चरिकोट, ७ पुस । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत नेकपा (माओवादी) दोलखाका एक दर्जन जिल्ला नेताहरुले पार्टी परित्याग गरेका छन् ।
सदरमुकाम चरिकोटमा सोमबार पत्रकार सम्मेलन गरी एमाओवादीका आठ जिल्ला कमिटी सदस्य र चार विद्यार्थी नेताले जिल्ला कमिटीसँग सम्बन्धविच्छेद गरी नेत्र विक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)मा प्रवेश गरेको घोषणा गरेका हुन् ।
एमाओवादी परित्याग गर्नेमा जिल्ला सचिवालय सदस्य एवम् ६ नं इलाका इन्चार्ज प्रेम लामा, जिल्ला सचिवालय सदस्य एवम् माओवादी लडाकुका पूर्व कमान्डर प्रखर लामा, एमाओवादी सचिवालय सदस्य तथा दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष राजन धनुके, सचिवालय सदस्य एवम् ५ नं इलाका इन्चार्ज अर्जुन योगी छन् ।
यस्तै जिल्ला कमिटी सदस्यहरु छिरिङ लामा, गोपाल खरेल, नवराज अर्याल, जगतराज गणिका, जिल्ला कमिटी सदस्य एवम् वाइसिएल राज्य समिति सदस्य डिबी लामा, जिल्ला कमिटी सदस्य अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष रामकुमार खड्का, जिल्ला कमिटी सदस्य आशिष जोशी र सुन्दर केसी छन् ।
एमाओवादीले १० वर्षे जनयुद्ध, सहिद परिवार र आम कार्यकर्ताको भावना बिर्सेको र वैद्य नेतृत्वको नेकपा–माओवादी क्रान्तिबाट अल्मलिएका कारण आफूहरु चन्द नेतृत्वको नेकपा– माओवादीमा प्रवेश गरेको उनीहरुले बताएका छन् ।
















प्रतिक्रिया