३ कार्तिक २०८३, मंगलबार

प्रचण्ड र कामु प्रधानन्यायाधीश जोशीको गोप्य भेटबारे सरकारको जवाफ आयो

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी नेताहरूको घरदैलोमा गएको भन्ने आरोपको खण्डन गर्दै कानून न्याय तथा संसदीयमामिलामन्त्री शेरबहादुर तामाङले सामान्य भेटघाट र चियापानलाई अन्यथा सोँच्न नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री तामाङले जोशीको भेटघाटलाई राजनीतिक रुपमा नबुझ्न आग्रह गरे । कामु प्रधाननयाधीश जोशीले गत शनिबार साँझ सात बजे पौने घण्टा माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटावर्ता गरेका थिए ।

जोशीले प्रचण्डलाई भेटेर राजनीतिक लबिङ गरेको भन्ने आरोप अस्वीकार गर्दै मन्त्री तामाङले भने, ‘दीपकराज जोशीले प्रचण्डलाई भेटेको कुनै नियुक्ति वा कामका लागि आग्रह गर्नका लागि होइन । सामान्य चियापान मात्रै हुन सक्छ ।’

बाहिर प्रचार गरिएजस्तो नकारात्मक पक्ष केही पनि नरहेको मन्त्री तामाङको दाबी छ । न्यायालयले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्नेमा दुईमत नभएको बताउँदै उनले सामान्य भेटघाटलाई राजीतिक हस्तक्षेपका रुपमा लिन नहुने बताए ।

‘शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्यका सबै अंगहरू जिम्मेवारीपूर्ण तरिकाले चल्नुपर्छ । कसले कसलाई भेट्यो भन्ने कुराले कुनै अर्थ राख्दैन’, उनले भने ।

लोकतान्त्रिक व्यवस्थामा कुनै संस्थाका व्यक्तिले कसैलाई भेट्नै हुँदैन भन्ने खालको सोच राख्न नहुने मन्त्री तामाङको तर्क छ ।