काठमाडौं, १९ वैशाख । काठमाडौंको दरबारमार्गमा रहेको एउटा डान्स क्लवमा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मोहनबहादुर जिसीको छोरा दिनेश जिसी र सिन्धुपाल्चोकका अर्जुन तामाङ समूहबीच हातहालाहाल भएको छ ।
मंगलबार मध्यराति जन्मदिनको पार्टी दिन आफ्ना साथीहरूको समूह लिएर दरबारमार्गस्थित ‘भिक्ट्री’ क्लव पुगेका दिनेश जिसी र सिन्धुपाल्चोक घर भएका अर्जुन तामाङ समूहबीच नाच्ने क्रममा विवाद भएको थियो । दुबै समूहले रक्सी पिएर मात्तिएका थिए । ‘भिक्ट्री’ क्लवका एक प्रत्यक्षदर्शीका अनुसार दुबै समूहबीच नाच्ने विषयमा विवाद हुँदा दिनेश जिसीले ‘मेरो बुबा सिडिओ हो, ठेगान लगाइदिन्छु’ भनेर पावर देखाएका थिए । त्यसपछि पावर देखा भन्दै अर्जुन तामाङ समूहले आक्रमण गरेको थियो ।
क्लवभित्र त्यहाँका बाउन्सरहरूले झगडा हुन दिएनन् । तर, दिनेश जिसी समूहको धम्कीबाट अपमान भएको महसुस गरेको अर्जुन तामाङ समूहले मंगलबार बिहान १ बजे पछ्याउँदै गएर हात्तिसारमा कुटपिट गरेको थियो । त्यस क्रममा दुबै समूहबीच ठूलै झडप भएको थियो । झडपका क्रममा अर्जुन तामाङ समूहले दिनेश जिसी समूहमाथि छुरा प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ ।
दिनेश जिसीले सातजना साथीहरूलाई साथमा लिएर जन्मदिनको पार्टी मनाउन दलबलसहित ‘भिक्ट्री’ क्लव पुगेका थिए । झगडा र मदिरा सेवन गर्ने दिनेश समूहलाई सिडियो मोहनबहादुर जिसीको दवावमा छाडिएको पीडित पक्षको भनाइ छ । ‘झगडामा दुबै समूहको उत्तिकै दोष छ । दुबै समूहले रक्सी पिएका थिए’, अर्जुन तामाङ समूहका एकजनाले भने, ‘हामीलाई मात्रै पक्राउ गरियो । दिनेश जिसी समूहलाई छाडिएको छ ।’
जिसी समूहलाई छुरा प्रहार गरेको अभियोगमा दरबारमार्ग प्रहरीले सिन्धुपाल्चोकका अर्जुन तामाङ, काभ्रेका संजय श्रेष्ठ, काठमाडौंका राहुल घिमिरे, सिन्धुपाल्चोकका समुन्द्र गुरुङ, सिन्धुपाल्चोककै विराट गुरुङ, सोलुखुम्बुका नुरु शेर्पा र सिन्धुपाल्चोकका विपिन कोइरालालाई पक्राउ गरेको छ । पक्राउ परेको समूहबाट प्रहरीले छुरा पनि बरामद गरेको छ ।
झडपका क्रममा दिनेश जिसी समूहका प्रजिन राई, विपिन पौडेल, समिरविक्रम थापा र राजाराम घिमिरे घाइते भएका छन् । सिडिओ जिसीका छोरा दिनेश जिसी भने सकुशल रहेका छन् । मध्यारात मदिरा पिएर क्लव चाहर्दै हिँड्ने धुन्धुकारी छोरालाई बचाउन ताप्लेजुङका सिडिओ मोहनबहादुर जिसीले दरबारमार्गका प्रमुख डिएसपी दानबहादुर मल्ललाई फोनमा दवाव दिएका छन् । प्रहरी स्रोतले भन्यो, ‘सिडियो सापले फोन गरेर छुरा प्रहार गर्ने समूहलाई कारबाही गर्न दवाव दिनुभएको छ ।’
डिएसपी मल्लले दरबारमार्गको कमाण्ड लिएपछि बेलाबेला झडप र गुन्डागर्दीका घटनाहरू हुँदै आएका छन् । यसअघि पनि डान्स क्लव, डिस्को र रेस्टुरेण्टहरूमा कुटपिट तथा झडप भइसकेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अंगरक्षकका रुपमा डिएसपी मल्लले लामो समय काम गरेका थिए । प्रचण्डकै जोडबलमा डिएसपी मल्लले दरबारमार्ग प्रहरीको जिम्मेवारी पाएका हुन् ।















प्रतिक्रिया