३० आश्विन २०८३, शुक्रबार

जीवनको उत्तरार्धमा भगवान पर्खिरहेका माईला बा

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-वि.वि. श्रेष्ठ

झुस्स परेको फुलेको दाह्री, चाउरिएको निधारमा लत्पतिएको सेतो कपाल । माईला बा, जीवनका उत्तरार्धमा ईश्वरको शरणमा पुग्ने मनस्थिति । उनै माईला बा, जुन जीवनको यौवनवस्थामा भारतको नीजि बैंकमा २० वर्षसम्म गार्डको रुपमा कार्य गरे । तर, पेन्सन उपलब्धतामा विभिन्न बहाना खोजेको बैंकले उ बेलामा दिएको दुःख र कम पारिश्रमिकको झोकमा पेन्सन तथा अन्य सेवा सुविधा पनि नलिएका माईला बा जीवनको गोरेटोसँगै तनहुँको व्यास नगरपालिका वडा नं. ५ मा महिलाहरुद्धारा संचालित वेदव्यास जेष्ठ नागरिक वृद्धाश्रममा जीवनका अन्तिम पलहरु पर्खिरहेका छन् । अन्य सहयोद्धा, जुन परिवार र समाजबाट अपहेलित भएर वृद्धाश्रममा नै बाँकी दिनहरु गन्ति गरिरहेका छन्–त्यहि भीडमा माईला बा पनि रम्न अभ्यस्त बनिरहेका छन् । जुन रहर नभई बाध्यता बनेको छ ।

मासिक ११०० रुपैयाँमा गार्डको काम गरेका उनले २० वर्षको उर्वर उमेर भारतमा नै बिताए । उमेर ढल्कदै गएपछि जागिरबाट हात धोएका माईला बाले बैंकको झन्झट र दिएको दुःखका कारण पेन्सन नै छाडिदिए ।

माईला बा उर्फ जगत बहादुर अधिकारी । तनहुँ जिल्लाको साविक मुलपानी गाविसमा जन्मेका माईला बा ८३ वर्षमा तौरिरहेका भेटिए । स्वास्थ्य स्थितिका कारण हिडडुल गर्न गाह्रो हुने माईला बा सक्दासम्म हिडडुल र उठेर बस्न सक्दैनन् । आँखा धमिलो देख्ने उनी बोल्नमा भने टाठो छन् । कान कम सुन्ने माईला बा समान्य परिवारमा जन्मे । कृषक पेशामा आवद्ध बुवा–आमाको माईलो छोराको रुपमा जन्मिएका माईला बा त्यसबेलामा पढ्ने स्कुल नहुदाँ औपचारिक शिक्षा लिन पाएनन् ।

अभाव र गरिबीसँगै हुर्किएका माईला बा उमेरमा नै रोजगारीको सिलसिलामा भारत हान्निए । भारतको नागपुरमा रोजगारीको सिलसिलामा पुगेका माईला बा केहि समयमा नै भारतको प्राईभेट बैंकमा सेक्युरिटी गार्डमा काम पाए । मासिक ११०० रुपैयाँमा गार्डको काम गरेका उनले २० वर्षको उर्वर उमेर भारतमा नै बिताए । उमेर ढल्कदै गएपछि जागिरबाट हात धोएका माईला बाले बैंकको झन्झट र दिएको दुःखका कारण पेन्सन नै छाडिदिए । उ बेलामा बैंकमा जागिर खाँदा गाउँमा वाहवाही कमाएका माईला बा आफनो पीडा भने अन्यलाई थाहा नभएको बताउँछन् । उमेरमा नै विहे गरेता पनि पारिवारिक सम्वन्ध सुमधुर हुन नसकेका उनको परिवारले छोडेर गएको तीता अनुभव धेरै छन्, माईला बा उर्फ जगत बहादुर अधिकारीसँग ।

अनुभवलाई बताउँदा हौसिएका माईला बाले जीवनका उत्तरार्धमा कुनै पनि ईच्छा, चाहना नभएको र बाँकी समय ईश्वरका नाम हरे राम, हरे कृष्ण जपेर लीन हुने बताउँछन् ।

विगतका अनुभव सम्झने क्रममा घरिघरि रसिक भएका माईला बा धेरै प्रश्नहरुमा भने घोत्लिए । चाउरिएको गाला र आँखी भौँ लोत्तिएका आँखाका भावले उनले व्यक्त गर्न नसकेको अनुभवहरु बताईरहेको थियो । बाल्यकालमा बुवाले पण्डित पढाएको भएता पनि पण्डित्याई नगरेका माईला बा भारतवाट फर्केर आएपछि भने गाउँले तथा आफन्तको आग्रहमा अनौपचारिक शिक्षा दिएको स्मरण ताजै भएको बताउँछन् । उमेरसँगै एक्लो अनुभूति गरेको उनले दाजु र भाईको मृत्यृपछि झन विरक्त लागेर गाउँ छाडेको बताए । आश्रममा आएर ५ वर्षदेखि आश्रित बनेका उनी दाजु भाईका नाति नातिनी र अझै पनि एउटा भाउजु भएता पनि कोईपनि भेट्न नआएको दुःखेसो गर्छन् । अनुभवलाई बताउँदा हौसिएका माईला बाले जीवनका उत्तरार्धमा कुनै पनि ईच्छा, चाहना नभएको र बाँकी समय ईश्वरका नाम हरे राम, हरे कृष्ण जपेर लीन हुने बताउँछन् ।

एकल जीवनका तीतो अनुभवको अथाहा भारी बोकेका माईला बाका ती तिता घटनाक्रमको अनगिन्ती पानाहरु रहेका छन् । एकलतामा समाजको हेर्ने दृष्टिकोण, गर्ने व्यवहारले आजित माईला बाले जीवनका उत्तरार्धमा कसैलाई पनि दोष नलगाउने बताए । साँच्चै जीवन यति धेरै निरसताले सम्हालिन नसक्ने बताएका उनले आफनो बुवा आामाको पैतृक सम्पति दाजु भाईका नाममा नामसारी गरिदिएको जनाए । साँच्चै म एक्लोलाई सम्पति किन ? यहि प्रश्न अनुत्तरित बनिरह्यो । एकल हुनुपर्दाको धेरै अत्यारिलो समय व्यतित गरेका माईला बा यसलाई पनि ईश्वरको वरदान भएको स्वीकार्छन् ।

‘के गर्नु पारिवारिक देह भोग गरेकाहरुको अनुभव सुन्दा पनि लाग्दछ, जीवन नै सबै भोगको श्रृंखला रहेछ । र, चिन्ता नै एउटा रोग रहेछ । जो मान्छे चिन्ता लिन्छ, उसले जटिल रोग निम्त्याईरहेको हुन्छ’

अन्य विभिन्न क्षेत्रबाट समाजमा अपहेलित र पारिवारिक तिरस्कारबाट आश्रममा आएका अन्य सहयात्रीसँगको अनुभव आदानप्रदान नै माईला बाका लागि ओखती बनेका छन् । ‘के गर्नु पारिवारिक देह भोग गरेकाहरुको अनुभव सुन्दा पनि लाग्दछ, जीवन नै सबै भोगको श्रृंखला रहेछ । र, चिन्ता नै एउटा रोग रहेछ । जो मान्छे चिन्ता लिन्छ, उसले जटिल रोग निम्त्याईरहेको हुन्छ’, माईला बाको यो भनाईले सोच्न बाध्य बनायो । उमेरको उत्तरार्ध र अनुभव सँगै माईला बाको यो भनाईमा धेरै सत्यता पाउन सकिन्छ । आखिर चिन्ता के का लागि ? घोत्लिन बाध्य बनायो । नाङ्गै आएको नाङ्गै जाने यो यथार्थतालाई हामी मनन गर्ने कहिले ? मनभरि माईला बाका यो प्रश्नले मनै गह्रुङो हुँदै रातको त्यो सामिप्यतमा सोच्न अभ्यस्त बने ।

पात्र फेरिए, प्रवृत्ति फेरिएन । वृद्धाश्रममा बाँकी जीवन ईश्वरका नाममा समर्पित रहि भगवानको काखमा जान आतुर आमाबुवाहरुका सन्तानहरु कहाँ र के गर्दै होलान् ? बुवा र आमाका मुख हेर्ने दिनमा सुहाई नसुहाई आमा बुवाको तस्विर पोष्ट गर्नेहरुको कर्तुतले साँच्चै लज्जाबोध बनायो ।