१ कार्तिक २०८३, शनिबार

माफी मागेर उम्कन पाइँदैन कारवाही हुनुपर्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SONY DSCकाठमाडौ, ९ पुस । यौनजन्य एसएमएस पठाएर उपत्यकामा आतंक मच्चाउने संस्था तेर दे जोम फाउण्डेसन लोनाज (टिडिएच) ले सरकार, प्रहरी प्रशासन र बाल अधिकारकर्मी संस्थाहरु बीच माफी मागेको छ ।

संस्थाले तीन लाख नेपालीलाई आपत्तिजनक भाषा प्रयोग गर्दै मोवाइलमा एसएमएस पठाएको थियो । संस्थाले ‘काठमाडौं उपत्यका भित्र किशोरकिशोरीहरु व्यावसायीक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीका लागि फोन गर्नुहोला ।’ भन्ने सन्देश नेपालीको मोवाइलमा पठाएको समाचार आजको कान्तिपुर  दैनिकले छापेको छ ।

यस्तो आपत्तिजनक भाषामा एसएमएस पठाएर सामाजिक अवस्था खल्बलाएको र बालबालिका र अविभावकमा समेत नकारात्मक असर पारेको भन्दै केन्द्रीय बाल कल्याण समितिले संस्थालाई स्पष्टिकरण सोधेको थियो ।

सोमबारसम्म संस्थाले आफूले प्रयोग गरेको भाषा गलत भएको स्वीकार गरेको थिएन ।

उल्टै नेपालीको बुझाइ अन्यथा भएको दाबी गर्दै आएको थियो ।

तर, मंगलबार स्पष्टिकरणको जवाफ दिन समितिको बैठकमा उपस्थित भइ संस्थाले माफी मागेको हो ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, योजना आयोग, प्रहरी कार्यालय, महिला आयोग, महिला बालबालिका कार्यालय, मानव अधिकार आयोग, बालबालिकाको क्षेत्रमा कार्यारत अधिकारकर्मी लगायतको उपस्थितिमा संस्थाले आफ्नै बुझाइ गलत भएको भन्दै माफी मागेको हो ।

‘एसएमएसको भाषाप्रति हामी एकदमै माफी चाहान्छौं । हामी बाट गल्ती भयो । हाम्रै बुझाइ गलत रहेछ, हामी सच्चिन चाहान्छौं,’ संस्थाका प्रतिनिधि नवजीत कर्माचार्यले भने, ‘राज्यको कानुनी प्रक्रियालाई सहयोग गर्न चाहान्छौं ।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले पनि आफुहरुले स्पष्टिकरण मागेपछि संस्थाले क्षमायाचना सहितको पत्र पठाएको जानकारी दिए ।

‘तर, गैर कानुनी काम गरेर क्षमा याचना गर्दा माफी पाइन्दैन,’ उनले भने, ‘एउटा फेसबुकमा लाइक गरेकै भरमा मान्छेले जेल जानु परिरहेको छ, कसैले व्यक्तिगत एसएमएस पठाएकोमा कारवाही भइरहेको छ । तीन लाख नेपाली जनतामाथि यस्तो किसिमको गैर कानुनी कार्य गर्नेमाथी कारवाही हुनै पर्छ ।’

यसबारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनका अनुसार यस्ता किसिमका गतिविधिलाई नियन्त्रण गर्नका लागि सेवा प्रदायक कम्पनीहरुले पनि सचेत हुनु जरुरी छ ।

समितिको बैठकमा सहभागीहरुलेसमेत गैर कानुनी काम गरी माफी मागेर मात्र उम्कन नपाउने बताएका थिए ।