
काठमाडौँ, ५ बैशाख । दुई महिनाअघि प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनका सहयोगी माओवादी र एमालेकै कार्यकर्ता भएको रहस्य खुलेको छ । रुपन्देही प्रहरीले पुनका ५ जना सहयोगीलाई पक्राउ गरेसँगै यो रहस्य छताछुल्ल भएको हो ।
रुपन्देहीमा हत्या आतंक मच्याउने पुनका गतिविधिलाई सघाउने माओवादी केन्द्रका केन्द्रीय सदस्य र एमालेनिकट युवा संघका पूर्व नेता र एकजना व्यवसायी पक्राउ परेका छन् ।
प्रहरीले बुटवल उपमहानगरपालिका–७, शिवनगरका उत्तम आचार्य, देवदह–५ का तुल्सी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, स्याङ्जाको पुतलीबजार–४ घर भइ रुपन्देहीको बुटवल–४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ र देवदह–६ का रोशन खड्कालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
पक्राउ परेका लेखनाथ माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने उत्तम युथ फोर्सका पूर्व जिल्ला नेता हुन् । श्रेष्ठ मदिरा उद्योगी हुन् ।उनीहरुले मनोजलाई जिल्लाका उद्योगी व्यवसायीहरुको सम्पूर्ण विवरणहरु उपलब्ध गराउने गरेको रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले जानकारी दिए । पुनले उनीहरूलाई सुराकीको रूपमा प्रयोग गरेका थिए ।
प्रहरीका अनुसार उनीहरुले पुनलाई आपराधिक कार्य गर्न प्रोत्साहन गर्ने र आर्थिक सहयोग समेत गर्ने गरेका थिए । उनीहरुमाथि संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पुनको सहयोगीको रुपमा नारायण बस्नेतलाई गोली हानी ज्यान मार्ने उद्योग गरेका, दुर्गा तिवारीलाई गोली हान्ने हत्या, वसन्त पौडेलको हत्या र भारतीय अपराधी विट्टु सिंहसंग निरन्तर सम्पर्कमा रही आपराधिक कार्यमा सहयोग पु¥याएको अभियोगमा पक्राउ परेको प्रहरी उपरीक्षक ज्ञवालीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।















प्रतिक्रिया