
काठमाडौं, २८ वैशाख । जनकपुर उपमहानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झन्डै एक घन्टा मन्तव्य दिए ।
नेपालको सम्बन्ध पौराणिक कालदेखिको बताएका उनले नेपालबिना भारत अधुरो रहेको पटक–पटक बताए । जनकपुरदेखि लुम्बिनिसम्मको सम्बन्ध खुट्याएका मोदीले पशुपतिदेखि कन्याकुमारीसम्मको सम्बन्धका बारेमा व्याख्या गरे ।
नेपालको धार्मिक स्थलहरूबिना भारतका कुनै पनि धाम अधुरा हुने बताएका मोदीले सीताबिना राम पनि अधुरो हुने बताएका थिए । जनकपुरको स्तर विकासका लागि एक सय करोड भारू सहयोग घोषणा गर्न भ्याएका मोदीको अभिनन्दको औपचारिक कार्यक्रममा फरक दृश्य पनि देखिएको थियो ।
कार्यक्रममा नेपाल सरकारका रक्षामन्त्री इश्वर पोखरेल, संघीय समाजवादी फोरमका उपेन्द्र यादव, यातायात मन्त्री रघुवीर महासेठ, वाणिज्य मन्त्री मातृका यादव पनि सहभागी थिए । सम्बोधनका क्रममा मोदीले पोखरेल, २ नम्बरका मुख्यमन्त्री लालबाबु रावत, महासेठ र मात्रीका यादवको नाम लिए । तर उपेन्द्रको नाम लिएनन् । २ नम्बर प्रदेश सरकार नेतृत्व गरेको फोरमका अध्यक्षको नामै नलिई मोदीले जनकपुरको कार्यक्रममा मन्तव्य सकेका थिए ।
उपेन्द्र औपचारिक कार्यक्रमभर मोदीभन्दा एक मिटर पर मन्त्री पोखरेलको नजिक बसेका थिए । औपचारिक कार्यक्रममा मुख्यमन्त्री रावतले नेपालको संविधानले मधेसीलाई हेपेको र त्यसविरुद्ध संघर्ष गरेको भन्दै गुनासो राखे पनि मोदीले संविधानका विषयमा केही पनि बोलेनन् ।
अभिनन्दन कार्यक्रममा सहभागी हुनुअघि मोदीले मन्दिरमा भजन मण्डलीसँग एकैछिन किर्तन समेत गर्न भ्याए । सियाराम…भजनमा मोदीले तीन मिनेट बाध्यबाधन समेत बजाउन भ्याएका थिए ।















प्रतिक्रिया