काठमाडौँ, १० पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वाकयुद्ध चलिरहेका बेला बुधबार गोप्य भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको गोप्य भेटमा मिलेरै जाने विषयमा समझदारी भएको बताइएको छ । प्रमुख तीन दल र मधेसी मोर्चासहितको बैठक लगत्तै ओली र प्रचण्डबीच झण्डै ४५ मिनेट गोप्य छलफल भएको थियो । पछिल्लो समय सत्तारुढ ओली र प्रचण्डबीच चलेको आरोप प्रत्यारोपले दलीय वार्ता र छलफलनै अवरोध भएको थियो । सोही विषयलाई लिएर एमाओवादी नेतृत्वको गठबन्धनले विभिन्न संघर्षका कार्यक्रमसमेत घोषणा गरेको थियो ।
बुधबारको बैठकमा दुई नेताले छुटटै एक घन्टा छलफल गरी एकआपसको शंका र असमझदारी हटाएर सहमतिको वातावरण निर्माण गरिने र बिहीबारबाट चरणबद्ध छलफल गरी टुंगो लगाउने समझदारी भएको छ ।
दुई नेताबीचको आपसी तिक्तता र रस्साकसीलाई मथ्थर गरी दलीय सहमति कायम गरेर निर्धारित समयमै संविधान जारी गर्ने उद्देश्यले प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र मधेसी मोर्चामा आवद्ध दल सहमतिको दिशातर्फ उन्मुख देखिएका हुन् ।
एमाले उपाध्यक्ष भीम रावलले भन्नुभयो “हामीले प्रस्ताव राखें, पहिला तपाईहरू बसेर आपसी समझदारी गर्नुस् । एकअर्काबीचको शङ्का मेटाएर विश्वासको वातावरण बनाउनुस् अनि सहमति खोज्नु भनियो । उहाँहरूले एक घन्टा छलफल गर्नुभयो, एकअर्काबीचको शङ्काको वातावरण हटाउने समझदारी भएपछि बिहीबार बिहान ८ः३० बजेदेखि दुई पक्षीय छलफल चरणबद्ध गर्ने निर्णय भयो ।”
चार दलबीच संविधानका विवादित विषयलाई सहमतिका साथ टुङ्गो लगाउने गरी भोलिबाट घनीभूत छलफल चलाउने सहमति भएको छ । चार दलको बैठक बस्नुअघि भोलि प्रधानमन्त्री सुशील कोइरालासँग एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीले छुट्टै छलफल गर्नुहुनेछ ।
मोर्चाका एक घटक नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार बिहीबार बिहान ८ः३० बजे प्रधानमन्त्रीसँग एमाओवादी अध्यक्ष दाहालले र १० बजे एमाले अध्यक्ष ओलीले छलफल गर्ने र त्यसलगत्तै प्रधानमन्त्रीसँग मधेसी मोर्चाले छलफल गरेपछि अपराह्न ४ बजे चार दलको बैठक बस्नेछ ।
अध्यक्ष महतोले संविधान निर्माणमा दुई दलका शीर्ष नेताबीच बढेको अविश्वासको सङ्कटलाई सहज बनाउने आफूहरूको आग्रह बमोजिम दुई नेताले छलफल गरी सहमतिका लागि भोलिबाट गम्भीर छलफल गर्ने निर्णय भएको बताउनुभयो ।
















प्रतिक्रिया