अहिले पुष्पकमल दहाल लगायतका माओवादी नेताहरू संविधान जारी गर्ने विषयमा जस्ता तर्कका साथ प्रस्तुत हुन खोजिरहेका छन् , सबैले सशक्त रूपमा प्रति प्रश्नहरू गर्दै खवरदारी गर्नु जरूरी छ :
(१) संविधान सभाको दोश्रो निर्वाचन -२०७० को घोषणापत्रमा संविधान जारी गर्ने सम्वन्धमा आफ्नो प्रतिवद्धतालाई उल्लेख गर्दै ‘ सके सहमतीमा नभए प्रकृयाबाट संविधान जारी गर्ने ‘ ” भिष्म प्रतिज्ञा ” गरेको हो कि होइन ? त्यो घोषणा-पत्रका मस्यौदाकार बाबुराम भट्टराई र जारी गर्ने प्रमुख नेता पुष्पकमल दहालजी नै हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो ? यसको जवाफ पुष्पकमल दहाल , बाबुराम भट्टराई र अरू माओवादी नेताहरूले दिनुपर्छ कि पर्दैन ? पछि त संविधान सभाको नियमावलीमा समेत यही कुरा सहमतीकै साथ उल्लेख समेत गरिएको हो कि होइन ?
(२) २०६९ साल जेठ १४ गते राती पहिलो संविधान सभा विघटन गरी राष्ट्रपतिजीलाई जानकारी दिएर आएपछि झण्डै १२ बजे राती बालुवाटारमा पत्रकार सम्मेलन गरी ” आफूहरूसित दुई तिहाई नभएकोले संविधान जारी गर्न नसकेको, अब चुनाव गरी दुई तिहाइ ल्याउन संविधान सभा विघटन गर्नुपरेको ” भनेको हो कि होइन बाबुरामजीले ? अनि अहिले संविधान सभा आफैले बनाएको नियमावलीको व्यवस्था अनुसार सके सहमतीले नभए दुई तिहाइले पारित गर्ने भनी गरिएको व्यवस्थालाई किन विर्सन खोजेको ?
(३) संविधान आफै सम्झौताको दस्तावेज हो कि होइन ? र, अहिले यो सम्झौता भनेको संविधान वनाउन गठित वैधानिक संरचना- संविधान सभाभित्र प्रतिनिधित्व गरिरहेका विभिन्न पक्षहरू विचको सम्झौता हो कि होइन ? अनि यो सम्झौता त्यहाँभित्र जजसको जस्तो स्थिति र हैसियत छ , त्यसै आधारमा हुनुपर्ने हो कि होइन ? यही आधारमा सम्झौता हुने वा गर्नुपर्ने हो कि होइन ?
(४) कुनै पनि संगठन वा संस्थाहरूमा पहिले त विषयमा सहमती खोजिन्छ , त्यसो हुन नसकेमा त्यसलाई टुंग्याउने प्रकृयामा सहमती गरी टुंग्याइन्छ कि टुंग्याइदैन ? अनि , यही कुरा गर्न खोज्दा किन स्वीकार गर्न नसकेको ? यस्तो चिन्तन र प्रवृत्ति अलोकतान्त्रिक र अधिनायकवादी हो कि होइन ? दुई तिहाई भन्दा बढीले एक तिहाईभन्दा कम संख्यामा रहेकाहरूको भद्दा , उद्दण्ड र अनुचित अडानलाई लुरू लुरू स्वीकार गरेर हिड्नुपर्ने ? अनि जंगली तर्कहरूले भरिएका धम्की र कथित अडानलाई मान्नुपर्ने ?
(५) यी सबै काम गरेर माओवादी विगतमा राष्ट्रिय राजनीतिलाई हिंसा र आतंकको पर्याय वनाउने काममा लाग्यो अनि अहिले अस्तव्यस्तता , अराजकता र औसरवादको खेती गर्दै मुलुकलाई नै अनिश्चितताको भूँमरीमा त धकेल्न खोजिरहेको त छैन ?
सल्लाह – यस्ता गैरजिम्मेवार कामहरू नगरी माओवादीहरू आफ्ना कुराहरू शान्तिपूर्ण र लोकतान्त्रिक विधिद्वारा जनतामा लैजाने , त्यसरी जनताको मन जित्ने काममा लागुन् ! यसैमा देशको र स्वयम् उनीहरूको समेत कल्याण छ !!













प्रतिक्रिया