इलामेलीहरूले ‘ओलन’ भनून् या अंग्रेजी बोल्नेहरूले ‘मिल्क’ भनून्; या तपाइ हामी अधिकांशले ‘दूध’ भनौं, कुरो एउटै हो । तथापी, नेपालमै स्वच्छ दूध उत्पादनमा नाम कमाएका सचेत इलामेली किसानहरूलाई कदर गर्दै यो लेखको शिर्षकमा दूधलाई ‘ओलन’ भनिएको हो । परापूर्बकाल देखि दूध अमृतको रूपमा मानिदै आएको पदार्थ हो । पञ्चामृतका पांचवटा अमृतहरुमध्ये तीनवटा अमृत दूध वा दुग्ध पदार्थलाई मानिने पूर्बीय बैदिक परम्पराको आधारमै हेर्दा पनि दूधकोमहत्वधेरै हदसम्म पुष्टी हुन्छ । अझ आधुनिक बिज्ञानले गहिराईमा पुगेर गरेका अनुसंधानहरूबाट प्राप्त प्रमाणहरूका आधारबाट बिश्लेषण गर्दा त झन् दूध र दुग्ध पदार्थहरू हामीले देखेबुझे भन्दा पनि बढी महत्वपूर्ण रहेको तथ्य उजागर हुन आउछ । यहां दूध र दुग्ध पदार्थमा रहेका त्यस्तै महत्वपूर्ण गुणहरूको चर्चा गर्ने प्रयत्न गरिएको छ ।
प्रचूर पौष्टिकता:
सामान्यतया: दूधको पौष्टिकताको कुरा गर्दा यसमा निहित रहेको घृंतांश, चिनी (ल्याक्टोज), र प्रोटीनको परिमाणको कुरा गर्ने गरेको पाइन्छ । यीनै पदार्थको परिमाणकै आधारमा हेर्दा पनि दूधलाई एक सघन पौष्टिक पदार्थ मान्न नसकिने होईन । किनकि केवल १ गिलास (२५० मि.लि.) गाईको दूधबाट एकजना सकृय अबस्थाको बयस्क ब्यक्तिको लागि दैनिक रूपमा आवश्यक पर्ने सम्पूर्ण चिल्लो पदार्थ र प्रोटीनको करीब १५%, कार्बोहाइड्रेटको ६% र क्याल्सियमको ३५% सम्म आपूर्ति हुन सक्छ । परिमाणको मात्र कुरा नगरिउपरोक्त पोषणतत्वहरूको गुणस्तरको लेखा जोखा गर्दा पनि दूधमा रहेका पोषणतत्वहरू उत्तम दर्जाका भएको पुष्टी हुन्छ । मानिसले खानै पर्ने नौवटा ‘अत्यावश्यक एमीनो एसिडहरू’ मध्ये सम्पूर्ण नै दूधको प्रोटीनमा बिद्यमान रहेका हुन्छन् । त्यसैले दूधको प्रोटीनलाई पौष्टिकताका हिसाबले ‘पूर्ण प्रोटिन’मानिन्छ । हाम्रो स्वास्थको लागि अति आबश्यक पर्ने ‘सिस्टीन’ र ‘मेथियोनिन’ नामका ‘गन्धक-युक्त’ एमीनो एसिड पनि दूधमा प्रचूर मात्रामा पाईन्छन् । दूधमा मुख्यतया: दुई प्रकारकाप्रोटीन हुन्छन् । दूधलाई फटाउदा छेना भएर निस्कनेलाई’छेना-प्रोटीन'(केसिन) भनिन्छ भने पानी तर्फ पनि केही प्रोटीनहरू घुलेर जान्छन्; तिनीहरूलाई चाही ‘मोही-प्रोटीन’ (व्हे प्रोटीन) भनिन्छ । गुणवत्ताको हिसाबले हेर्दा छेना-प्रोटीन भन्दा मोही-प्रोटीन अझ बढी गुणस्तरीय हुने कुरा हालैकाअध्ययनहरूले पुष्टी गरेका छन् । खाद्यबस्तुमा पाईने प्रोटीनलाई तुलना गर्दा अण्डाको प्रोटीन (सेतो भाग)लाई सबैभन्दा श्रेष्ठ र मानक प्रोटीनको रुपमा लिने गरिन्छ । तर पछिल्ला बैज्ञानिक अध्ययनहरूले दूधमा रहेको मोही-प्रोटीन (व्हे प्रोटीन)को पौष्टिक गुणस्तर अण्डाको प्रोटीन भन्दा पनि उच्च भएको देखाएका छन् । त्यसैले ‘चिज’ उत्पादन गर्ने ठूल्ठूला उद्योगहरूले दूध फटाएर बांकी रहेको मोही (व्हे)लाईआजकल कत्ति पनि खेर फाल्दैनन् । बरू त्यस्तो मोहीबाट बहुमूल्य गुणकारी ‘मोही-प्रोटीन’को उत्पादन गर्छन् । त्यस्ता मोही प्रोटीनहरू अत्याधिक शारिरिक ब्यायाम गर्ने खेलाडी, बडिबिल्डर आदिको लागि आबश्यक पर्ने बिशिष्ट प्रकारका आहारा र शिशु दुग्ध आहारा उत्पादनमा प्रयोग गरिन्छ ।
घृतांशको कुरा गर्दा भिटामीन ए, डि, इ र के जस्ता मूल्यवानभिटामीनहरूको भरपर्दो श्रोत घीउ हो । भिटामीन ‘ए’ले आखाकोज्योतीचहकिलो बनाईराख्ने भूमिका खेलेको हुन्छ । भिटामीन ‘डि’ले हाम्रो अस्तिपंजर प्रणालीको समुचित बिकासको लागि अतिनै गहन योगदान दिएको हुन्छ ।शरीरका कोषकोषमा बिभिन्न कारणले उत्पन्न भएका अति “प्रतिकृयाबादी’ बिषाक्त पदार्थहरूलाई निर्मुल पारेर भिटामीन ‘इ’ले हामीलाई क्यान्सर जस्ता भयानक रोग लाग्नबाट बचाईरहेको हुन्छ । भिटामीन ‘के’ चाही घाउ भएर रगतबग्न गएको अबस्थामा रगत बग्न बन्द गराउने काममा खटिन्छ । यस्ता अतिनै आबश्यकिय भूमीका भएका भिटामीनहरू उल्लेख्य मात्रामा पाईनाले गर्दा दूधको घृंतांशको पनि ठूलो पौष्टिक महत्व छ । तर घीउको अधिक सेवनले उच्च रक्तचाप जस्ता समस्या हुन सक्ने कुरालाई नजरअन्दाज गर्न नसकिने हुंदा मोटोपना भएका र रक्तचाप बढी भएका मानिसहरूले घीउमा नलोभिनु नै उचित हुन्छ । त्यस्ता मानिसले ‘तर’ काटेको, वा फ्याट कम गरेको दूध, दहि, र नौनी झिकेको मोहीतिर आफूलाई बानी पार्नु बान्छनिय देखिन्छ ।
दूध हाम्रो शरीरलाई नभई नहुने खनिजहरूको पनि सघन श्रोत हो । अस्तिपञ्जरको बिकास र मुटूको कृयाशिलताका लागि नभै नहुने क्याल्सियम तत्व दूधमा अधिक मात्रामा पाईन्छ । शरीरलाई आबश्यक पर्ने खनिजहरू मध्ये सबै भन्दा धेरै (दैनिक १ ग्राम) क्याल्सियम हामीले सेवन गर्नै पर्दछ; र सबैभन्दा बढी क्याल्सियम पाईने प्राकृतिक खाद्य बस्तु पनि दूध नै हो । यसरी हेर्दा शरिरलाई चाहिने क्याल्सियमको नियमित आपूर्तिको लागि दूध सेवन गर्नु भन्दा अर्को भरपर्दो बिकल्प छैन भन्दा पनि हुन्छ । त्यसैगरी शरीरमा भिन्न भिन्न भूमीकाका लागि अत्याबश्यक फोस्फोरस, आयोडिन, पोटासियम आदि तत्वहरूको लागि पनि दूध एकदमै भरपर्दो श्रोत हो ।
तातो दूध- मीठो निन्द्रा:
दूधका गुणहरू यसको पौष्टिकतामा मात्र सिमित छैनन् । दूधमा थोरै परिमाणमा पाईने कतिपय तत्वहरूमा समेत मानिसलाई फाईदा पुर्याउन सक्ने बिशिष्ट गुणहरू बिद्यमान रहेका हुन्छन । त्यस्तै तत्वहरूमध्ये’मेलाटोनिन’ नामको हर्मोन पनि एक हो । मानिसको निदाउने र बिउझिने समयको समुचित सामन्जश्यता मिलाउनु यस हर्मोनको मूख्य काम हो । दिमागमा रहेको एउटा ग्रन्थीले हाम्रो शरीरमा पनि मेलाटोनीन हर्मोनको निर्माण गर्दछ ।
तर बिभिन्न बिमार लागेका र बुढ्यौलीले छुदै गरेका मानिसहरूको शरीरमा आबश्यकता अनुसार मेलाटोनिन हर्मोन नबन्ने भएको हुनाले उनीहरूको निदाउने र बिउझिने समयको टुंगो हुदैन । त्यसैले उनीहरू या त अबेर सम्म निदाउन सक्दैनन्; र निदाईहाले पनि अचानक निन्द्रा खलबलिनाले गर्दा शारिरीक रूपमासिथिल हुन पुग्दछन् । दूधमा मेलाटोनिन हर्मोन पाईने हुनाले त्यस्ता मानिसहरूले सुत्ने बेलामा एक गिलास तातो दूध पिएर सुतेको खण्डमा मीठो निन्द्रा निदाउन सक्दछन्; र अचानक निन्द्रा खलबलिने समस्याबाट पनि धेरै हदसम्म छुटकारा पाउछन् । बिमारी र बूढापाका मात्र होईन जवान र स्वस्थ मानिसले समेत सुत्ने बेलामा तातो दूध पिएर सुत्नालेमीठो निन्द्रा निदाउनमा मद्दत पुग्न सक्दछ । गाई-बस्तु पनि रातमा निदाउछन् ।
निदाउने समय हुन थालेपछि गाई बस्तुको शरीरमा मेलाटोनीन हर्मोनको अधिक उत्पादन हुने गर्छ । त्यसैले अधिक मेलाटोनिन युक्त दूधको ब्यबसायिक उत्पादन गर्न फिनल्याण्ड लगायतका कतिपय देशमा रातको समयमा गाई दुहुने गरेको समेत पाईन्छ। त्यस्तो अधिक मेलाटोनिनयुक्त दूध पार्किन्सन्स र अल्साईमर जस्ता रोग लागेका बूढापाकाहरू तथा अटिजमको समस्या भएका बच्चाहरूको लागि समेत निकै लाभदायक हुनसक्ने तर्फ पनि अनुसंधानहरूलेसंकेत गरेका छन् ।
दही-मोही, खाऊन् हरकोही:
भगवानले शृष्टी गरेका, पीउने खाने बस्तुहरूमा;
होलान् चिजबिज अरू पनि कोही, माग्दछु म ता मीठ्ठो मोही ।
संखुवासभा-मादीतिरका अज्ञात ब्यक्तिले रचेको यो कबितांश पंतिकारले बाल्याबस्थामै सुनेको हो । दही-मोहीको सेवनबाट प्राप्त हुने शितलता, स्फुर्ती, र तागतको आधारमा दही-मोहीका पारखीले आफ्नो नियमित भोजनमा यीनलाई हत्तपत्त छुटाउदैनन्। बैज्ञानिक कोणबाट हेर्दा पनि दही-मोहीमा अझ महत्वपूर्ण खालका अनेक फाईदाकारी दुर्लभ बिशेषताहरू रहेको पाईन्छ । दूधलाई जमाएर दही बनाउन बिशिष्ट प्रकारका जिबाणुहरूको कारणले सम्भब भएको हुन्छ । झट्ट सुन्दा जीबाणुहरू भन्ने बितिकै हामी रोगका हानीकारक किटाणु होलान् भन्ने सम्झन पुग्दछौं । तर संसारमा पाईने केही जीबाणूहरूमात्र हामीलाई रोग लगाउने ‘दुष्ट’ प्रकृतीका हुन्छन् । केही जिबाणु चाही हाम्रो लागि अत्यन्तै गुणकारी ‘मित्र’ प्रकृतीका हुन्छन् । दही बनाउन त्यस्तै ‘मित्र’ प्रकृतीका बिशेष खाले जिबाणुको प्रयोग गरिएको हुन्छ । त्यस्ता जीबाणुहरूले दूधमा रहेको चीनीलाई अम्लमा परिणत गरिदिन्छन् । दूधमा करीब ५ प्रतिशत चीनी हुन्छ भने (चिनी नमिसाइएको खण्डमा) दही करीब करिब चिनी रहित हुन्छ । त्यसैले मधूमेहका बिरामीलेचिनी नमिसाई जमाईएको दहिसेवन गर्नु उपयुक्त हुन्छ ।त्यसैगरि केही केही मानिसले दूधमा प्राकृतिक रूपमा पाईने चिनी (ल्याक्टोज) पचाउन सक्दैनन्; जसको कारण उनीहरूलाई दूध सेवन गरेपछि पेट दुख्ने, डकार या पाद आउने, वा पातलो दिशा आउने हुन सक्छ । त्यस्तामानिसले समेत दही चाही सजिलै पचाउदछन् । दहीमा ‘मित्र’ प्रकृतीका सुक्षम जिबाणुहरू लाखौको संख्यामा जिबितै रहेका हुन्छन् र हामीले दही सेवन गर्दा त्यस्ता जिबाणुहरु हाम्रो पेट र आन्द्रामापनिपुग्दछन् । कारणबस आन्द्रामा हामीलाई हानी गर्ने दुष्ट जिबाणुहरू घुसपैठ गरि बसेका रहेछन् भने तिनीहरूलाई दहीमा पाइने’मित्र’ जीवाणुले त्यहाबाट धपाएर दिसाको माध्यमबाट निस्काशित हुन बाध्य बनाई दिन्छन् । यसरी दुष्ट प्रकृतिका जिबाणुलाई पेटबाट लखेटेर हामीलाई निरोगी बन्न सहयोग गर्ने हुनाले दही बनाउने ‘मित्र’ जिबाणुहरूलाई स्वास्थ-सम्बर्धक (‘प्रोबायोटिक’) जिबाणु पनि भन्ने गरिन्छ ।
दही जस्तै मोही पनि गुणै गुणले भरिपुर्ण पेय पदार्थ हो । यसमा दहीमा हुने सबै गुणहरू त बिद्यमान हुन्छन् नै, त्यसका अलावा मोहीमा केही बिशिष्ट फाईदाकारी गुणहरू पनि रहेका हुन्छन् । दही मथेर नौनी झिकी बनाईएको मोहीले तअझ धेरै फाईदा गर्छ । नौनी झिकिसकेको मोहीमा न्यून मात्रामा मात्र घीउ बांकी रहन्छ, जसको कारण रक्तचापका बिमारीलेसमेत निसंदेह मोही सेवन गर्न सक्छन् । त्यति मात्र नभएर नौनि झिकिसकेको मोहीमा ‘फ्याट ग्लोब्यूल मेम्रेन प्रोटीन’ नाम गरेका अति नै गुणकारी प्रोटीनहरू पनि पाईन्छन् । त्यस्ता प्रोटीनयुक्त मोहीको नियमित सेवनले क्यान्सरको जोखिम कम हुने र रगतमा कोलेष्टेरोको मात्रा समेत घट्न गई रक्तचापको जोखिम समेत कमहुनसक्ने कुरा बैज्ञानिकहरूले औल्याएका छन् ।दूधमा रहेका ‘बि’ समूहका भिटामीनहरू पनि मोहीमा नै रहने हुदा मोहीलाई ‘बि’ समूहका धेरैजसो भिटामीनहरूको पनि भरपर्दो श्रोत मान्न सकिन्छ ।
‘चिज’ भनेको चिजै हो:
पश्चिमा बिकसित देशहरूमा सबै भन्दा बढी रूचाएर खाइने दुग्ध पदार्थ ‘चिज’ हो । दूधलाई फटाएर छेनाबाट तयार गरिएको पदार्थलाई चिज भन्ने गरिन्छ । चिज बनाउदा दूधलाई ‘रेनेट’ नामको इन्जाइमको सहायताले फटाईन्छ; यद्दपी रेनेट प्रयोग नगरि बनाईएका पनीर र छुर्पीपनि बिशेष प्रकारकाचिज नै हुन् । पहिले पहिले रेनेट इन्जाइम बनाउने तौरतरिकाहिन्दू धर्म र साकाहारी-अनुकुल नहुनाले गर्दा हिन्दू र साकाहारी मानिसहरूले चिजको सेवन गर्न हिच्किचाउने गर्दथे । तर आजकल रेनेट ईन्जाईम वनस्पती श्रोतबाट उत्पादन गरिन्छ ।वनस्पतिय रेनेटबाट बनाईएका चिजहरूसर्बत्र पाईने भएकाले हिन्दू र साकाहारी उपभोक्ता माझमा चिजअचेल अत्यन्तैलोकपृय हुदै गइरहेको छ ।
चिज अतिनै सघन पौष्टिक तत्व भएको पदार्थ हो । बयस्क उमेरको ब्यक्तिलाई दैनिक चाहिने प्रोटिन र चिल्लो पदार्थको करिब १०%, भिटामीन ए को ५%, क्याल्सियमको ३०%, सोडियमको २०% र भिटामीन ‘बि-१२’ को करीब १० % आपूर्ति गर्न केवल ३० ग्राम चिज सेवन गरे पुग्छ । यसरी हेर्दा दूध भन्दा चिज करिब १० गुणा बढी पौष्टिक हुन्छ । अर्को उल्लेख्य कुरा के छ भने, चिजमा कुनै पनि प्रकारको चिनी पाईदैन । त्यसैले मधुमेह भएका र ल्याक्टोज नपचाउने मानिसका लागि पनि चिज उपयोगी खाद्य पदार्थ हो । चिज बनाउने प्रकृयामा नूनको निकै धेरै प्रयोग गरिने भएकाले धेरै जसो चिजहरूमा नून (सोडियम तत्व) धेरै मात्रामा पाईन्छ । उच्च रक्तचाप भएका मानिसले धेरै सोडियम तत्व सेवन गर्नु स्वास्थ्यको लागि प्रतिकूल हुन सक्ने भएकाले उनीहरूले भरसक फ्याट र सोडियम तत्व कम भएका चिजहरू सेवन गर्नु पर्दछ ।पनीरमा सोडियम तत्व नगन्य मात्रामा मात्र पाईने भएकाले उच्च रक्तचापको समस्या भएका मानिसले फ्याट कम गरेको दूधबाट बनाईएको पनीर सेवन गर्दा चीजको पौष्टिकता पनि पाइन्छ र स्वास्थ्यलाई असर पनि गर्दैन । दहीमा जस्तै कतिपय चिजमा पनि स्वास्थ-सम्बर्धक (‘प्रोबायोटिक’) मित्र जिबाणुहरू पाईने हुनाले त्यस्ता चिजको सेवनले हाम्रो स्वास्थ्यमा फाईदा पुगिरहेको हुन्छ ।
तर स्वच्छता चाही अपरिहार्य छ है:
दूध दुहुदा देखि नै दूधको स्वच्छतामा ध्यान दिईएन भने त्यस्तो दुध र सोबाट बनेका दुग्ध पदार्थहरू पनि अस्वच्छ हुन्छन् र तिनीहरूले हामीलाई फाईदा गर्नुको सट्टा हानी पुर्याउन सक्दछन् । त्यसैले क्षयरोग, भ्यागुते, खोरेत जस्ता सरुवा रोग लागेका र थुनेलो भएका बिमारी पशुबस्तुको दूध स्वास्थ्यको लागि हानिकारक हुन्छ; त्यस्तो अबस्थाका गाईबस्तुको दूध खानु वा बेचबिखन गर्नु हुदैन । त्यसैगरि दुध दुहुने मानिसलाई पनि कुनै गम्भिर किसिमको सरुवा रोग लागेको छ भने उनीहरूले दूध दुहुनु हुदैन र दूधको संसर्गमा आउने अन्य काम गर्नु पनि हुदैन ।
दूधमा पानी वा कुनै पनि बाह्य पदार्थ मिसाउन हुदैन । शुद्द दूधमा बिगौते दूध (गाई ब्याएको १०-११ दिन सम्मको दूध) पनि मिसाउनु हुदैन । जति नै शुद्द भए पनि कांचो दूध र त्यसलाई नतताई या नउमाली बनाएका पदार्थ सेवन गर्नु हुदैन । कांचो दूधमा दुष्ट प्रकारका शुक्ष्म जिबाणुहरूको संख्या धेरै हुन्छ । त्यसैले पिउनु वा अरू पदार्थ बनाउन प्रयोग गर्नु अगाडि कांचो दूधलाई भुलुक्क उमाल्नु पर्छ । उमाल्दा फाट्यो भने त्यस्तो दूध सेवन गर्नु हुदैन । कतिपय दूधका ब्यापारीहरूले दूध उमाल्दा सोडा हालेर उमाल्नु भन्दै दूधका साथमा केही सोडा समेत उपहार दिने गरेको पाईन्छ । यदि त्यस्तो गरेको पाईएमा त्यस्ता डेरीको दूध अस्वस्थ छ भन्ने बुझ्नु पर्छ र सेवन गर्नु हुदैन । बरू त्यसो गर्ने डेरीवालाहरूलाई कारबाही गर्न सम्बन्धित निकायमा उजुरी गरिदिनु पर्दछ ।
खाद्य बस्तु राख्नकै लागि एक पटक प्रयोग गरेर फ्याक्ने गरि स्वछ तवरले बनाईएका “प्रयोग गर र फ्याक” (Use and throw) प्रकारकाबाहेक कुनै पनि किसिमका प्लास्टिकका भांडाहरूमा दूध वा दुग्ध पदार्थ राख्नु हुदैन । त्यस्ता भाडाहरूमा दुष्ट किटाणुहरू टासिएर बस्छन्, सफा गर्दा पनि निर्मुल हुदैनन् र दूधमा सरेर दूधलाई अस्वच्छ बनाउछन् । कमसल प्लाष्टिकका भांडाबाट दूधमा अदृष्यरूपले प्लाष्टिकका अणुहरू समेत घुलेर आउछन् र तिनले हामीलाई अनेक प्रकारका रोग लगाउन सक्दछन् । त्यसैले प्लास्टिकका ट्यामी, क्यान, ट्यांकी, तुल्लेट, जर्किन, बाल्टी जस्ता भाडाहरू दूध दुहुन, राख्न वा ओसार पसार गर्न प्रयोग गर्न हुदैन । तामा र फलामका भाडामा पनि दूध राख्न हुदैन । माटोलाई पोलेर बनाइएका सफा ‘कतारा’ मा दही जमाउनुउचितै भए पनि एक पटक प्रयोग गरिएका कतारा पून: प्रयोग गर्नु हुदैन । काठका भाडामा दूध दुहुने, दही जमाउने र मोही पार्ने कुरा पनि स्वच्छताको हिसावले ठीक होईन । उहिले स्टिल वा आलुमुनियमका भाडा नपाउदा काठका भांडा बिकल्पको रुपमा प्रयोग गर्ने चलन चलेको भएता पनि त्यस्ता भांडाहरू ठिक संगले सफा गर्न गाह्रो हुन्छ । त्यसैले दूध दुहुन र दूध र दुग्ध पदार्थ राख्न भरिसक्के स्टीलका र स्टील नपाए आलुमुनियम (सिलभर) का हात पसाएर माझ्न सकिने ठूला मूख भएका तर ढक्कन समेत भएका भांडाहरू मात्र प्रयोग गर्नु पर्दछ । दूध राख्ने त्यस्ता भांडालाई साबुन, खरानी, सोडा वा टिपोल जस्ता बस्तुले ठिक संग माझेर सफा गरि सुख्खा बनाएर राख्नु पर्दछ ।
कांचो दूधलाई कि त रेफ्रिजेरेटरमा राख्नु पर्छ, कि त दुहुना साथ उमालिहाल्नु पर्दछ । उमालेको दूध पनि३-४ घण्टा भन्दा लामो समय सम्म राख्नु छ भने रेफ्रिजेरेटरमैराख्नु पर्दछ । रेफ्रिजेरेटर नभएको खण्डमा दूधलाई बढीमा ३-४ घण्टा पछि पून: उमालेर मात्र सेवन गर्नु पर्दछ । दूध जस्तै दही मोही, मख्खन, पनीर, चीज आदी दुग्ध पदार्थहरू समेत चिसो तापक्रममा राख्नु पर्दछ । रेफ्रिजेरेटर बाहिर धेरै समय त्यस्ता पदार्थहरु राख्दा दुष्ट जिवाणुहरूले मित्र जिवाणुहरूलाई जितेर पौष्टिक तत्व पनि लुटिदिन्छन् र त्यस्ता पदार्थ खाने मानिसलाई बिमारी पनि बनाईदिन सक्दछन् ।
दूध र दुग्धहरू पदार्थ हाम्रो स्वास्थ्य र शारिरिक बिकासको लागि अमृत समान महत्वपुर्ण र अति मूल्वान छन् । तर आबश्यक स्वच्छता र हिफाजतको कमी हुन गयो भने दूधमा रहेका अमृत पक्षहरूलाई दुष्ट प्रकारका शुक्ष्म जिबाणुहरूले लुटिदिन्छन् र त्यस्तो अमृत पक्ष लुटिएको दूधको सेवनले हामीलाई उल्टै हानी पुर्याउछ । जसरी बहुमूल्य सम्पतिलाई बिशेष हिफाजतका साथ जोगाएर राखिन्छ, त्यसरी नै दूधमा रहेका मूल्यवान अमृतपक्षलाई जोगाउन पनि दूधको बिशेष हिफाजत गर्नु पर्दछ । त्यसैले दूधमाथि दुष्ट किटाणुहरूको बक्र दृष्टी पर्नबाट जोगाउन दूध र दुग्ध पदार्थर्लाई “गोठ देखि ओठ सम्म”का अर्थात दुहुंदा देखि खांदा-पिउदा सम्मका हरेक प्रकृयाहरूमा सफा र स्वच्छ तरिकाले साबधानीका साथ राख्नु अति नै जरुरी हुन्छ ।
(लेखक: अमेरिकाको यूनिभर्सिटी अफ विस्कनसीन-म्याडिसनमा खाद्य तथा दुग्ध बिज्ञान प्रबिधीमा बिद्याबारिधी अध्ययनरत, [email protected])














प्रतिक्रिया