काठमाडौ, १० पुस । धार्मिक कार्यको लागि भारतको हिरियाणा (हिसार) को चण्डिगढ रोड, बरबालास्थित सतलोक आश्रम गएका २४ नेपाली त्यहाँको हिसार कारागारमा थुनिएको पीडितका परिवारले बताएका छन् ।
विवादस्पद भारतीय धर्मगुरु रामपालको आश्रममा उनलाई प्रहरीले खोजी गरेका बेला आश्रमबाट भारतीय र नेपाली केही भगत ९भक्त०लाई प्रहरीले पक्राउ गरेको थियो ।
धार्मिक उद्येश्यले आश्रम गएका नेपाली पक्राउ पर्दा पनि रिहाईको लागि सरकारले कुनै पहल नगरेको भन्दै पीडित परिवार र सभासदले गुनासो पोखेका छन् ।
पक्राउ परेको सवा १ महिना भएको छ । परिवारले जिल्ला प्रशासनदेखि परराष्ट्र र दुतावासलाई जानकारी गराएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
‘म हिसार जेलमै गएर भाईलाई भेटेर आएँ’ धनुषाको क्षीरेश्वरनाथ नपा, सखुवाका निर्गुणकुमार महतोले कान्तिपुरलाई भने, ‘मंसिर २ गते पक्राउ परेदेखि जताततै गुहार्यौ तर अहिलेसम्म कुनै पहल नभएर भाई जेलमै छन् ।’
१२ कक्षामा अध्ययनरत गणेशकुमार कार्तिक १८ गते पहिलो पटक १८ स्थानीयसँग सत्संग र भजनको लागि आश्रम हिडेका थिए ।
‘जेलमा जम्मा १० मीनेट सिसाको बारबाट देखादेख गरेर फोनमा कुरा गर्यौ’ निर्गुणले सुनाए, ‘आमा विरामी विरामी हुनुहुन्छ, टेन्सन नलिन भन्नु, म चाँडै छुट्छु की भन्छ तर कहिले छुट्छ, के मुद्धा छ, कुनै पत्तो छैन ।’
निर्गुणले भाईबाट पाएको जानकारी अनुसार प्रहरीले आश्रम भित्र रामपाललाई खोजी गर्दा भक्तहरु मध्ये युवालाई छुट्टै गाडी र बाँकीलाई छुट्टै गाडीमा पटक पटक ओसारेर जेल पुर्याएको थियो ।
अरुलाई छाडेर युवालाई थुनेको र आश्रमबाट पक्राउ परेका करीव ९ सय भारतीय पनि जेलमा भएको उनको भनाई छ ।
सोही आश्रमबाट फर्केका धनुषा, सखुवाका नत्थु श्रेष्ठले आफ्ना भाई पनि थुनामा परेको बताए ।
‘नारा-जुलुस भईरहेको थियो, प्रहरीले बालबच्चा, वुद्धहरुलाई छाडेर युवालाई पक्र्यो’ नत्थुले भने, ‘मेरो भाई ईश्वर श्रेष्ठ, ३७० पनि वीना कारण जेलमा थुनिएको छ ।’
पीडित परिवारका अनुसार पक्राउ पर्नेमा सिरहाका ६, धनुषाका ४, सुनसरीका २, रौतहटका २, कञ्चनपुरका २, काठमाडौंका २ र मोरङ, महोत्तरी, बर्दिया र भक्तपुरबाट १र१ जना छन् ।
नेपाली दुतावास दिल्लीले थप दुई सहित २४ नेपाली हिसारको ‘६० दिने न्यायिक हिरासतमा रहेको’ बताएको छ ।
सिरहाको सिक्रौनका विजय साह, सिरहाको बर्छावाका राजेन्द्र सादा र शिवचरण यादव, सिरहाको चौहर्वाका उपेन्द्रप्रसाद सिंह, सिरहाकै अरनामा लालपुरका रामसुगारथ महतो, सिरहा गोलबजार असनपुरका विनोद यादव, धनुषाको क्षीरेश्वरनाथ नपा, सखुवाका गणेशकुमार महतो, ईश्वर श्रेष्ठ, धनुषा मधुकरही रामचन्द्र यादव, धनुषा औरहीका सन्तोष साह र मोरङको उर्लाबारीका सुरेश राई जेलमा छन् ।
सुनसरीको इटहरीका मुकेश कार्की, लक्ष्मण बस्नेत, रौतहटको मर्जादपुरका दिनेश महतो र उमेश महतो,महोत्तरीको भमरपुरा शिव पुजन साह,कञ्चनपुरको महेन्द्रनगरका सुरेश भट्ट र योगेन्द्र चन्द, बर्दिया २ का नन्दराम खैरहा, काठमाडौंको गोंगवुका रनकुमार गिरी र जोरपाटीका जाकिर हुसेन र ठिमी भक्तपुरका उपराज ढकाल जेलमा भएको उल्लेख छ ।
धनुषाका सभासद डा चन्द्रमोहन यादवले खुला सीमानाको कारण सामान किनमेल, घुमफिर तथा धार्मिक कामलाई पनि नेपाली भारत जाने गरेको छन् भन्दै फसेकालाई सरकारले उद्धार पहल नगरेको बताए ।
‘आस्थाको कारणले जाँदा उनीहरु झमेलामा फसे तर कस्तो विडम्बना सरकारले कुनै पहल गरेको छैन’ यादवले भने, ‘मैले मंगलवार परराष्ट्र मन्त्री र नेपाली दुतावास दिल्लीमा फोन गरें, कुनै प्रगति छैन ।’
सतलोक आश्रममा आमावस्या (औंसी) र पुणिर्माका दिन ३र३ दिन सत्सङ्ग र भजनका लागि कबिर धर्माबलम्बीहरु त्यहाँ पुगेको निर्गुणको भनाई छ ।
आ-आफ्नो ढंगले आश्रम पुगेका मध्ये नेपालीको संख्या करीव ४ हजार भएको अनुमान छ । कतिपय रोग र विमार निको हुने आशामा समेत आश्रम पुगेका थिए ।















प्रतिक्रिया