
– टेकराज पौडेल
खुमबहादुर खड्का लामो समय नेपालको मन्त्री भएका मान्छे हुन र उनले २०४८ सालदेखि २०५८ सम्म करिब ८ बर्ष (करिब २ बर्ष बाहेक) पूरापूर सरकारको महत्वपूर्ण मन्त्रालय सम्हाल्ने अवसर प्राप्त गरे । स्थानीय विकास, भौतिक र काँग्रेसमा सबैभन्दा बढी समय गृहमन्त्री हुन पाउने भाग्यमानीको रेकर्ड नै कायम गरे ।
खड्काले शुरुमा दाङ्ग क्षेत्र नम्बर १ को विकासमा उल्लेखनीय योगदान गरे, त्यो क्षेत्रका कांग्रेस कार्यकर्तालाई आफू जुन मन्त्रालय सम्हाल्ने मौका पाए, त्यहीँ अनावश्यक दरबन्दी थपेर जागिर खुवाए ।
राजा बीरेन्द्रले नेपाली सेनालाई माओवादी बिरुद्ध परिचालन गर्न नमानेपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अर्धसैनिक संगठन ‘सशस्त्र प्रहरी बल’ गठन गरे । गृह मन्त्रालयको मातहतमा रहने गरी १४ हजार जवानहरु राख्दा खड्काले नै धेरैजसो आफू अनुकुल सेना र प्रहरीबाट लडाकु खालका युवाहरु राखे । यसरी सशस्त्रमा ल्याएपछि प्रहरीमा खाली पदहरुमा आफ्नो क्षेत्रका कांग्रेस कार्यकर्ताबाट बचेका ठाउँमा मात्र अन्यत्रका कांग्रेस कार्यकर्ताले ठाउँ पाए ।
२०५५ सालमा नेपालगन्जमा सुरु भएको कांग्रेस दोश्रो महासमिति बैठकमा खुमबहादुर, चिरन्जीबी वाग्ले र बिजयकुमार गच्छदार पार्टीका ठूला भ्रष्टाचारी मन्त्री भएको भनेर व्यापक बिरोध भयो ।
खड्काले राष्ट्रिय अनुसन्धान केन्द्रमा ५ हजार जति दरबन्दी थपे । त्यसमा कांग्रेस कार्यकर्ता, अझ विशेषगरी दाङ्गका भर्ति गरे । अनुसन्धानमा राखेका राजनैतिक कार्यकर्ताका कारण सिडियो कार्यालयमा माओवादीले आक्रमण गर्दा समेत सिडियोले समेत थाहा पाउँदैन थिए ।
खड्का राजनीतिमा देउवा भन्दा चलाख र बिपीले नै विश्वास गरेका युवा थिए । उनलाई पनि देउवाको भन्दा बढी नेता तथा सांसदले विश्वास गर्थे । तर परिस्थितिले देउवालाई नेता बनायो ।
खड्कालाई राष्ट्रिय राजनीतिको केन्द्र भागमा आउने चाहना राखेको देशभरिका कार्यकर्तालाई थाहा थियो, काठमाडौँ आउने देशभरका कार्यकर्ता खड्कासँग नजिकिन खोज्थे । उनी आफूसँग भेट हुनेलाई केही रकम खल्तीमा हाल्दिएर पठाउँथे । र, आफ्नो पक्षमा पार्थे ।
मन्त्रीको तलब मात्रले कति पो हुन्छ ? सायद काठमाडौँमा ठीक्क हुन्थ्यो तर देशभरिकै भुक्का कार्यकर्तालार्इ खुशी पार्न र केही आफूले पनि कमाउन खड्काले अनियमितता गरेर भ्रष्टाचार गरेको कांग्रेस कार्यकर्ताबीच व्यापक भयो । दाङको आफ्नै क्षेत्रको देउखुरीबाट गडवा जाने करोडौँ बजेटमा बनेको पुल एक महिना नपुग्दै भत्किनु र रौतहटमा बक्राहा नदीमा बनाएको करोडौँ रुपैयाँमा बनेको पुल कमजोर बनाउँदा ठेकेदारले भौतिक योजना मन्त्रीलाई मोटो रकम दिएको कारण कमजोर बनेको हो भनेपछि गिरिजाप्रसाद कोइराला ससंकित भैसकेका थिए ।
२०५१ सालमा एमालेको चुनाबी सभा भैरहेको बेला दाङ्ग बिजौरीमा ३ जना कार्यकर्तालाई खड्काले आफ्नै हातको पेस्तोलबाट गोली हानेर हत्या गरेका थिए । जुन पेस्तोल कपिलवस्तु बहादुरगञ्जका शिक्षक बर्मानन्द उपाध्यायले बढ्नीबाट खरिद गरी ल्याइदिएका थिए । उपाध्यायलाई खड्काले शिक्षकको जागिर हुँदा हुँदै एउटा यातायात संस्थानको महाप्रबन्धक बनाइदिएका थिए । उनकै कार्यकालमा उक्त संस्थान सम्पूर्ण रुपमा ध्वस्त भएको थियो ।
२०५५ सालमा नेपालगन्जमा सुरु भएको कांग्रेस दोश्रो महासमिति बैठकमा खुमबहादुर, चिरन्जिबी र बिजय कुमार गच्छदार पार्टीका ठूला भ्रष्टाचारी मन्त्री भएको भनेर व्यापक बिरोध भएपछि १० वटा टोली बनाएर सुझाब संकलन गरिएको थियो । सो बैठक भित्रका ८ वटा टोली प्रमुखहरुले ३ जनाको बिरुद्धमा बोल्ने क्रममा आफ्ना समूहको साझा धारणा भनेर पेश गरेका थिए । र, समापान भाषण गर्ने क्रममा गिरिजाप्रसाद कोइरालाले भ्रष्टाचार गर्नेलाई छानबिन हुने बताएका थिए ।
२०५७ सालमा भ्रष्टाचारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग आयोगलाई सशक्तिकरण गर्न भनी प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारले नयाँ विधेयक ल्यायो र तत्कालिन गृहमन्त्री पूर्णबहादुर खड्का विदेश भ्रमणमा भएकोले कार्यबाहक गृहमन्त्री खुमबहादुर खड्का (तत्कालिन स्थानीय विकासमन्त्री) ले नै संसदमा विधेयक पेश गरेका थिए । र, जुन विधेयकका कारण खड्काले जेल सजाय भोगे ।
२०५८ सालमा प्रधानमन्त्री शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रले आफ्ना मन्त्रिपरिषदका ५ जना भ्रष्टाचारी मन्त्रीलाई जिम्मेवारीबाट मुक्त गर्न भनेको र राजाको भनाइ च्यालेन्ज गरे बापत आफू जेल जानु परेको बताउने गरेका थिए खड्काले । र, गिरिजाप्रसाद कोइराला समेत आफूलाई फसाउन लागेको थिए भन्ने भनाइ राखेका थिए । २०५४ सालमा एमाले फुटाउन आफूले ठूलो रकम खर्च गरेको र आफ्नो त्यति ठूलो योगदान पार्टीले बुझ्न नसकेको गुनासो पनि उनले गर्दै आएका थिए ।
२०५८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बक्राहा नदीको पुल निर्माण र नदी नियन्त्रण लगायतका धेरै योजनाबाट खड्काले करोडौँ रकम हिनामिना गरेको आरोप लागेको थियो । मन्त्री भएकै अवस्थामा अस्वभाविक रुपमा उनले करिब ३ करोड ७९ लाखको श्रोत नखुलेको सम्पत्ति आर्जन गरेको देखिएकोले बिशेष अदालतमा मुद्धा दर्ता गर्यो। खड्काले अदालतमा उक्त रकम जम्मा गरी जमानत लिएर बाहिर निस्के । यता अदालतले पनि मन्त्री फुस्केपछि दिएको मुद्धा नलाग्ने भनी खड्काको पक्षमा फैसला गर्यो ।
२०६९ सालमा उक्त मुद्धा पुन सर्वोच्चले हेर्ने निर्णय भयो । सर्वोच्चका २ जना न्यायाधीशले खड्काले भ्रष्टाचार गरि सम्पत्ति आर्जन गरेकोले ५९ लाख जरिवानासहित १ वर्ष ११ महिना जेल सजाय हुने फैसला गरे ।
एक वर्ष ११ महिना जेल बसेर खड्का बाहिर निस्के । तर, खड्कालाई उनले मिठो चखाएका मान्छेहरु १०० किलोको माला लिएर जेलको ढोकामा लगाई दिन पुगे ।
खड्कालाइ श्रद्दन्जली दिनु घर परिवारलाई समवेदना दिनु त ठीकै हो । तर, मैले माथि लेखेका तथ्यपूर्ण भनाइहरु सर्वोच्च अदालतको आदेशबाट जेल गएको मान्छेलाई महान क्रान्तिकारी, त्यागी अनुशाशित जस्ता विशेषण भिराएर फेसबुक, अनलाइन पत्रिका र छापा खबरहरु रंगिनु कत्तिको जायज हो ? आफू शक्तिमा हुँदा कमाएको आर्थिक र केहि साथीभाइको बलमा आएको प्रचारको पछि लागेर गलतलाई सही र सहीलाई गलत बनाइदिँदा भोलि राम्रो काम किन गर्नु पर्यो ? नराम्रो मान्छेले पनि मरेपछि सम्मान पाउने हो भने किन गर्नुपर्यो राम्रो काम ?
सिंगो देश समृद्ध बनाउन सक्ने अवस्था भएको बेला त्यस्तो महत्वपूर्ण पद पाएको मान्छेले देशभरका कार्यकर्तालाई पैसाले आफ्नो बनाएका रहेछन्, देशका बेरोजगार लाखौँ कार्यकर्ताको प्यारो हुन खड्काले राष्ट्रको कति सम्पत्ति दोहोन गरे होलान् ? त्यसै अनुमान लगाउन सकिन्छ ।
स्वर्गीय खड्काप्रति श्रद्धाञ्जली, बिचौलियाप्रति श्रद्दासुमन !
खड्काको शरीर र राजनैतिक अवसानपछि पैसो खान नपाउने कार्यकर्तालाई समवेदना !















प्रतिक्रिया