काठमाडौं, ३ पुस । नक्कली राहदानीमा द्वन्द्वग्रस्त राष्ट्र सिरियाका नागरिकलाई नेपाल हुँदै युरोप छिराउने मानवतस्करी रोकिएको छैन।
काठमाडौंलाई ट्रान्जिट बनाउँदै आएका तस्करले सिरियालीलाई युरोप लैजाने रुट भने परिवर्तन गरेका छन्।
यसअघि सिरिया–टर्की–काठमाडौं हुँदै युरोप छिराउने गरेकामा पुरानो रुटमा समस्या आएपछि उनीहरुले नेपाल आउने नयाँ रुट प्रयोग गर्न थालेका हुन् ।
नयाँ रुट हो– टर्की–कतार–काठमाडौं–युरोप।टर्कीले स्तानबुलस्थित विमानस्थलमा कडाइ गरेपछि तस्करले नयाँ रुट अपनाएको देखिन्छ।
‘नक्कली राहदानीमा गैरकानुनी रुपमा युरोप जान हिँडेका सिरियालीले नेपाल आउने रुट बदलेका छन्। पहिले उनीहरु टर्की गई त्यहाँबाट सिधै काठमाडौं आउँथे, अहिले कतार र अन्य खाडी राष्ट्रको विमानस्थलबाट नेपाल आउने गरेको पाइएको छ,’ अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकालले भने, ‘टर्कीको राजधानी इस्तानबुलमा टर्किज एयरलाइन्सले कडाइ गरेपछि उनीहरुले रुट फेरेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।
टर्किज एयरलाइन्सले इस्तानबुलबाट सिधै काठमाडौं उडान भर्छ। यसैको फाइदा उठाउँदै मानवतस्करहरुले सिरियालीलाई नक्कली राहदानीमा युरोप पठाउन काठमाडौंलाई ट्रान्जिट बनाउँदै आएका छन्। अध्यागमनको अनुरोधपछि टर्किजले इस्तानबुलमा सिरियाली नागरिकमाथि कडाइ गरिरहेको छ।
‘टर्किज एयरलाइन्सले कडाइ गरेपछि नेपाल आउने सिरियाली अरेबियन राष्ट्र हुँदै आउने गरेका छन्, ढकालले भने। केही महिनायता २५ सिरियाली नक्कली राहदानीमा युरोप जाँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।
फाडिया अज्जा, फौआद इजेस, बिबार्स इस्माइल, फयज अलहिलु, बसाल अलअहमदलगायत सिरियाली नागरिक कतार हुँदै काठमाडौं आउँदा पक्राउ परेका हुन्।
सिरियालीहरु युरोप जान एक्लाएक्लै मात्र होइन, परिवारै समेत एकसाथ आउने गरेको पाइएको छ। एकै परिवारका चार सदस्य विमानस्थलमा पक्राउ पर्नु यसैको प्रमाण हो।
महानिर्देशक ढकालका अनुसार नक्कली राहदानीमा पक्राउ परेका सिरियाली अधिकांशले युरोपको जर्मनी, बेलायत र बेल्जियम जान हिँडेको बयान दिएका छन्।
आफूलाई शरणार्थी बताउने उनीहरु द्वन्द्व चर्केकाले सिरिया बस्न नसकेर युरोपमा शरण लिन हिँडेको बताउने गरेका छन्।
सन् २०११ यता द्वन्द्वका कारण सिरियामा करिब २ लाख मानिसले ज्यान गुमाइसकेका छन्। सिरियाको पूर्वी र इराकको उत्तर–पश्चिम भागमा इस्लामिक स्टेट फर इराक एन्ड सिरिया आइएसआइएस नामक सुन्नी विद्रोही समूहले कब्जा जमाएको छ।
यसले सिरिया र इराक दुवैमा द्वन्द्व चर्काएको छ। सिरियामा केही समूहले राष्ट्रपति बसार अल असदलाई पदच्यूत गरी प्रजातन्त्र स्थापना माग राखी लामो समयदेखि आन्दोलन गरिरहेका छन्।
आइएसआइएसमाथि अमेरिकाले हवाइ आक्रमण गरिरहेको छ। आइएसआइएसले विश्वभरका जिहादीलाई समेटेर मजबुत आतंकवादी संगठन तयार गरेको छ।
विश्वका जुनसुकै देशमा आइएसआइएसका कार्यकर्ता तथा समर्थकले आक्रमण गर्ने सम्भावना रहेको अमेरिकालगायत पश्चिमा देशको आँकलन छ।
‘नक्कली राहदानीमा आउनेहरुले त्यहाँ बस्न नसकेका कारण युरोप गई शरणार्थी भएर बस्न नेपाललाई ट्रान्जिट बनाउने गरेको बताएका छन्, महानिर्देशक ढकालले भने, ‘हाम्रो अनुसन्धानमा अहिलेसम्म आतंकवादमा संलग्न मान्छे यहाँ भेटिएको छैन।















प्रतिक्रिया