काठमाडौं, ४ पुस । सरकारी सञ्चारमाध्यम रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सरकारले सार्वजनिक प्रसारणमा ल्याउने भएको छ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले सूचना तथा सञ्चार मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारणमा लैजाने सहमति दिँदै प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।
रेडियो र टेलिभिजनलाई सत्ता पक्षले दुरुपयोग गर्दै आएको आरोप लागिरहेका बेला निष्पक्ष र स्वतन्त्र बनाउन यो निर्णय गरिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
मन्त्रिपरिषद्ले सार्वजनिक प्रसारणमा लैजान आवश्यक भौतिक पूर्वाधारलगायतको तयारी अघि बढाउन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको जानकार मन्त्री मीनेन्द्र रिजालले दिए।
यसैगरी बैठकलले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी एेन, २०७१ लाई सैद्धान्तिक सहमति दिँदै समाज कल्याण मन्त्रालयलाई अघि बढाउन निर्देशन दिएको छ।
त्यस्तै दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापारको नियन्त्रण तथा नियमनका लागि कानुन निर्माण गर्न वन मन्त्रालयलाई निर्देशन दिएको छ।
बैठकले विद्युत् उत्पादनगृहको सुरक्षाको आवश्यक प्रबन्ध गर्न गृह र ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले दुर्घटनामा परी उपचारका क्रममा निधन भएका सभासद् हरिबहादुर खड्काका नाममा बागलुङ अस्पतालमा ट्रमा कक्ष स्थापना गर्ने निर्णय पनि गरेको छ।















प्रतिक्रिया