२०६२/०६३को जनआन्दोलनले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्यो । राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनार्थ गरिएको आन्दोलनले धेरै खाले परिवर्तनको बाटो खोलियो । वि.सं २०१९ सालको पञ्चायती संविधान र ०४७ सालको बहुदलीय संविधानले नेपाललाई हिन्दू राष्ट्र बनायो । त्यसबाट उत्पीडनमा परेका लाखौं नेपाली सन्तुष्ट रहन सकेनन् । आज पनि यसको लडाई निरन्तर चलिनै रहेको छ । मुलुकको संरचना अहिले भताभुङ्ग हुँदै गइरहेको छ । यहाँ मान्छेलाई आफ्नै स्वार्थ छ । राष्ट्रियताको स्वार्थ प्रकट गर्ने पनि व्यक्तिगत स्वार्थले विनास हुँदै गइरहेका छन् । मुलुक जटिल अवस्थाबाट गुज्रिरहेको छ । अनेकौं समस्याहरु मध्ये संविधान प्राथमिकताको विषय बनेपनि केही विभेदकारी मूल्य मान्यता बोक्नेहरु हिन्दूराष्ट्रको माग गरिरहेका छन् ।
फूलबारीमा कुनै फूल छिटो फूल्न सक्छ, कुनै नफूली मर्न सक्छ । बगैंचाको फूलहरुलाई फरक दृष्टिकोणले हेर्न सकिन्न । यदि मुलुक पृथ्वीनारायण शाहले भनेकै जस्तो ४ जात ३६ वर्णको साझा पूmलवारी हो भने नेपालमा किन चाहियो हिन्दूराष्ट्र । नेपाल बहुभाषिक, बहुधार्मिक, र बहुसंस्कृतिकको पहिचानले परिचित छ । यहाँ सयौं जातजातिको बसोबास छ । दर्जनौं धर्म मानिन्छ । यदि शासन गर्नकै लागि हिन्दूराष्ट्र चाहिएको हो भने अन्य धर्मलाई चोट पुर्याउन पाइने छैन ।
हिन्दू धर्मले नेपालको चौतर्फी विकासमा समेत अवरोध पुर्याएको छ । धर्मको नाममा गरिने विभेदले नागरिकहरु स्वतन्त्र हुन सकिरहेका छैनन् । जब मुलुक विभेदरहित बन्न सक्दैन, तब त्यो देशको विकास सम्भव छैन । विश्वमा धेरै देशहरुले धार्मिक लडाई लडिसकेका छन् । नेपाल धर्म निरपेक्ष राष्ट्र घोषण भइसक्दा पनि विभेदको मानसिकतामा बाचेकाहरु यही अभियानलाई महान सम्झेर लागिरहेका छन् । जुन नागरिकको हितमा छैन । धार्मिक ग्रन्थले विभेद गर्न भनेको छैन । तर, यहाँ हिन्दू धर्मैभित्र जातीय भेदभाव भएको छ । लैङ्गिक भेदभाव भएको छ । अनेकौं विभेदहरु विद्यमान छन् । एउटा महिला मासिकश्राव हुँदा परिवारबाट घृणित बन्नुपरेको छ । कथित उपल्लो जाति बनेर कथित दलित जातिलाई विभेदमा पारिएकोे छ । परिवर्तनको रुपरेखा हेर्ने हो भने चिन्ताजनक छैन । तर पनि समयले विभेद भोग्नेलाई चिन्तित बनाउँदै गइरहेको छ ।
आज, विभेदमा पर्नेहरु आफ्ना तमाम इच्छालाई मारेर बस्न विवश छन् । अझै पनि महिलाहरु पुरुषप्रधानको शिकार बन्नुपरेको छ । यो हिन्दू धर्मको ग्रन्थमा नहुन सक्छ । तर, व्यवहार परिवर्तन भएको छ । नेपालमा हिन्दू, क्रिश्चयन, बौद्धिष्ट, मुस्लिम र जैन धर्म मानिदै आइरहेको छ । धर्म निरपेक्ष राष्ट्र घोषणा हुँदा त हिन्दू बाहेक अन्य धर्म मान्नेहरु शोषणमा पर्नुपरेको छ । हिन्दू राज्य हुने हो भने के हुन्छ ? सोच्न सकिन्न । फेरि अन्य धर्महरु ठिक छन् भन्ने होइन । हिन्दू धर्म मान्नेहरु नै आज धर्म निरपेक्षको आवाजलाई सशक्त रुपमा व्यक्त गरिरहेका छन् ।
सन्दर्भ: राप्रपा नेपाल र खुमबहादुर खड्काको हिन्दू राज्य अभियान हो । राजतन्त्र जसले वर्षौंसम्म नेपाली जनतालाई शोषण गरेर रगत चुसेको थियो । जसको अवशान जनताले नै गराए । राजतन्त्रको पक्षमा उभिएर राजनीति गरिरहेको राप्रपा नेपालले फेरि राजतन्त्रलाई स्थापित गर्न खोजिरहेको छ । हिन्दूराज्य राप्रपा नेपालको सामान्य एजेण्डा मात्र हो, महत्वपूर्ण एजेण्डा राजतन्त्र स्थापित गर्नु हो । राजतन्त्रको अवशान गराउन धेरै नागरिकले त्याग गरेका छन् । आज धेरै महिलाको सिउँदो खाली भएको छ । धेरै टुहुरा भएका छन् । धेरै विधुर भएका छन् । राजतन्त्र फर्किन सक्दैन । हिन्दूराष्ट्र स्वीकार्न सकिँदैन । क्रिश्चियन धर्म मान्नेहरु डलरको खेती गरिरहेका छन् । धर्मको नाममा जीवन गुजारा गर्नेहरु हिन्दूधर्म मान्नेलाई सैतानको उपनाम दिइरहेका छन् । धर्मको प्रचार गर्नु क्रिश्चयन धर्मको खराब प्रवृत्ति हो । धर्मको नाममा असाह्य र गरीब दुःखीलाई लोभलालचमा धर्म परिवर्तन गराउँदै क्रिश्चियन धर्मले चलाएको अभियान हिन्दू राष्ट्र अभियानभन्दा कम छैन । त्यसैले यी दुवै प्रवृत्ति नेपालको हकमा गलत छ । पहिलो संविधानसभाबाट संविधान जारी हुन सकेन । संघीयता र धार्मिक समस्याले गर्दा संविधान जारी हुन सकेन । अहिले दोस्रो संविधानबाट पनि उही अवस्था देखापरेको छ । यसैले गरीब र निमुखा जनतालाई स्वतन्त्रता चाहिएको छ । धर्मको उनीहरुलाई मतलव छैन । समयमा हातमुख जोर्न नपाउने नेपालीहरु प्रशस्त छन् । उनीहरुलाई संघीयताको चासो छैन । उनीहरु गरीबीले वर्गीय विभेदमा परेका छन् । जुनसुकै राजनीतिक दल होस्, त्यो जनताको पक्षमा उभिन सक्नुपर्छ । राजनीतिक छलाङ मारेर मात्र हुन्न, यहाँ परिवर्तनको छलाङ्ग चाहिएको छ । यहाँ हिन्दू राज्य होइन, नेपालीलाई संविधान चाहिएको छ ।
खुमबहादुर खड्का एक पटक भ्रष्टाचारको अभियोगमा जेल पुगे । रिहा हुनसाथ ऐतिहासिक माला लगाइयो । आज हिन्दूराष्ट्रको अभियान चलाईरहेका छन् । नेपाली कांग्रेसका नेता भएर यो अभियान सञ्चालन गर्नु उनको एनजीओ धन्धा त होइन ? कि नेपाली कांग्रेस कै अभियान हो प्रष्ट बनाउन जरुरी छ । कि क्रिश्चियन जस्तो विदेशी पैसाको सहायतामा नेपालमै झुण्ड चलाउने योजना छ ? नेपाली राष्ट्रियता आफैंमा गौरवको विषय हो । कसैलाई हिन्दू राष्ट्र, कसैलाई धर्म निरपेक्ष यो कस्तो खेल हो ? धार्मिक गुरुहरुले आ–आफ्नै ढंगबाट धार्मिक विश्लेषण गर्लान् । विश्लेषण राम्रो हुनसक्छ । तर, भेष गुरुको हुँदैनमा सब थोक ठीक छ भनेर स्वीकार्न पनि सकिँदैन । उदाहरणका लागि गढीमाई मेलामा बली चढाउने संस्कार नेपाल र अन्य देशमा पनि विरोध भएको छ । धर्मको नाममा पशुको बाँच्ने अधिकार हनन् गर्न मिल्दैन । जसरी मान्छे बाँच्न पाएको छ त्यसरी पशुले पनि बाँच्न पाउनुपर्छ ।
संविधानमा हिन्दू राज्य लेखिनु हुँदैन । यदि लेखियो भने देशमा अर्को द्वन्द्व सुरु हुन्छ । जबसम्म धर्मनिरपेक्ष राष्ट्रको कार्यान्वयन हुन सक्दैन, तबसम्म मुलुकको विकास पनि हुनसक्दैन । संविधान जारी गर्न यस्तै अनावश्यक विषयले अवरोध पुर्याइरहेको छ । सारा नेपाली यस्तै होहल्लाको लहैलहैमा एकतामा बाँधिन सकिरहेका छैनन् । जसले राज्यको लागि केही दिइरहेको छ त्यसैले सम्मान पाइरहेको छैन । किन चाहियो धर्म ? मनभित्रबाट सबैको भलो चिताउन सकौं ।














प्रतिक्रिया