काठमडौं, १२ वैशाख । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले गगन थापासहितका युवा नेताहरूद्वारा केन्द्रीय कार्यसमितिमा पेश गरेको अवधारणालाई पार्टीको विधान विपरित रहेको टिप्पणी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले कांग्रेसको विधान विपरितका गतिविधि कसैले पनि गर्न नहुने बताएका हुन् । गगन थापासहितका युवा नेताहरूको भनाइप्रति संकेत गर्दै खतिवडाले कांग्रेसको शीघ्र महाधिवेशन आवश्यक नरहेको बताए ।
‘कांग्रेसलाई सुदृढ बनाउने दायित्व छ । रचनात्मक आलोचना र सुझावको आवश्यक्ता छ’, उनले भने, ‘आलोचना गर्नु छ भन्दैमा पार्टीको विधानभन्दा बाहिर गएर कुनै पनि कार्य गर्नु हुँदैन ।’
नेता खतिवडाले अहिले सभापति शेरबहादुर देउवाभन्दा पनि नेपाली कांग्रेस कमजोर भएको बताए । सभापति देउवा महाधिवेशनबाट निर्वाचित भएर आएको भन्दै नेता खतिवडाले भने, ‘विधान विपरितको काम कसैले गर्नु हुँदैन । कसैलाई फाल्न खोजियो भने निकास आउँदैन । कसैलाई अपमान र कसैलाई सम्मान गर्नेभन्दा विधानलाई कुल्चनु हुँदैन ।’
कुनै विषयमा चित्त बुझेको छैन भने महासमितिको बैठकबाट निर्णय गरेर जानुपर्ने खतिवडाले बताए । आरोप प्रत्यारोपले कांग्रेसलाई कहिल्यै फाइदा नहुने उनको भनाइ थियो ।
















प्रतिक्रिया