१ कार्तिक २०८३, आइतबार

जातीय छुवाछुत अन्त्यको माग गर्दै तेह्रथुममा सहभोज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रकाश धौलाकोटी
तेह्रथुम, ५ पुस ।  नेपाली समाजमा विद्यमान जातीय छुवाछुत अन्त्य गर्न माग गर्दै तेह्रथुमको आठराईका दलित समुदायले सहभोज गरेका छन् । आठराई क्षेत्रका विभिन्न सात गाविसका दलितहरु ईवा गाविसमा जम्मा भएर सामुहिक सहभोज गरेका हुन् ।सहभोजमा पहाडी क्षेत्रका दलितहरु (कामी, सार्की, र दमाई) सँगै यस क्षेत्रका गैरदलितहरु सहभागी भए ।

दलित–दलित भित्रै विभेद हुने गरेको भन्दै त्यस्तो विभेद अन्त्य गर्न गराउन तथा सामाजिक सद्भावको सन्देश फैलाउन सहभोज गरिएको आयोजक बर्गीय विभेद उन्मुलन कार्य समितिका अध्यक्ष धनबहादुर खातीले बताए ।

समाजमा विद्यमान छुवाछुत विरुद्ध काम गर्दा गैरदलितहरुले दलितहरु भित्रै छुवाछुत कायम छ भनेर पञ्छिने गर्छन्, अध्यक्ष खातीले भने ‘यसको प्रतिउत्तर स्वरुप हामीले हामीबीचको एकता एउटा गाउँ मात्र होइन सात गाविसका कामी, दमाई र सार्की एकै चुलोमा पाकेको भोजन गरेर सद्भावको सन्देश बाँड्न खोजेका छौँ ।’

अध्यक्ष खाती भन्छन्–समाजमा चेतना अभावका कारण नै छुवाछुत जस्तो कलङ्क जरो गाडेर बसेको छ । खातीले समाजमा सबै मिलेर बस्नु पर्ने भन्दै जातीयता कै आधारमा छुवाछुत गर्नु सामाजिक अपराध भएको बताए । उनले नेपालमा मुलुकी ऐन देखि अहिले सम्म पटक–पटक छुवाछुत सामाजिक अपराध हो भनेर कानुन बनाइए पनि लागु नभएको भन्दै यसको अन्त्य गर्न सरकारले विशेष पहल गर्न माग गरे ।

यस्तै अर्का दलित अधिकारकर्मी खगेन्द्र विश्वकर्माले दलितहरु भित्रै पनि कामीले सार्कीलाई, सार्कीले कामीलाई र कामी सार्कीले दमाईलाई जातकै आधारमा विभेद गर्नु अशिक्षाको प्रतिफल भएको बताए ।

मानव समाजको कलंक जातीय छुवाछु र भेदभावलाई अन्त्य गर्नको लागि गाउँ–गाउँमा सचेतनामुलक कार्यक्रम गरिनु पर्ने उनको माग छ । उनले सरकारले कानुन बनाए पनि प्रभावकारी कार्यान्वयन गर्न सरकारले चासो नदेखाएको गुनासो गरे ।

सहभोज पछि आजै अब बन्ने संविधानमा दलितहरु माथिको विभेदको अन्त्य गरिनुपर्ने भन्दै विभिन्न नारासहित नौमति बाजाका साथमा स्थानीय बजारमा शान्तिपुर्ण प्रदर्शन र अन्तरक्रिया समेत सम्पन्न गरेका छन् ।