काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको विद्यार्थी भर्ना अभियानमा नेपाली काँग्रेसका नेता गगन थापाले पनि साथ दिएका छन् । नेता थापाले ट्वीटरमार्फत रसिका श्रेष्ठको अभिभावकत्व ग्रहण गर्दै सरकारको अभियानमा सहभागी भएको बताएका हुन् ।
नेता थापाले रसिकालाई बुढानिलकण्ठ नगरपालिकाको जनउद्दार माविमा कक्षा १ मा भर्ना गर्दै कक्षा १२ सम्म पढाइदिने बताएका छन् । पढ्न नपाएका बालबालिकाहरु धेरै भएकाले अरुलाई पनि सरकारको अभियानमा साथ दिन आग्रह गरेका छन् ।
दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै सरकारले एक व्यक्तिले कम्तीमा एकजना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्न अपिल गरेको छ । प्रधानमन्त्री ओलीले स्वयम्ले मुगुमा ६ वर्षीया थिल्ने साङ् तामाङलाई विद्यालय भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका छन् ।
यस्तै, प्रधानमन्त्रीपत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरेकी थिइन् । सरकारको अभियानमा साथ दिँदै यसअघि सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदिप ज्ञवाली लगायतका नेताहरुले अभिभावकत्व ग्रहण गरिसकेका छन् ।















प्रतिक्रिया