
– निर्मल भट्टराई
बाबुरामको पतन भएझैं ओलीको पनि पतन हुन्छ भन्ने बुझाइ बस्तुगत वास्तविकतासँग मेल खाँदैन । किनभने “विद्वान”बाबुरामको राजनीतिक पतन र “अनपढ” ओलीको उदय विलकुल भिन्न विषय हुन् ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति (?) पार्टीका बरिष्ठ नेता डम्बर खतिवडाले “ओली—उदय : सम्भावित काठमाडौं दुःखान्त” शीर्षकको एउटा लामो लेख हालै एक अनलाइनमा छापिएको छ । लेखमा भनिएझैं ओलीको उदय जङ्गबहादुर राणा वा कुनै तानाशाहको उदय भएजस्तो तरिकाले भएको होइन । नेपाली कम्युनिष्टहरुले (कुनैबेला खतिवडाजी पनि सामेल भएर) गरेको आन्दोलनले ओलीको उदय गराएको हो । पूर्ण लोकतान्त्रिक निर्वाचनको माध्यमद्वारा प्रधानमन्त्री निर्वाचित भएको सय दिन पनि नपुग्दै “दुखान्त” को काल्पनिक शब्द चित्र कोर्ने दौडाहामा प्रथम स्थान हासिल गर्नु उनका लागि एक सुखान्त घटना हुन सक्छ । यो लेखलाई डा. बाबुराम र तपाईंहरुले नेतृत्व गर्नुभएको नयाँ शक्ति (?) पार्टीका बचेखुचेका कार्यकर्तालाई थुम्थुम्याउन प्रयोग गरिएको वाक्य “अर्को चुनाबमा हाम्रो जितलाई कसैले रोक्न सक्दैन”को विस्तारित रुपभन्दा पर गएर बुझ्न र विष्लेषण गर्न सकिदैन ।
उनी भन्छन्—शक्तिशाली ठानिएका कोही पनि त्यति शक्तिशाली हुँदैनन्, जति ठानिन्छन् । शक्तिहीन ठानिएका कोही पनि त्यति शक्तिहीन हुँदैनन्, जति ठानिन्छन । हरेक शक्तिचक्रको निश्चित सीमा हुन्छ । बाम गठबन्धनले हाल प्राप्त गरेको जनमत क्षणभङ्गुर छ, अहिलेको सरकारले प्राप्त गरेको शक्ति नक्कली हो र गएको चुनाबमा जनताले करिब शुन्यमा पुर्याइदिएको आफ्नो पार्टी शक्तिशाली नै रहेको पुष्टि गर्न खोजेका छन् । उनी अगाडि लेख्छन् —ओली सत्ताले निर्माण गरेका जुन संकथनहरु छन, त्यसको सम्परीक्षण हुन जंगबहादुर वा राजा महेन्द्रजतिको समय त के, सायद ०४८ को आम निर्वाचनपछिका गिरिजाप्रसाद कोइरालाको जति समय पनि नलाग्न सक्छ । उनको भनाइ बुझ्न गाह्रो छैन, यो सरकार पनि पूर्ववर्ती सरकारजस्तै एक दुई बर्ष ढल्नेछ । स्थीर सरकार दिने एमाले—माओवादी उद्घोष बेकारको उदघोष हो, नेपालमा कहिल्यै स्थीरता आउँदैन ।
लेखमा घुमाउरो पारामा बाम एकतालाई भाँजो हाल्ने शब्द—तागतको भरपुर खर्च गरिएको पाइन्छ । उनी भन्छन्—नेपाली राजनीतिमा प्रचण्ड युगको विधिवत् अवसान भएको सन्देश सर्वत्र गर्नु । त्यसो नभए के हुन्छ त रु त्यसो नभए प्रचण्ड एउटा कार्डको रुपमा रहिरहन्छन् । समीकरण तलमाथि हुनेवित्तिकै जो कसैले ‘प्रचण्ड कार्ड’ खेल्न सक्छ, त्यो ओलीका लागि सबैभन्दा जोखिमपूर्ण छ । खतिवडाजीको बुझाइमा एमाले—माओवादी एकता प्रचण्डको राजनीतिक अस्तित्व समाप्त बनाउन मात्र गरिएको हो र यो एकताको देशको स्थीरता, समृद्धि र समाजवादको यात्रासँग गोरु बेचेको साइनो पनि छैन । ओली—प्रचण्डको सहकार्यका यावत् श्रृङ्खला केवल घिउ बेचुवा र तरवार बेचुवाको किस्सामात्र हुन् । हुन त डम्बरजी जस्तो भत्केको देख्दा रमाइलो मान्ने व्यक्तिलाई एमाले र माओवादी एकताको यत्रो तयारीलाई किन देख्नुभएन भन्ने ठाउँ पनि छैन । एकता वीन—वीन पोजिसनमा हुन्छ,सबैको यथोचित सम्माम भएर हुन्छ भन्ने उनलाई के थाहा ?
करिब दुइतिहाइ सहित ओली सरकार बन्नुमा नेपालका बामहरुको लामो र अनवरत संघर्ष एवम् सहकार्य प्रमुख कारण हो । फरि नेपाली कम्युनिष्टहरुको राष्टवादी अडान नयाँ होइन । भारतीय नाकाबन्दीको बेला ओलीको जे अडान देखियो, त्यो त्यसैको जबरजस्त अभिव्यक्ति थियो । तर नेपालमा बाम उदय र ओली उदयको बारेमा उनी लेक्छन— मधेस आन्दोलनसँग भारतीय नाकाबन्दीको सुँड नपसाइएको भए, नेपालमा ओलिज्मको उदय सायदै सम्भव थियो । योभन्दा हल्का र अवास्तविक टिप्पणी अरु के हुन सक्छ ? यहाँँनिर एउटा घटनाको स्मरण गर्नु पर्ने हुन्छ । डा. बाबुराम भट्टराईले माओवादी परित्याग गरेलगत्तै संसदमा प्रधानमन्त्रीको लागि ओली र सुशील कोइरालाबीच प्रतिस्पर्धा हुँदैथियो । ओलीलाई हराउन भारतीय दुतावास लागिपरेको समाचार आइरहेको थियो । एमाले र माओवादी मिलेपछि संसदमा सुविधाजनक बहुमत हुने निश्चित थियो । तर सुशील कोइरालालाई डा. भट्टराईले आफ्ना भारतीय मित्रको सहयोगमा माओवादीमा आफ्नो प्रभावमा रहेका करिब दुइ दर्जन सांसदले फ्लोर क्रस गर्ने भरपर्दो आश्वासन दिएका थिए । त्यही आश्वासनको आधारमा सुशील कोइरालाले ओलीसँग प्रतिस्पर्धा गरेका थिए । ओली प्रधानमन्त्री भएपछि भारतले नाकाबन्दी गरिदिएर मात्र ओलीको उदय भएको होइन । ओलीको उदय त्योभन्दा पहिले नै भईसकेको थियो ।
खतिवडाजी आफ्नो आफ्नो “ककटेल” लेखमा ओली सरकारका विरुद्ध नेपालका जनजातिलाई उचाल्ने चाहना व्यक्त गरेका छन् । ओलीले बडो सतर्कतापूर्वक नेपालका जनजाति, मधेशी र दलितलाई व्यवस्थित गर्दैगरेको, विश्वासमा लिएर काम गर्न शुरु गरेको विद्वान लेखकलाई चित्त बुझेको छैन । त्यतिमात्र होइन, मदेशमा उग्र मधेशवादी भावना भड्काएर र पहाडमा जनजातिको पहिचानको मुद्धा उठाएर आफ्नो राजनीतिको रोटी सेक्ने डा. भट्टराईको चाहनाको सुन्दर प्रस्तुति दिएका छन् ।
ओली सरकारको धरातल त्यति कमजोर छैन । एमाले र माओवादी एकताको जुनसुकै मनसाय र कोणबाट आलोचना गरे पनि अब एकता प्रभावित हुनेवाला छैन । र, ओलीको नेतृत्वमा अब बन्ने एकीकृत पार्टी नै ओली सरकारको सबभन्दा मजबुत धरातल हो ।
उनी लेख्छन्- ओलीको इख आफूलाई लेनिनिष्ट भन्ने र सोभियत संघको विघठनपछि ‘मार्का कम्युनिज्म’ कायम राखेर लोकतान्त्रिक देखिनु पर्ने ठिम्मर चेतनाले निर्माण भएको थियो, जसले पहिचानको आन्दोलनलाई ‘गुन्द्रुकको झोल’ भन्दा पनि निकृष्ट देख्थ्यो । ओलीलाई लोकतान्त्रिक देखिनु पर्ने कुनै दरकार छैन । उनले लोकतन्त्रलाई जीवन व्यवहारमै सबैले देख्ने गरी लागू गरेका छन्, आत्मसात गरेका छन् । एमाले र माओवादीको सहमति र नेतृत्वमा बनेको संविधानले सबै जात जाति, वर्ग,लिङ्ग र समुदायलाई विभेदमुक्त गरिदिएको छ । उनको चेतना माक्र्सवाद, लेनीनवाद र जनताको बहुदलीय जनवादले निर्माण गरेको चेतना हो, कुनै ठिम्मर चेतना होइन । जगतले बुझेको विषय हो —माक्र्सवाद, लेनीनवाद र जनताको बहुदलीय जनवाद खतिवडाजीकै नेतृत्वमा बनेको नयाँ शक्ति (?) पार्टीको “बाम—लोकतान्त्रिक” दश्तावेज जस्तो ठिम्मर वा कपी पेष्ट दस्तावेज पटक्कै होइन ।
नेपालमा संघीयताको अभ्यास निःसन्देह नयाँ अभ्यास हो । कुनै नयाँ कुराको अभ्यास गर्दा शुरुमा केही अन्यौल हुनु नितान्त स्वभाविक छ । भर्खर उठेर हिंड्न लागेको बच्चा कहीं कतै लडिहाल्यो भने यो बच्चा फेरि उठेर हिंड्न सक्दैन भन्ने तर्क जसरी बेतुकको तर्क हुन्छ, त्यसरी नै नेपालको संघीयताको कार्यान्वयनमा शंका अहिेले नै गर्नु स्वार्थप्ररित तर्कमात्र हुनेछ । नेपालको संघीयताबारे उनी लेख्छन्—संघीयता राम्ररी लागु नहुँदै धान्न सकिन्न भन्ने बेतुक तर्क ओलिज्म निकटस्थहरुले नै गरिरहेका छन् । शासकीय स्वरुपदेखि राज्यपुनर्संरचनाका नमिलेका पक्षहरु नेपाली समाजका अतृप्त एजेण्डा हुन, त्यसको ‘प्रेतात्मा’ अझै नेपाली समाजमा घुमिरहेको छ । हो, शासकीय स्वरुप, राज्यको पुनर्संरचना र समावेशीकरणको मुद्धालाई गिजोलगाजोल पारेर वा बङ्ग्याएर आफ्नो निहीत स्वार्थ पूरा गर्न चाहने केही राजनीतिक आत्माहरुलाई गएको चुनाबले प्रेतात्मामा परिणत गरिदिएको छ । र, ती प्रेतात्माले संविधान कार्यान्वयनको सिलसिलामा गौंडा गौंडामा केवल तर्साउने प्रयत्न गर्नेछन् ।
लामो छलफल, बहस र तयारीपछि हुन लागेको एमाले —माओवादी एकतालाई र परिवर्तित परिस्थितिमा सरकारसँग मधेशी नेताहरुले गर्न चाहेको सहकार्यलाई खतिवडाजी आत्मसमर्पण देख्छन् । उनी लेख्छन्— केही स्वनामधन्य मधेसी र जनजाति नेताहरुले ओलिज्म सामु आत्मसपर्मण गर्दैमा यी सवालहरु सजिलै मर्ने छैनन् । न त प्रचण्ड युगको अवसानसँगै ‘सतत क्रान्तिको सिद्धान्त’ मर्ने छ । या त यो उनको दृष्टिदोष हो या नाङ्लो ठटाएर हात्ती तर्साउने प्रयास हो ।
खतिवडाजी डा.बाबुराम भट्टराईको पतनको साक्षी र सहभागी दुबै हुन् । बाबुरामको पतन भएझैं ओलीको पनि पतन हुन्छ भन्ने उनको बुझाइ बस्तुगत वास्तविकतासँग मेल खाँदैन । किनभने “विद्वान”बाबुरामको राजनीतिक पतन र “अनपढ” ओलीको उदय विलकुल भिन्न विषय हुन् ।
खतिवडाजीले भनेजस्तो ओली सरकारको धरातल त्यति कमजोर छैन । एमाले र माओवादी एकताको जुनसुकै मनसाय र कोणबाट आलोचना गरे पनि अब एकता प्रभावित हुनेवाला छैन । र, ओलीको नेतृत्वमा अब बन्ने एकीकृत पार्टी नै ओली सरकारको सबभन्दा मजबुत धरातल हो । अडान र राजनीतिक क्षमतामा प्रधानमन्त्री ओली, भिजन र व्यवस्थापनमा रक्षामन्त्री ईश्वर पोखरेल, कार्यदक्षता र उर्जामा अरु मन्त्रीहरुलाई समकालीन राजनीतिमा प्रतिस्पर्धा गर्ने विरलै होलान् ।















प्रतिक्रिया