७ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीबाट क्रिसमसको शुभकामना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala12

काठमाडौँ, १० पुस । प्रधानमन्त्री सुशील कोइरालाले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस’को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ  ।

आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री कोइरालाले भन्नुभएको छ – बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक पहिचान बोकेको भौगोलिक विविधतायुक्त नेपालमा सबै जातिका विभिन्न धर्म र संस्कृति अङ्गीकार गर्ने नागरिकबीच सदियौँदेखि सौहार्द सम्बन्ध रहिआएको छ । यही विविधता बीचको एकता हाम्रो राष्ट्रियताको सबल आधार बनेको छ । विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने नेपालीमा रहेको जातीय, धार्मिक, सांस्कृतिक सहिष्णुताले मुलुकमा शान्ति र सद्भाव कायम गर्न सघाउँदै आएको पनि छ ।

शान्ति, सद्भाव, एकता र मेलमिलाप मुलुकमा लोकतन्त्रको संस्थागत विकास र आर्थिक सामाजिक विकासलाई गति दिने महत्वपूर्ण आधारका रूपमा विकसित पनि भइरहेको पनि सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।

लोकतन्त्रको बहाली र निरङ्कुश राजतन्त्रको उन्मूलनका लागि भएको २०६२÷६३ सालको जनआन्दोलनले पुनःस्थापित गरेको प्रतिनिधिसभाले मुलुकमा धार्मिक स्वतन्त्रताको घोषणा गरेपछि यसलाई वर्तमान अन्तरिम संविधानले लिपिबद्ध गरी संस्थागत गरेको स्मरण गराउँदै उहाँले भन्नुभएको छ – “धार्मिक स्वतन्त्रता नागरिकका मौलिक हकका रूपमा स्थापित भइसकेको छ ।”

नेपाली जनताले विगत ६ दशकभन्दा लामो समयदेखि गरेका आन्दोलन र सङ्घर्षबाट प्राप्त सङ्घीयता, गणतन्त्र, समावेशितासहितको लोकतन्त्रलाई संस्थागत गर्ने संविधान संविधानसभाबाट निर्धारित समयमा ल्याउन यस दिवसले सबैलाई प्रेरणा दिन सकोस् भनी उहाँले कामना पनि गर्नुभएको छ । रासस