२९ आश्विन २०८३, बिहिबार

किमको यो शैलीबाट सबै तर्सित, पत्नी झन्…

14.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोल । प्रसंग उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूत चुङ इवी योङ बीचको डिनर वार्तामा भएका कुराकानीको विषय हो ।

प्योङयाङमा दुई नेताबीच अनौपचारिक वार्ता भइरहेका वेला दक्षिण कोरियाली दूतले चुरोट नपिउन किमलाई सल्लाह दिने आँट गरेका थिए, जुन सुन्दा किमका सहयोगीसमेत झसंग भए ।

किम चेन स्मोकर हुन् । गत महिना प्योङयाङ भ्रमणका क्रममा आयोजित डिनर वार्तामा दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख तथा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेष दूत चुङले नेता किमलाई चुरोट पिउने आदत रोक्न सुझाब दिने हिम्मत गरेका थिए ।

उत्तर र दक्षिण कोरियाका विभिन्न सरकारी स्रोतलाई उल्लेख गर्दै जापानी समाचारपत्र आसही सिम्बुनले चुङको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘चुरोट पिउन छोडदिँदा कस्तो होला ? चुरोट तपाईंको स्वास्थ्यका लागि पनि हानिकारक छ ।’

दक्षिणका दूतको सल्लाह सुनेर किमका सहयोगी तथा राष्ट्रिय गुप्तचर निकायका प्रमुख योङ चोलसमेत आफ्ना नेताले के जवाफ फर्काउने हुन् भनेर डराएका थिए । नेता किम आफ्ना स्टाफमाझ सानो कुरामा पनि जंगिने भएकाले चोल त्रसित हुनु स्वाभाविक थियो ।

किमको चुरोट पिउने आदतले उनकी पत्नी री सोल जु पनि दिक्क छिन् । त्यही भएर होला दक्षिणका दूतको सल्लाहले उनी खुसी भइन् । ‘म जहिले पनि किमलाई चुरोट छोड्ने सल्लाह दिन्छु, तर उहाँले सुन्नुहुन्न,’ डिनरमा सहभागी रीले गुनासो गरेकी थिइन् ।

कोरियन टाइम्सका अनुसार कोरियामा उमेरलाई मानिसको दर्जाजस्तै मानिन्छ, जति मानिस पाको हुन्छन्, पदीय हिसाबले पनि वरिष्ठ हुन्छन् । चुङ ७१ वर्षका भए भने किम केवल ३४ वसन्त पार गर्दै छन् ।

कोरियाली सरकारी समाचार संस्था केसिएनएले सार्वजनिक गरेका प्रायः तस्बिरमा किमले ओठमा चुरोट च्यापेर सल्काएको देखिन्छ । अस्पताल, विद्यालय र आणविक परीक्षणस्थलको भ्रमणमा पनि किमको हातमा चुरोट र मुखअगाडि धुवाँको मुस्लो हुन्छ ।

आसही सिम्बुका अनुसार किमकी पत्नीको तत्कालको प्रतिक्रियाले दक्षिणका दूत चोङका अगाडि किमको रिसको पारो तात्न पाएको थिएन । सन् २००७ पछि पहिलोपटक दक्षिण कोरियाको उच्च प्रतिनिधिमण्डल उत्तर पुगेको थियो । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनको विशेष दूत बनेर चुङ उत्तर पुगेका थिए ।