
एजेन्सी । फेसबुकका प्रमुख मार्क जुकरवर्गले फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोमा माफी मागेका छन् ।
बेलायती राष्ट्रिय पत्रिकाहरूमा आइतबार विज्ञापन छापी उनले माफी मागेका हुन् । फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोमा उनले गल्ती पनि स्वीकार गरेका छन् ।
‘सन् २०१४ मा फेसबुकका लाखौँ प्रयोगकर्ताको तथ्याङ्क चुहिएको’ विश्वविद्यालयका अनुसन्धाताले गरेको जाँचबुझबाट थाहा भएको जुकरबर्गले विज्ञापनमा स्वीकार गरेका छन्। प्रयोगकर्ताको गोप्य सूचना संरक्षण गर्ने जिम्मेवारी फेसबुकको भएको भन्दै उनले त्यसो गर्न नसक्ने हो भने आफूहरु योग्य हुन नसक्ने स्वीकार गरेका छन् ।
उनले भने, ‘यो घटना विश्वासप्रतिको धोखा हो र त्यस समयमा केही गर्न नसकेकोमा म क्षमा याचना गर्न चाहन्छु। हामीबाट यस किसिमको गल्ती पुनः हुने छैन भन्ने निश्चित गर्न आवश्यक कदम चालिसकिएको जानकारी गराउन चाहन्छु।’
जुकरवर्गले भनेका छन्, ‘अहिले फेसबुकले नियम परिवर्तन गरिसकेको छ त्यसैले अव यस्ता गल्ती भविष्यमा हुने छैनन्।’ उनले लेखेका छन्, ‘हामीले यो समस्या समाधान हुनुपूर्व ठूलो सङ्ख्याको तथ्याङ्कमा पहुँच राख्ने हरेक एपमाथि खोजी गरिरहेका छौं। जब हामी पत्ता लगाउने छौँ तिनीहरूमाथि रोक लगाउने छौँ र प्रभावित सवैलाई जानकारी गराउने छौँ।’













प्रतिक्रिया