
रोल्पा । ‘बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पुर्याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरे’, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षीय हित पुन गर्व साथ सुनाउँछन् ।
पुन सदरमुकाम लिबाङ नजिकै बस्छन् । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्को गर्दै छवटी श्रीमती भित्र्याएको बताए । पुनको पहिलो विवाह आफू १६ वर्ष हुँदा १४ वर्षीया किशोरीसँग भएको थियो । उनबाट दुई छोरी छन् ।
यस्तै १७ वर्षीया किशोरीलाई उनले ३० वर्षको उमेरमा दोस्रो श्रीमतीका रुपमा भित्र्याए । उनीबाट सन्तान भएनन् । त्यसपछि उनले एकपछि अर्को गर्दै केही वर्षको फरकमा २०–२२ वर्षको उमेरका किशोरीलाई भित्र्याउने क्रम जारी रह्यो ।
हाल उनकी श्रीमती करीब २२ वर्षकी छन् । यसअघि भने उनले पाँचौँ श्रीमतीका रुपमा ५६ वर्षको उमेरमा ५४ वर्षीया विधवा महिलासँग प्रेम विवाह गरेका थिए । उनबाट पनि छोरा नभएपछि करीब एक वर्ष पहिले २१ वर्षीया युवतीलाई श्रीमतीका रुपमा भित्र्याएको उनको भनाइ छ ।
यसरी छैटौँ श्रीमतीबाट उनको छोरा जन्माउने धोको पूरा भएको छ तर सुखी जीवन जीउने सपना भने साकार हुन सकेको छैन । कारण हो, मदिरा सेवन गर्ने उनकी कान्छी श्रीमतीको लत ।
कान्छी श्रीमती चौबीसै घण्टा मदिरा सेवन गरी बेहोस हुने गरेपछि उनलाई मानसिक तनाव बढ्दै आएको छ । श्रीमतीको मदिरासेवनको समस्यामा अर्को समस्या पनि थपिएकोछ । पुनले श्रीमतीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिन थालेका छन् ।
करीब चार महिनाको बच्चा धुरुधुरु रोइरहँदा पनि बच्चा सम्हाल्न नसक्ने गरी मदिरा सेवन गर्न थालेपछि यो परिवारलाई विक्षिप्त भएको छ ।
‘दुई श्रीमतीको पोई, कुनाबसी रोई’ भने झैँ श्रीमतीले घर भरिँदा उनलाई शारीरिक तथा मानसिक रुपमा पीडा थपिएको त छ तर उनी यो स्वीकार्न तयार छैनन् ।
एकमाथि अर्को सौता हाल्दै गएपछि केहीवर्ष पहिले उनकी जेठी श्रीमतीले बहुविवाहको मुद्दा चलाइन् । जसका कारण उनले साढे एक वर्षको जेल जीवनसमेत बिताए । तर जेलबाट निस्किएर पुनः विवाह गरेको बताउने पुनले विवाह गर्नु र छोड्नुलाई सामान्य रुपमा लिएको बताउँछन् ।
आफू ज्याला मजदूरी गरेर घर फर्कने बेला मदिरा सेवन गरेर श्रीमती एकतिर लड्नु र चार महिनाको बच्चा अर्कोतिर रोइरहनुले आफूहरूलाई समेत हैरानी हुने गरेको छिमेकीहरूको गुनासो छ । यसरी विवाह गरेका अन्य श्रीमतीले छोडे पनि उनका तीनवटी श्रीमती भने उनकै संरक्षणमा फरक–फरक स्थानमा बस्दै आएका छन् ।
महिला विकास अधिकृत लोकेन्द्रा आचार्यका अनुसार छोरा वा छोरी जे जन्मे पनि दुवैको समान जिम्मेवारी रहने कुरा समाजले अझै नबुझेको बताउँछिन् । मनपरी विवाह गर्नु र छोड्नुले श्रीमान् श्रीमतीलाई मात्र नभएर उनका छोराछोरीलाई समेत नकारात्मक असर पार्ने र निर्दोष बालबालिकाको बिचल्ली हने उनको भनाई छ ।
‘कानुन विपरीत कार्य गर्ने महिला होस् वा पुरुष दुवै सजायको भागेदार हुनुपर्छ । अञ्जानमा सौतामाथि पर्नु दुःखद पक्ष भए पनि जानाजान सौतामाथि, त्यो पनि पाँचौँ छैटौँ श्रीमतीका रुपमा भित्रिनु बिलकुलै राम्रो होइन’, उनी भन्छिन् ।













प्रतिक्रिया