
– सरगम भट्टराई
नेपालका प्रधानमन्त्रीहरुलाई पद बहालीपश्चात दिल्ली गई हाल्नु पर्ने अलिखित कानूनबाट राष्ट्रवादी ठानिएका प्रधानमन्त्री केपी शर्मा ओली पनि अछुतो रहन सकेनन्। तर पनि भर्खरै सम्पन्न भारत भ्रमणपछि नेपाल र भारतको सम्बन्धमा केही नयाँ सम्भावनाहरु देखिएका छन्। बिशेषगरी नेपालमा केपी ओली प्रधानमन्त्री नहुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनु, बिदेश मन्त्री सुष्मा स्वराजलाई बिशेष दूतको रुपमा नेपाल पठाउनु, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भन्दा ओलीलाई महत्व दिनु आदि यसका पूर्वलक्षणहरु थिए।
नेपालको संबिधानमा असहमति जनाएर नाकाबन्दी गरेको भारतले यसपल्टको भ्रमणमा त्यस बिषयमा केही कुरा नउठाउनु, कृषि क्षेत्रमा सहयोग, नेपाललाई रेलमार्गमार्फत काठमाडौँ जोड्ने तथा जल मार्ग हुँदै समुन्द्रसँग जोडिने बिषयमा दुई मुलुक बीच भएका सहमतिले पनि ऐतिहासिक महत्व राख्ने नै भयो। त्यसै गरी ‘मोतिहारी अमलेखगन्ज पाईप लाइन’ शिलान्यास पनि यस भ्रमणको सकारात्मक उपलब्धि हो।
बिगतमा ९० प्रतिशत बढी जनताका प्रतिनिधिहरुले पारित गरेको नेपालको संबिधानमा असहमति जनाएर नाकाबन्दी गरेको भारतले यसपल्टको भ्रमणमा त्यस बिषयमा केही कुरा नउठाउनु, कृषि क्षेत्रमा सहयोग, नेपाललाई रेलमार्गमार्फत काठमाडौँ जोड्ने तथा जल मार्ग हुँदै समुन्द्रसँग जोडिने बिषयमा दुई मुलुक बीच भएका सहमतिले पनि ऐतिहासिक महत्व राख्ने नै भयो। त्यसै गरी ‘मोतिहारी अमलेखगन्ज पाईप लाइन’ शिलान्यास पनि यस भ्रमणको सकारात्मक उपलब्धि हो।
दुई देशबीच बिगतमा रहेको असमान सम्बन्ध यस भ्रमणपछि अलि मजबुत भएको आभास पनि गर्न सकिन्छ। गत नाकाबन्दीका बेला चीनसँग ओलीले बढाएको सम्बन्धसँग सशंकित भएर होस् या छिमेकीसँग असल कूटनीतिक सम्बन्ध नराखे आफैलाई प्रत्युत्पादक हुने देखेर हो भारतीय पक्ष यस बेला नेपालप्रति निकै लचकदार देखिनु नेपालका लागि सकारात्मक पक्ष हुन्। तर भावनामा बहकिएर भारतको जय जयकार गर्नु भन्दा पहिले उसले नेपाललाई भविष्यमा गर्ने ब्यवहारले बताउने छन्।
त्यसो त भारतले प्रधानमन्त्री ओलीलाई बिछट्ट मन पराएर सम्बन्ध सुधार गर्न खोजेको होइन, बरु ओली मोदी सरकारद्वारा नरुचाइएका मान्छे हुन्। तर ओलीकै नेतृत्वमा बाम गठबन्धनले झण्डै दुईतिहाईकै हाराहारीमा बहुमत ल्याएकोले त्यस्तो शक्तिशाली प्रधानमन्त्रीसँग सौहार्दपूर्ण सम्बन्ध राख्नैपर्ने भएकोले पनि ओलीप्रति नरम भएको हुनुपर्छ। नाकाबन्दीका बेला ओलीको अडान सम्झेर पनि उनलाई चिढ्याउन नहुने भन्ने भावना पैदा भएको हुनुपर्छ भारतमा। भारतले गरेको तत्कालीन नाकाबन्दीको अन्तरराष्ट्रिय मन्चमा भएको बिरोधको पनि हेक्का राखेको हुनुपर्छ, भारतले ।
शक्तिशाली प्रधानमन्त्रीको रुपमा आएका ओलीको दृढता अहिले अलि बढी नै देख्दा आशा गर्ने ठाउँ प्रशस्त देखिन्छन् तर पनि गठबन्धनमा आवद्द नेता कार्यकर्ताले गत चुनावमा गरेको ठूलो धनराशी असूल्न आफ्नो फाइदाको लागि ओलीलाई असफल बनाउने खतरा पनि उत्तिकै छ।
प्रधानमन्त्री ओलीको सरकारले आफ्नो ‘हनिमून पिरियड’ समेत समाप्त नगरेको अवस्थामा यो सरकारलाई आलोचना गरी हाल्ने अवस्था भइसकेको छैन। जनताको म्याण्डेड प्राप्त अहिलेसम्मकै शक्तिशाली प्रधानमन्त्रीको रुपमा आएका ओलीको दृढता अहिले अलि बढी नै देख्दा आशा गर्ने ठाउँ प्रशस्त देखिन्छन् तर पनि गठबन्धनमा आवद्द नेता कार्यकर्ताले गत चुनावमा गरेको ठूलो धनराशी असूल्न आफ्नो फाइदाको लागि ओलीलाई असफल बनाउने खतरा पनि उत्तिकै छ।
प्रधानमन्त्री ओलीको अबको बाटो
एउटा तथ्यांक अनुसार प्रधानमन्त्री ओलीले दुई दर्जन भन्दा बढी उद्घाटन र समापनका रिबन काटेको, जन्म दिनमा फजूल खर्च गरेको लगायतका समाचारहरु बाहिरिएका छन्। तीनै तहका चुनाव सम्पन्न भए पश्चात चुनौति भन्दा अवसर र शक्ति बढी भएका अबका प्रधानमन्त्री पनि यसरी रिबन काट्दै भाषण गर्दै हिड्ने हो भने कहिल्यै पनि समृद्दिको बाटो हिड्न सकिने छैन, उनले बोलेका धेरै कुराहरुलाई उखान तुक्काको रुपमा मजाक उडाउनेहरु झन् बढ्ने छन्।
अहिले पनि प्रधानमन्त्री कार्यालयदेखि अन्य सबैजसो मन्त्रालयमा भीड घटेको छैन। भीडमा पार्टीका कार्यकर्तादेखि कर्मचारी र ठेकेदारहरु तँछाडमछाड गरिरहेको दृष्य देख्न सुन्न पाइएको छ। यस्ता तँछाडमछाड देशलाई कसरी बनाउन सकिन्छ भन्नेहरुको होइन बरु कतै अस्थायी नियुक्ति, आर्थिक सहयोग, सरुवा बढुवा तथा ठेक्कापट्टा, लाइसेन्स आदि हत्याउन लालयित भीड हो भन्ने कुरा प्रधानमन्त्रीले बुझ्नु पर्छ। यस्ता भीडभाड टोलीमा हिजो चुनावमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याएकाहरु पनि पक्कै छन् त्यसैले त्यस्ता भेटघाटहरुलाई निस्तेज गर्न पनि अप्ठेरो पर्ने निश्चित छ। तर यसपल्ट प्रधानमन्त्री कठोर बन्न नसके देश फेरि उठ्न सक्ने छैन।
केही दिन अघि अर्थमन्त्री युवराज खतिवडाले देशको अर्थ ब्यवस्थाको स्वेत पत्र जारी गरेका छन्। साधारण खर्चको ठूलो हिस्सा तलब भत्तामा खर्च हुनेदेखि आर्थिक अनुशासनहिनताले देशको ढुकुटी रित्तिएको कुरा सुन्दा आजसम्मका अस्थिर सरकारहरु जिम्मेवार छन् भने पनि त्यसको सोधभर्ना कतैबाट हुन सक्दैन। त्यसैले कूल ग्राहस्थ उत्पादनमा बृद्दि गरि ५.६ प्रतिशत मात्र भएको आर्थिक बृद्दिदर दोहोरो अंकको कायम गर्न परिणामुखी काम गर्न अति जरुरी छ।
प्रधानमन्त्री ओलीले देखेका सपना पूरा हुने हो र पूरा गर्न दृढ हुने हो भने देश बन्छ, देश बन्नु भनेको हामी बन्नु हो। यसलाई कुनै दलको आँखाबाट हेरिनु हुन्न। देशमा लगानीको वातावरण बने रोजगारी बढ्ने र रोजगारी बढे गरिबी घट्छ। तर ‘गरिबी शून्यमा झार्छु’ जस्ता हावादारी कुरा गर्न देशको प्रधानमन्त्रीलाई सुहाउँदैन।गरिबी घटाउन सबै पहलकदमी गर्छु भने मात्र पुग्छ, अब पनि भीडको हितमा सरुवा बढुवा र झोले नियुक्ति गर्ने, भ्रष्टाचार रोक्न उदासीन हुने, राज्यकोषबाट कार्यकर्तालाई रकम बाँड्ने आदि जारी राख्ने हो भने बिगतका सरकार र यो सरकारमा केहि फरक हुने छैन। रेल र जहाजका सपनाहरु कार्यान्वयन गर्नु भन्दा पहिले जनताका नुन तेलका समस्याहरु समाधान गर्न सके बल्ल सरकारले लोकप्रियता हासिल गर्न सक्नेछ।
सरकारले लिएको समृद्दिको अठोट एक्लैले गरेर सम्भव हुँदैन, राष्ट्रिय गौरवका आयोजनाहरुमा राष्ट्रिय सहमति कायम गरी प्रमुख प्रतिपक्ष कांग्रेसलाई पनिसंगै लाने प्रयास गर्नुपर्छ। अन्य दल तथा स्वतन्त्र पनि बिज्ञहरुको सहयोग लिन हिच्किचाउनु हुँदैन। जनताका आधारभूत आवश्यकतासम्म पूरा गर्न नसक्ने तर गफका गड्डी हाँक्दै ‘चन्द्रमामा बस्ती बसाउँछु’ भन्नु हाँस्यास्पद हुन्छ।
सरकारले यातायात क्षेत्रमा सिण्डिकेट हटाउन चालेको पछिल्लो कदम, स्वास्थ्य सेवा बिधेयक २०७४ जस्ता काम जस्तै तुरन्त देखिने काम गरेमा मात्र जनताले बिश्वास गर्ने छन्। मन्त्रीहरुले भाषण मात्र गर्ने प्रबृत्ति अन्त्य हुनुपर्छ। भ्रष्टाचारमा शून्य सहनशीलता, मितव्ययिता, सादगीपन र ईमानसहितको देश बनाउने दृढ़ता नभए सम्म समृद्दि गफको बिषय मात्र हुनेछ भन्ने कुरा सबैले बुझ्नुपर्छ। बिगतमा भएका बिभिन्न अलोकप्रिय कामले शंका गर्ने ठाउँ पनि बग्रेल्ती छन्।
अन्त्यमा,
पत्रकारहरुले पनि प्रधानमन्त्री तथा मन्त्रालयहरु वरपर हुने भीडहरु बारे अलि चनाखो हुनुपर्छ। बिभिन्न स्वार्थ समूहहरुको चलखेललाई जनताको सामु ल्याउन सक्यो भने त्यस्ता समूहहरु निस्तेज हुने र गलत हर्कत हुने कम सम्भावना हुन्छ। सहीलाई सही र गलतलाई गलत भन्न सक्ने संस्कृति बिकसित नभए सम्म देश परिवर्तन हुन गाह्रो छ।
प्रधानमन्त्री ओलीका सपनाहरु हावादारी नठहरिऊन्, यसका लागि उनको टिम डटेर लागोस्, यो पङ्तिकारको शुभकामना।















प्रतिक्रिया