७ कार्तिक २०८३, शनिबार

विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन र अनुसन्धान केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala12काठमाडौँ, १४ पुस । प्रधानमन्त्री सुशील कोइरालाले नेपालका विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन र अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको कुपलतिका रुपमा सोमबार ४०औँ दीक्षान्त समारोहको अध्यक्षता गर्दै उहाँले समयसापेक्ष रुपमा विश्वका उत्कृष्ट विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्ने किसिमको शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो ।

विश्वविद्यालय शैक्षिक पात्रो कार्यान्वयनमा सफल नदेखिएको आँैल्याउँदै उहाँले कुशल जनशक्ति तयार पार्ने विश्वविद्यालयहरुमा देखिएको सुशासनको अभाव वर्तमानमा चिन्ताको विषय बनेको छ भन्नुभयो ।

समारोहमा दीक्षित बनेकाहरुलाई बधाई तथा शुभकामना दिँदै  प्रधानमन्त्री कोइरालाले प्राप्त गरेको शिक्षा मुलुक र जनताको सर्वोपरि हितमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

पछिल्ला समयमा त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षाका लागि गरेका प्रयत्नप्रति लक्ष्य गर्दै उहाँले भन्नुभयो, ‘विश्वविद्यालयले समयसापेक्ष पाठ्यक्रम र शिक्षणविधि तयार पारी शैक्षिक कार्यक्रमलाई नयाँ आयाम दिन गरेको प्रयत्नलाई मैले सकारात्मक ठानेको छु ।’

गुणस्तरीय शिक्षा प्रदान गर्न र त्रिविविलाई केन्द्रीय विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न सरकारको सधैँ सहयोग रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

उक्त अवसरमा प्रधानमन्त्री कोइरालाले विभिन्न विषयमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहमा उपाधि प्राप्त गर्ने सात हजार ९३८ विद्यार्थीलाई उपाधि प्रधान गर्नुभएको थियो ।

चाङवोन नेसनल युनिभर्सिटी कोरियाका प्रा.डा. क्यान ग्यु लीले नेपालको शैक्षिक विकासमा त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

समयसापेक्ष रुपमा त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने र आगामी दिनमा यहाँ शैक्षिक विकास अपेक्षित रुपमा अघि बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

शिक्षामन्त्री एवम् विश्वविद्यालयकी सहकुलपति चित्रलेखा यादवले देशको उच्च शिक्षाको ९० प्रतिशतभन्दा बढी भार बोकेको त्रिभुवन विश्वविद्यालयले परिवर्तित मागलाई सम्बोधन गर्दै आफूलाई उत्कृष्ट अध्ययन केन्द्रका रुपमा विकास गर्न सक्नुपर्ने बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनले विश्वविद्यालयको शैक्षिक गुणस्तरीयताका लागि गत वर्षदेखि विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट सेमेस्टर प्रणाली सुरु गरिएको जानकारी गराउनुभयो ।

उहाँका अनुसार त्रिविविले संसारका विभिन्न १५० भन्दा बढी विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग शैक्षिक, भौतिक, प्राज्ञिक र मानव संशाधन सहयोग आदानप्रदानका लागि हस्ताक्षर गरिसकेको छ । रासस