
काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नेपालको तेस्रो र राजकीय दोस्रो भ्रमणका लागि आज जनकपुरमा आइपुगेका छन् । उनी जानकी मन्दिरको पुजा सकेर जनकपुर उपमहानगरपालिकाको नागरिक अभिनन्दका लागि बाह्रविघा मैदानमा जाने तयारीमा छन् ।
झन्डै दुई दर्जन सहयोगी र सुरक्षा सल्लाहकारसहितको टोली लिएर जनकपुर उत्रिएका मोदीका साथमा पत्नी (फस्ट लेडी) यस पटक पनि देखा परिनन् । खासगरी मोदीको कुनै पनि विदेश भ्रमणमा पत्नी जसोदा बेनको सहभागीता रहने गरेको छैन ।
केही साता उनी चीन भ्रमणमा गएका थिए । त्यसअघि युरोप र अमेरिकाको भ्रमणमा पनि जसोदा बेन उनका साथमा देखिएकी छैनन् । प्रधानमन्त्री भएको चार वर्षमा तीन पटक नेपाल आएका मोदीले नेपालमा ५ वटा सरकार देखिसकेका छन् ।
विश्वका शक्ति पुरुषमा गनिने मोदीले जसोदा बेनलाई पत्नी मान्दैनन् वा किन ल्याउँदैनन् ? विश्वका हरेक देशका सरकार तथा राष्ट्र प्रमुखले फस्ट लेडी बोक्ने र तोक्ने गरेका उदाहरण पर्याप्त छन् ।
सन् १९५२ मा जन्मिएकी जसोदा बेनसँग मोदीले १९६८ मा परम्परागत शैलीमा विहे गरेका थिए । १८ वर्षका मोदी र १६ वर्षकी जसोदाको विहे भएको तीन वर्षमा नै यो जोडी छुटेको थियो । पारिवारिक रुपमा भन्डारनगरमा मागी विवाह भएको थियो ।
मोदीले विहेको केही समयमा नै जसोदा बेनसँग नबस्ने निर्णय गरेका थिए । सन्यासी बन्ने प्रयत्नमा तीन वर्ष बिताएपछि मोदी र जसोदाको पारिवारिक जीवन टुटेको थियो ।
मोदीले यो विवाहलाई औपचारिक र आधिकारीक रूपमा कहिले पनि स्वीकार गरेनन् । २०१४ को प्रधानमन्त्रीको चुनावमा पनि विहेबारे खासै अर्थ राखेनन् । शिक्षिका रहेकी जसोदाले आफु मोदीको पत्नी भएको बारम्बार बताउँदै आएकी थिइन् ।
शिक्षण पेसा छाडेपछि जसोदा बेन एउटा सामान्य प्रार्थीको जीवन गुजारा गरिरहेकी छन् । मोदी र जसोदाको सम्बन्धका विषयमा भारतीय मिडियाले पनि लामो समय विरोधाभाष चर्चा गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा समकक्षी मोदीलाई गार्ड अफ अनर आजै दिनेछन् । औपचारिक कार्यक्रमका लागि नेपाली सेना, प्रधानमन्त्रीको कार्यालयलगायतले तयारी सकेका छन् ।
उक्त सम्मानका लागि मोदी अघि नै ओली काठमाडौं आइपुग्नेछन् । मोदी त्रिभुवन विमानस्थल हुँदै काठमाडौं आउनेछन् । त्यसका लागि सडकको सुरक्षा कडा बनाइएको छ ।















प्रतिक्रिया