाक्यले म अवाक्य भए । बोल्न सकिनँ, सहानुभुति मात्र दिएँ । अनि मैले पनि लामो सुस्केरा हालेँ । अनि मनमनै मनेँ, मेरो देशमा यस्तो कमै हुन्छ । चस्मे बुढी जस्ता आमाहरुले कमसेकम साहारा त पाएका छन् । चस्मेबुढीलाई क्यान्सर छ भन्दा म अझै मर्माहत भएँ । उनी भगवानसँग केही माग्दै थिइन । र भनिन्, मलाई चाँडै लैजा अब म धेरै कष्ट सहन सक्दिन । यो शब्दले सायद उनी भन्दा म बढी भावुक भएँ । बसेको कुर्चीबाट उठेर बिदा माग्दै हाँस्दै भनिन्, अब अन्तिम यात्रामा छु तर कुनै अपसोच छैन किनकी मैले पाएको समय भोग गरिसकेँ ।
जीवनको अन्तिम घडी कुरेर बसेकी चस्मेबुढीको हरेक शव्द सम्झना आएरहन्छ जब उनलाई अहिले पनि एक्लै बाटोमा हिडेको देख्छु । एक्लो जीवनको अन्तिम यात्रा कति पीडादायक होला, मान्छे छन्, समाज छ, आफन्त छन् बाहिरवाट हेर्दा युरोपमा सबै थोक छ तर भुडके बुढो र चस्मे बुढीजस्ता हजारौँ बृद्धबृद्धाको जीवनमा सँधै उजाड छ । साहराविहीन बुढाबुढीहरु बाँचेका त छन् तर छिटो मर्ने चाहना लिएर ।
मैले जोड्न चाहेको प्रसंग संस्कारको हो । हामीले विश्वलाई वीरताको गाथा सिकायौँ । बुद्धको जन्मभूमिवाट बिश्वभर शान्तिको पाठ र सभ्यताको पाठ पढायौँ । हामी गरिब छौ । एक छाक टार्न हामीलाई धौधौ पर्छ । सुरक्षित भविष्यको लागि हामी अरबको खाडी, युरोप, जापान, अमेरिका र अष्ट्रेलियाको गल्ली गल्लीमा भौतारिरहेका छौँ । बिदेशमा बसेर देशमा केही छैन भन्न लाज मान्देनौँ । २, ४ जना जम्मा भयौँ भने नेपाल यस्तो उस्तो भनेर आफ्नै देशको खिल्ली उडाउँछौ । भलै संस्कार, सभ्यता हुनलाई देशमा गगनचुम्मी भवन हुनुपर्छ भन्ने छैन । जमिनमूनीबाट मेट्रो हिँडनुपर्छ भन्ने पनि छैन ।
सभ्यता भनेको कुनै पनि देशको पहिचान हो । त्यही पहिचानभित्र नागरिकको आत्मसम्मान सहितको बाँच्न पाउने अधिकारनै संभ्यता हो । त्यही सभ्यता र संस्कारमा हामी युरोप भन्दा धेरै अगाडि छौँ । एकजनालाई अप्ठेरो पर्दा अर्काले काँध थाप्ने हाम्रो संस्कारलाई कुनै पनि बिकसित मुलुकले चुनौती दिन सक्दैन । आमाबावुलाई भगवान ठान्ने हाम्रो संस्कृति युरोप अमेरिकाको ‘ड्यामकेयर’ गर्ने संस्कृतिले कहिल्यै जित्न सक्दैन ।
(पत्रकार पौडेल अहिले पोर्चुगल बस्छन्)














प्रतिक्रिया