
काठमाडौं, १९ वैशाख । अकास्मात् विरामी भएपछि बेलायतको किङ्स कलेज अस्पतालमा भर्ना भएका थिए, डाक्टर उपेन्द्र देवकोटा । ५ महिनासम्मको उपचार सकेपछि नेपालै फर्किएका देवकोटा अहिले आफ्नै अस्पतालको बेडमा छन् ।
नेपालका अब्बल न्युरो सर्जन देवकोटाले बाँसबारीमा न्युरो अस्पताल खोलेका थिए । उनको स्वास्थ्यस्थिति स्थिर रहेको अस्पतालले जनाएको छ । तर देवकोटाको रोग के हो ? यसबारेमा न अस्पतालले खुलाएको छ न उनका परिवारले । पत्नी डा. मधु दिक्षीतले पनि देवकोटाको रोगबारे केही बोलेकी छैनन् ।
‘उपचारका क्रममा उहाँले नेपाल नै जाने भनेपछि यहाँ ल्याइएको हो । इच्छाअनुसारै अस्पतालमा राखेका छौं’, पारिवारिक स्रोतले भन्यो,‘अहिले केही आराम छ । अस्पतालमा नै आराम गरिरहनु भएको छ ।’
उपेन्द्रको स्वास्थ्य स्थिति कमजोर नै रहेको संकेतहरू देखिइसकेका छन् । केही सुधार भएको बताइन्छ । उनको अवस्था बुझ्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाँसबारी अस्पतालमै पुगे । १० मिनेट बुझे र फर्किए । प्रचण्डले पनि देवकोटाको स्वास्थ्यबारेमा केही खुलाएका छैनन् ।
उनको स्वास्थ्य अवस्थाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जानकारी लिने भएका छन् । ओली सचिवालयका अनुसार प्रधानमन्त्रीले डा. देवकोटाको स्वास्थ्यका बारेमा चासो देखाएका छन् ।
देवकोटालाई गत शनिवार नेपाल ल्याइयो । आए देखि उनी अस्पतालमा छन् । देवकोटासँगको भेट कडाई गरिएको छ ।
नेपाल चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा न्युरोलोजिकल ट्रमा स्थापित गर्ने डा. देवकोटालाई के भएको हो ? उनका परिवारले स्वास्थ्य सुधारको कामना गर्दै केही समयअघि पुजा समेत गरेका थिए ।
गोरखामा जन्मिएका डा. देवकोटा ६४ वर्ष पुगेका छन् । देवकोटा नेपालमा स्वास्थ्य मन्त्री पनि बनिसकेका छन् । खासमा उहाँलाई भएको के हो ? यसबारे जानकारी दिन मिल्दैन ? दैनिक नेपालको प्रश्नमा अस्पताल प्रशासनले भन्यो,‘हामीलाई जवाफ दिने अधिकार छैन । तर उहाँको स्वास्थ्यमा क्रमिक सुधार भएको र आरामको खाँचो रहेको छ ।’















प्रतिक्रिया