२८ आश्विन २०८३, बुधबार

पहिचान भए श्रीजंगा, भूगोल भए कञ्चनजंगा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradeep-bhattaraiयतिबेला मुलुक चक्लाबन्दी गर्ने अभियानमा आआफ्नो सोच र कोणको फित्ता लिएर विभिन्न झण्डामा कित्तावद्ध मानिसहरु फालिम लागेका छन् । एकाथरि भूगोल बाँड्ने कुरा गरिरहेका छन्, अर्काथरि मानिस बाँड्ने । जसरी बाँडुन् तर म न मेरो मेची अञ्चलको लाशमाथि कोशी नामक अर्को अञ्चलको नाममा बन्ने राज्यसँग सती जान सक्छु, न २१ औं शताव्दीमा पनि कविला राज्यप्रणालीको अनुशरण गर्दै कुनै लिम्बूवान राज्यको नागरिक हुन मञ्जुर छु । मेरो लागि जातीय पहिचान भए श्रीजंगा र भौगोलिक पहिचान भए कञ्चनजंगा दुबै मञ्जुर छ ।

कुनै समय देश भनेको मूलतः भूगोल हुन्थ्यो । त्यसपछि आउँथे, त्यस भूगोलमा रहेका मानिस अनि उनीहरुको जीवन र जगतसँग गाँएिका विविध पक्षहरु । तर, अहिले विश्व भूमण्डलीकरणसँगै यसमा पनि प्याराडायम सिफ्ट भएको छ । नयाँ प्याराडायममा पहिला आउँछन् मानिस, त्यसपछि तिनले बनाउने राष्ट्यिता आउँछ अनि मात्र आउँछ ती मानिसले पाइला नाप्ने भूगोलको कुरा ।

यो संसारमा रहेका धेरै चीज मान्छेले उत्पादन गरेका, मान्छेले नै उपभोग गर्ने कोटीका छन् । फेरि मान्छेको चाहना पनि असीमित छ । अझ समस्या त मान्छेको शिक्षा र ज्ञान बढे पनि विवेकमा कमी आएकोले सिर्जना गरेको छ । त्यसैले मानव व्यवस्थापन आज विश्वमै सबैभन्दा पेचिलो समस्या बनेको छ । यो समस्या उत्तर र पश्चिममा भन्दा पनि पूर्व र दक्षिणमा थप जटिल बन्दैछ ।

पूर्वपश्चिम संस्कृतिले अनि उत्तर दक्षिण समृद्धिले नापिन्छ । यसरी नाप्दा नेपालको पछिल्लो मानवीय अक्षांश र देशान्तर दक्षिण र पूर्व हुन्छ । यो अवस्थिति आफैंमा संक्रमण हो । त्यसमाथि पनि यतिबेलै मुलुकमा राजनीतिक संक्रमण पनि थपिएको छ । यसले पारेको गाँजेमाजे छिमल्न नसक्दा मुलुक नराम्रो घनचक्करमा फसेको छ । निकासका लागि जुन किसिमको मानव संसाधन र शिल्प चाहिन्थ्यो, त्यही नभएर मुलुक समाधानको नजिक होइन, समस्याको भूमरीतिर धकेलिएकोे हो । समाधान दिन नसक्ने मानव संसाधनले आफ्नो कमजोरी देखिरहेको छैन, बरु उल्टै साधनलाई मात्र हैन, साध्यलाई पनि धारेहात लगाउने एन्टी थेसिस जन्माइरहेको छ ।

प्रसंग मुलुकको संघीयता र शासकीय स्वरुपसँग जोडिएको छ । यससँग जोडिएको वहस पधेर्नीवृत्तिमा झर्दा यो मुलुकको चक्लावन्दीसँग सम्बन्धित हुन पुगेको छ । अर्थात् यतिबेला मुलुक चक्लाबन्दी गर्ने अभियानमा आआफ्नो सोच र कोणको फित्ता लिएर विभिन्न झण्डामा कित्तावद्ध मानिसहरु फालिम लागेका छन् । एकाथरि भूगोल बाँड्ने कुरा गरिरहेका छन्, अर्काथरि मानिस बाँड्ने । भूगोल बाँड्नेहरु अझै पनि कोशी, सगरमाथा, कर्णाली आदि इत्यादिमा नेपाल देखिरहेका छन् । अर्काथरि जो मानिस बाँडिरहेका छन्, उनीहरु क्षत्री, बाहुन, तामांग, नेवार आदिमा नेपाल भेटिरहेका छन् । वास्तवमा भूगोल बाँडे पनि मानिस बाँडे पनि त्यो त नेपालभित्र रहेका नेपालीहरुको मानव व्यवस्थापनसँग सम्बन्धित कुरा हो । तर, त्यसलाई त्यसरी नबुझी, नबुझाई नेपाली मनहरुको कित्तावन्दी गर्ने दुस्प्रयास भएको छ । अहिले उनीहरु मुलुकमा मात्र हैन, मुलुकबासीको मनमा खाडल पार्ने कुरा गरिरहेका छन् ।

यसमा सिधा राजनीति छ, कसरी बाँड्दा आफूलाई फाइदा हुन्छ, सबैको अर्जुनदृष्टि त्यसैमा छ । तर, देखाउनलाई मुलुक र मुलुकबासीको हित भनिन्छ, तर त्यसमा न मुलुकको प्रश्न छ, न मुलुकबासीको । कसो गर्दा आफ्नो, आफ्नो पार्टी र जातिको वर्चस्व हुन्छ, सारमा सबैको स्वार्थ त्यसैमा छ र अहिले नमिलेको कुरा पनि यही हो ।

मधेसमा धेरै राज्य या प्रदेश बनायो भने पहाडियाहरुको केन्द्रीय राज्यसत्तामा कब्जा हुन्छ, त्यसो भएन भने तराईमा मधेसीहरुको कब्जा हुन्छ । प्रत्यक्ष निर्वाचित राष्ट्पति भन्यो भने त्यसमा एमाले र कांग्रेसलाई अप्ठ्यारो हुन्छ । एमाओवादीको अझै पनि प्रत्यक्ष निर्वाचनबाट राष्ट्पति हुने आशा मरेको छैन । संसदीय प्रणालीसँग कांग्रेसको ठूलो मोह छ । एमाओवादीलाई साइजमा ल्याउन एमाले पनि उतैतिर ढल्केको छ । मधेस र जनजातिको मन जित्नभन्दा पनि उनीहरुलाई टाढै राख्दा एमाले र कांग्रेसले आफूलाई फाइदा हुने देखेका छन् । पार्टीभन्दा पनि त्यसभित्रका गुट अझ व्यक्तिहरुको अमुक अमुक पेटीस्वार्थले मुलुक समाधानको मैदानतिर हैन, समस्याको अक्करेभिरतिर धकेलिदैछ ।

यही क्रममा मुलुकलाई चक्लावन्दी गर्न रंगीविरंगी प्रस्तावहरु सार्वजनिक भएका छन् । पंक्तिकारको पनि भूगोल र पहिचान भएकाले एउटा प्रस्तावसँग साइनो गाँसिनु स्वभाविक हो । पूर्व ताप्लेजुंग भूगोल भएको यो स्तम्भकार अब या त लिम्वुवानमा या कोशी राज्यमा पर्ने लगभग निश्चित छ । भूगोलमा बाँड्नेले मलाई कोशीमा हाल्दैछन् भने मान्छे बाँड्नेले मलाई लिम्वुवानमा हाल्दैछन् ।

मेरो यो दुबै प्रस्तावप्र्रति प्रष्ट असहमति छ । पहिला मान्छे बाँड्नेहरुसँग कुरा गरौं । अहिले उनीहरुले भनेको लिम्वुवानसँग मान्छेको मात्र कुरा गर्ने हो भने त्यो सोझै अल्पमतमा छ । प्रजातन्त्रको कुरा गर्नेले अल्पमतको निर्णय लाद्न मिल्दैन । यस अर्थमा त्यो नामको राज्यले त्यस क्षेत्रका बहुसंख्यक मान्छेको पहिचानलाई अस्वीकार गर्छ । अल्पमतको पहिचानका लागि बहुमतको पहिचान मेटाउने कुरा प्रजातान्त्रिक हुने कुरै भएन । हो, संस्कार, संस्कृति र थातथलोसँग जोड्ने हो भने लिम्वू रहनसहन, संस्कृतिसँग यस भेगको गहिरो सम्वन्ध छ । तर, अहिलेको मासिफिकेसन र ग्लोबलाइजेसनको चरम प्रवाहमा हामी त्यसलाई यस्तो ग्लोकलाइजेसनको भुत्ते औजारले थेग्न सक्छौं ? प्रश्न यो हो । हो, यसलाई जात हैन, संस्कार र पहिचानसँगै जोड्ने हो श्रीजंगा नाम गरेको राज्य मोडरेट लाग्न सक्छ । यसले नेपालको एउटा प्राचीन लिपि बोक्छ र त्यससँगै त्यस थातथलोको लिम्वू संस्कारको साइनोले पनि निरन्तरता पाउँछ ।

अब भूगोलको नामले कित्ता काट्नेहरुसँग कुरा गरौं । अहिले उनीहरु मेरो थातथलोलाई कोशी नाम दिने उपक्रममा छन् । अहिले मुलुकका १४ अञ्चलमध्ये एक हो कोशी । यसको हैसियत भनेको अहिलेको मेरो अञ्चल मेची जत्तिकै मात्र हो । हो, नदीमा पानी बग्ने कुरा गर्दा मेरो मेचीभन्दा कोशीमा केही बढी क्युसेक पानी बग्छ । तर, अब यो पानी बग्ने कुरासँग भन्दा पनि अञ्चलको नामसँग सम्वन्धित भयो । यसो गर्दा, मेची र कोशीको हैसियत एउटै हो । तर, अब समान हैसियत भएको कोशी राज्य हुने अनि मेरो मेरो मेचीचाँहि इतिहासको पन्नामा सीमित हुँदै एउटा नदीको नाम मात्र हुने, यो कसरी न्यायोचित हुन्छ ? यस्तै समान हैसियत भएका केही अञ्चलको नामोनिशान नरहने र कुनैचाँहि राज्य हुने कुरा छ, यसले मानिसको भावनालाई जोड्न सक्दैन । बरु, न कोशी न मेची दुबैको नाम हटाएर एउटा नयाँ नाम कञ्चनजंगा प्रस्तावित हुनसक्छ । यसो गर्दा विश्वको तेस्रो अग्लो हिमशिखर रहेको राज्यका रुपमा यसले नयाँ पहिचान पाउनसक्छ । सबैका लागि नयाँ नाम हुँदा कसैले गुमाएको र कसैले जोगाएको भन्ने पनि हुँदैन ।

फेरि हामी केन्द्रीकृत शासनप्रणालीको विरोध मात्र गर्दैर्नौ, प्रजातन्त्रको दुहाई पनि दिन पनि छोड्दैनौं । तर, राज्यको नाम राख्ने कुरामा चाँहि फेरि हामी काठमाडौमै बसेर सहीछाप गरिदिन्छौं, यो कसरी प्रजातान्त्रिक हुन्छ ? त्यसका लागि केही प्रस्तावित नामहरु हुनसक्छन्, त्यो क्षेत्रमा निश्चित मत ल्याएका दलहरुले प्रस्ताव गरे हुन्छ । ती नाममा जनमत गराउने अनि निर्णय गर्ने, यही नै प्रजातन्त्र हो । त्यसपछि बहुमतको निर्णयलाई मान्नुपर्ने हुन्छ । यसो गर्यो भने मात्र त्यसले सबैको भावनामाथि न्याय गर्न सक्छ ।

राज्यको नाम राख्दा ध्यानदिनुपर्ने अर्को पक्ष पनि छ । मानौ, जातीय आधारमा पूर्वको नाम लिम्वुवान राखियो रे । यसबाट आम मानिसमा एउटा मनोविज्ञान सिर्जना हुन्छ, कतिपय अतिवादी लिम्वूहरुलाई लाग्न सक्छ हामीले जित्यौ, बाँकीलाई लाग्नसक्छ, हामीले हार्यौं । त्यसपछि अतिवादीहरुको हैकम चल्दा उनीहरुले अन्य जातका मानिसलाई त्यहाँ रहने वातावरण नै दिदैनन् । अन्य जातिकालाई पनि आफू एक्काइसौ शताव्दीमा पनि कुनै जात विशेषको राज्यमा बस्नुभन्दा बरु थातथलो छोडेर जानु नै ठीक हो भन्ने लाग्न थाल्छ । यसले मान्छेको मन दुखेर बसाइ सर्ने प्रवृतिमा बढोत्तरी हुन्छ । जसले गर्दा, पूर्वी पहाड यसै पनि बसाइ सर्ने नाममा वदनाम छ, यो क्रम अरु बढेर विकासको ब्याकगियर चल्ने स्थितिमा पुग्छ । यो क्रम बढ्दै जाँदा भेडा भेडासँग बाख्रा बाख्रासँग भनेझैं यो क्षेत्र नै लिम्बूहरु मात्र बस्ने क्षेत्रका रुपमा विकास हुन्छ । के हामीले प्रकारान्तरमा चाहेको यस्तै राज्य र समाज हो ? यस्तो चालाले हामी २१औं शदिको भूमण्डलीयकरणको प्रभावलाई थेग्न सक्दैनौ ।

कुरा कुनै जातविशेषको मात्र हैन, कुनै अञ्चलको नाम थोपरेर राज्य बनाए पनि यो मनोविज्ञानले काम नगर्ने भन्ने हुँदैन । राज्यको नाम राख्ने सन्दर्भमा त्यसतिर पनि गम्भीररुपले सोच्नुपर्ने हुन्छ । न्वारानका दिन पण्डितले यो घडी पलामा जन्मेको रहेछ, त्यसैले यसको नाम फलानो अक्षरबाट उठ्छ, त्यसैले यसको नाम फलानो राखौं भनेजस्तो हैन यो । प्रश्न हामीले एक थान नाम राखेर राज्य बनाइदिने संविधान मात्र चाहेका पनि हैनौ, हामीले त मुलुकका सबै मानिसहरुको भावनाको सम्मान गर्ने दस्तावेज चाहेका हौं । नाम राख्ने पण्डितहरुले यो कोणबाट पनि विचार मन्थन गर्न जरुरी छ ।

सन्दर्भ आफ्नो थातथलोको भए पनि मुलुकका अधिकांश थातथलोसँग यस्तै समस्या छ । धवलागिरी अञ्चलबासीले गण्डकी नामको अर्को अञ्चलको नाममा रहेको राज्यमा जानु पनि उस्तै कुरा हो । मासिफिकेसनसँग लडेर स्वअस्तित्व जोगाउनुपर्ने अहिलेको तड्कारो अवस्थामा कोही पनि त्यति सजिलै स्वपरिचय गुमाउन चाहदैन । यही पृष्ठभूमीमा न म मेरो मेची अञ्चलको लाशमाथि कोशी नामको अर्को अञ्चलको नाममा बन्ने राज्यसँग सती जान सक्छु, न २१ औं शताव्दीमा पनि कविला राज्यप्रणालीको अनुशरण गर्दै कुनै लिम्बूवान राज्यको नागरिक हुन नै मञ्जुर छु । मेरो लागि जातीय पहिचान भए श्रीजंगा र भौगोलिक पहिचान भए कञ्चनजंगा दुबै मञ्जुर छ । आगे उनीहरु नै जानुन् ।