सन्दिप भट्ट
चितवन, १० पुस । चितवनमा रहेको एकमात्र ठूलो सरकारी अस्पताल भरतपुर अस्पतालले आगामी वर्षदेखि बिएन नर्सिङ र एमडी विषयको पढाई सुरु गर्ने भएको छ ।
भरतपुर अस्पतालले प्रदान गर्दै आएको सेवालाई थप गुणस्तरीय बनाउने र मेडिकल कलेजको रुपमा विकास गर्दै लैजाने उद्देश्यले यस्तो तयारी गरेको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर केशवराज भुर्तेलले बताउनुभयो ।
अस्पतालमा सिटी स्क्यान, मृगौलाको उपचार र एनआईसीयु बाहेक सबै सेवा सुविधा रहेको बताउँदै भुर्तेलले अब सरकारी अस्पताललाई ‘सरकारी त हो नि !’ भन्ने भन्ने भाबनाले काम गर्नु नहुने बताउनुभयो । अस्पतालमा अहिले हार्डजोर्नीसम्बन्धी सबै अप्रेसन भएको उहाँको भनाई छ ।
राजधानीमा रहेको वीर अस्पतालपछि राजधानी बाहिर सरकारी अस्पतालमा भरतपुर अस्पतालले दन्तरोगको सबै उपचार गर्दै आएको पनि भुर्तेलले बताउनुभयो ।
बिहान १० बजेदेखि दुई बजेभित्र सरकारी अस्पतालका डाक्टरहरु बाहिर अन्य अस्पतालमा नगएको दाबी गर्दै डाक्टर भुर्तेलले अस्पतालले सञ्चालन गरेको ‘पेइङ क्लिनिक’बाट सर्बसाधारण लाभान्वित भएको बताउनुभयो ।
उहाँले यस अघि पनि पैसा नभएका बिरामीहरुलाई निशुल्क रुपमा रगत दिइएको, अप्रेस गराईएको लगायतका थुप्रै कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले सरकारी सेवा र सुविधा भनेपछि राम्रो हुनुपर्ने बताउनुभयो ।
‘सरकारले लगानी गरेको र जनताले पनि उपचारको लागि पैसा तिर्ने भएका कारण सरकारी अस्पतालले निजी अस्पतालको भन्दा गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ,’ सुवेदीले भन्नुभयो, ‘हामी भरतपुर अस्पताललाई सफा, सहज र सुन्दर गुणस्तरीय सेवा दिने बिरामी मैत्री अस्पताल बनाउँदैछौँ ।’
अस्पतालको सुधारका काम गर्न डाक्टर माणिक मानन्धरको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाइएको पनि सुबेदीले जानकारी दिनुभयो । ३१ बिघाहा क्षेत्रफलमा फैलिएको भरतपुर अस्पतालको विकासको लागि गुरुयोजनाको साथमा रणनीतिक योजना समेत तयार परिएको उहाँको भनाई छ ।













प्रतिक्रिया