
काठमाडौँ, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो गरेको एउटा ट्वीटले राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ । एमाले र माओवादीबीच विगत आठ महिनादेखि जारी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको चर्चा चलेका बेला ओलीको ट्वीटले दुवै दलका कार्यकर्ता झस्किएका छन् । यद्यपी, ओलीले त्यो ट्वीट कोप्रति लक्षित गरेका हुन् भन्ने केही खुलाएका छैनन् ।
ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका छौं । आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।’
हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ।लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ।किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।
— K P Sharma Oli (@kpsharmaoli) May 7, 2018
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय राजदूत मञ्विसिंह पुरीसँग रहस्यमय भेटवार्ता गरेको समाचार सोमबारमात्रै सार्वजनिक भएको थियो । एमालेसँग एकताको चरणमा रहेका प्रचण्डले विगत केही समययता फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईसँग पनि भेटघाट गरिरहेका छन् ।
केही समय चितवन पुगेका बेला उनले आफूले जतिबेला पनि छलाङ मार्ने आशयको कुरा गरेका थिए । तर, पछिल्लो समय ओली र प्रचण्डबीचको वार्ता निकै सकारात्मक भएकोले ओलीको ट्वीट उनीप्रति लक्षित हो भन्न सक्ने अवस्था छैन । प्रचण्डले राखेका मागमा भद्र सहमति परेका ओली उनीसामु गलेका जस्ता देखिन्छन् । पार्टी नेताहरुसँगको एउटा छलफलमा ओलीले भनेका थिए, ‘प्रचण्डले साह्रै बार्गेनिङ गर्न थाले, यो चाहियो, त्यो चाहियो भन्छन् । तरपनि एकता गर्नैपर्यो ।’
यसबीचमा प्रचण्डले वृहत ध्रुबीकरणको चर्चा गरे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले सरकार ढाल्ने सम्मको चेतावनी दिन थालेका छन् । अघिल्लो पटक प्रधानमन्त्री हुँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँग मिलेर ओली सरकार ढालेका थिए । प्रधानमन्त्री हुँदा भएको भद्र सहमति नमानेको भन्दै काँग्रेससँग मिलेर प्रचण्ड प्रधानमन्त्री भएका थिए ।
ओलीले त्यतिवेला प्रचण्ड सरकार भारतको इसारामा बनेको लम्पसारवादी सरकार भएको आरोप लगाएका थिए । स्थानीय निर्वाचनमा काँग्रेससँग गठबन्धन गरेका प्रचण्ड प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने एमालेसँग गठनबन्धन गर्न आइपुगेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आएको ओलीको ट्वीटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।















प्रतिक्रिया