३० आश्विन २०८३, शुक्रबार

मोदी, ओली र भट्टराईलाई लुईटेल स्कुलको खुलापत्र

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-प्रकाश न्यौपाने

भारतीय प्राधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुई दिने नेपालको राजकीय भ्रमणमा फेरि पनि आश्वासनका पोका बाँड्नु हुनेछ भने हामी नेपाली त्यही आश्वासनका पोका हेर्दै मख्ख बन्ने छौँ । आहारा खाने चरी आशिसको भरमा कति बाँच्ला मोदी जी ? मोदी जीले दिएका धेरै आश्वासनका पोकाका बारेमा म लेख्न गइरहेको छैन । त्यो लेखे भने त महाकवी देवकोटाको महाकाव्य बन्नेछ । महाकाव्य लेख्ने मेरो हैसियत छैन । म एउटा मात्र उदाहरण दिन चाहान्छु ।

भुकम्पको चार वर्ष, भारतीय सरकारले बनाउँछु भनेका विद्यालय किन अलपत्र प्रधानमन्त्री मोदी ज्यू ?

भुकम्पले नेपाल थलिएको बेला भारतीय सरकारले नेपालका १०० वटा विद्यालयहरु पुनर्निर्माण गर्ने सम्झौता भयो । त्यसमध्ये धेरै जसो विद्यालयहरु ऊ आफैले छान्यो । उसले पुनर्निर्माणको लागि एक नम्बरमा छानेको विद्यालय हो अमरज्योती जनता मा.वि. लुईटेल । नेपालको एउटा चर्चित लुईटेल स्कुल अलपत्रमा परेको छ । पालुङटारका जनताले उखान बनाएका छन् ‘भुकम्प गएको चार वर्ष, भारती सरकारले बनाउछु भनेको लुईटेल स्कुल अलपत्र ।’

सबैलाई थाहा छ, यस विद्यालयबाट विद्यार्थीहरु एसएलसीमा बोर्ड फस्ट हुन्थे । अहिलेपनि विद्यालयको गुणस्थर नराम्रो छैन । यही विद्यालयका विद्यार्थी देशका प्रधानमन्त्री भए, मन्त्री भए । देशको समग्र योजना बनाउने योजना आयोगका उपाध्यक्ष भए, सदस्य भए । विश्वमा ख्याती प्राप्त डाक्टर, ईन्जिनियर र अफिसर भए । अहिले पनि यसै स्कुलका पूर्व विद्यार्थीहरु मेयर छन्, प्रदेशका सांसद छन् , संघीय संसदका सांसद छन्, राष्ट्रिय सभाका सांसद पनि छन् । तर, विद्यालय उस्तै छ । धेरै बिराला भएर मुसा नमरेको हो कि, भारतीय सरकारको ध्यान आकर्षण गर्न नसकेर हो विद्यालय पुनर्निर्माण हुन सकेको छैन ।

होटल द्वारिकाजमा हुने दुई प्रधानमन्त्रीहरुको वान टु वान वार्तामा भारत सरकारले बनाउँछु भनेका विद्यालयहरु चार वर्ष लाग्दापनि किन बनेनन् भनेर मोदी ज्यू लाई प्रश्न गर्न सक्नु हुन्छ ओली ज्यू ?

भुकम्प पहिला छात्रावास र शिक्षक आवास सहित ४२ वटा कक्षाकोठा रहेको यो आवासिय विद्यालय भुकम्प पछि पुरै ध्वास्त छ । टीएलसीमा विद्यार्थीहरुले पढेको चार वर्ष भैसक्यो अव टीएलसीको आयु पनि सकियो । अब यी विद्यार्थीहरुलाई कहाँ लैजाने ? कसरी पढाउने ? हुलाक जस्तो सरकारी कार्यलय भएको भए कसैको घरको एउटा कोठा लिएर चल्थ्यो । लगभग ७०० विद्यार्थी एउटा कोठामा अटाउदैनन् होला !

भारतीय प्रधानमन्त्री ज्यू तपाई नेपाल भ्रमणमा आउँदा, तपाईको सरकारको आश्वासन पाएर पनि भताभुङ्ग भएको यो सरस्वतीको मन्दिरमा आउन तपाइलाई फुर्सद हुँदैन । किनकि, तपाईले अरु धेरै मन्दिरहरु घुम्नु छ । भारतीय दुतावासका रातदूत र अधिकृतहरुले करिब आधा दर्जन पटक यो विद्यालय निरीक्षण गरिसकेका छन् । एकपटक उनीहरुलाई सोधिदिनु भयो भने हामीलाई जस्तै एक डेढ महिनामा काम सुरु हुन्छ भन्ने नेपालमा रहेको भारतीय दुतावासको थेगो तपाईले नि सुन्न पाउनुहुन्थ्यो । मैले पत्रिमा पढेको छु भारतीय प्रधानमन्त्री ज्यूले नेपालका भुतपूर्व प्रधानमन्त्री ज्यूहरुलाई पनि भेट्ने कार्यक्रम छ अरे । अरु १०० विद्यालय त बनेनन् तर भूपू प्रधानमन्त्री आफै पढेको स्कुल किन बनेन ? यस विद्यालयका भूतपूर्व विद्यार्थीले भूपू प्रधानमन्त्रीको हैसियतले यो प्रश्न गर्न सक्नुहुन्छ ?

म नेपाली उखान जस्ताको तस्तै लेख्दिन तर, यसको आशय मार्फत एउटा प्रश्न गर्न चाहन्छु ‘बुढो गोरुसँग बहर गोरु डराउँछ भन्दैमा गाईलाई सधैं थारो राख्न मिल्छ कि मिल्दैन ?’ नेपाल सरकारले यातायातमा रहेको सिन्डिकेट त हटायो तर, भारतीय सरकारले विद्यालय पुनर्निर्माणमा लगाएको सिन्डिकेट हटाउन सक्ने हिम्मत गर्न सक्छ ? जाइका लगायत अन्य दातृ राष्ट्रले बनाउने भनेका विद्यालयहरु निर्माण सम्पन्न भएर उद्घाटन समेत भइसके । तर, भारत सरकारले बनाउने भनेका विद्यालयहरुको कामै सुरु भएको छैन । भारत सरकारले बनाउने भनेका विद्यालय बनाउने कि नबनाउने ? ‘एस’ नि ‘नो’ जवाफ चाहियो । एक डेढ महिनाको थेगो हैन ।

होटल द्धारिकाजमा मोदी सँग भेट्दा मैले पढेको विद्यालय किन बन्न सकेन भनेर भूतपूर्व प्रधानमन्त्रीको हैसियतले मोदीलाई प्रश्न गर्न सक्नुहुन्छ डा. भट्टराई ज्यू ?

मोदी जी दुई दिन नेपाल बस्दा दुई मिनेट भारत सरकारले बनाउने भनेका १०० वटा विद्यालय त्यसमा पनि एक नम्बरमा आफैले छानेको लुईटेल स्कुलको अवस्थाको बारेमा जानकारी लिन सक्नु हुन्छ त ? प्रधानमन्त्री ओली र मोदी जीको वान टु वान वार्तामा १०० वटा विद्यालय किन बनाउनु भएन भनेर ओली ज्यूले प्रश्न गर्न सक्नु हुन्छ ? द्वारिकाज होटलमा मोदीसँग नेपालका पूर्व प्रधानमन्त्रीले भेट वार्ता गर्दा तपाईले बनाउने भनेको मैले नै पढेको विद्यालय किन चार वर्ष सम्म पुनर्निर्माणको काम सुरु हुन सकेन भनेर पूर्व प्रधानमन्त्री ज्यूले भन्न सक्नु हुन्छ ? यदी भन्न सक्नु भएन भने मोदीको भ्रमण कागलाई वेल पाक्यो हर्ष न विस्मात् भनेजस्तै हुनेछ नेपाली जनताका लागि ।

अन्त्यमा, मोदी जी अति भए पछि खति हुन्छ । नपत्याउने खोलाले पनि बगाउाछ वा बगर बाछोले पनि एक दिन होक्रा गर्दै सिगौरी खेल्दै बुढो गोरुलाई ढ्याक हान्न जान सक्छ वा तपाईका आश्वासनका पोकाको विरुद्ध नेपालमा पनि अन्ना हजारे जन्मन सक्छ । बेलैमा चेतना भया ।

–लेखक अमरज्योती जनता मा.वि. लुईटेलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन् ।