३० आश्विन २०८३, शुक्रबार

प्रेमको प्रस्थानविन्दु र डेडलाइन

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अक्सर प्रेमको अंकुर युवा अवस्थादेखि नै पलाउन थाल्छ । प्राकृतिक रूपमा पनि शरिरका अंगहरूको विकास र चलायमान अवस्था हुने भएकाले यहि बेला विपरित लिंगीसँगको आकर्षण पनि बलियो हुने गर्छ । तर, आकर्षणलाई प्रेमको परिभाषा दिएर हिँड्ने नयाँ पुस्ताको सम्बन्ध दिगोचाहीँ हुँदैन ।

औपन्यासीक कृतिदेखि कथाका अनेक पात्रहरूको उमेरसँग दाँज्दा उनीहरूलाई लाग्छ– यहि प्रेम हो । तर, यथार्थ र कथा फरक हुन्छ । यो प्रेम होइन, आकर्षण हो । यद्यपि, यो आकर्षणलाई प्रेमको नामाकरण गरी सहरीया र आधुनिक पुस्ताले भन्न थालेको ‘रिलेशनसीप’ कति बलियो छ ? यो बुझाईमा परनिर्भर हुन्छ ।

किशोरावस्थाको सम्बन्धकै कारण हुने आत्महत्या, हत्या र गर्भवतीजस्ता समाचारका शिर्षकहरूले पुष्टि गर्छ– आकर्षण वा प्रेम हो यो ? सामाजिक सञ्जालले स्थापित गरेको सम्बन्ध, नजिक बनाएको उमेरशुन्य प्रेम करिअरका लागि कति घातक र कति सवल हुन्छ ? सवैले मनन् गर्नैपर्ने हुन्छ ।

अहिंशाका पयार्य महात्मा गान्धीले भनेका छन्– जहाँ प्रेम त्यहाँ जीवन । प्रेमका बारेमा लेखिएका परिभाषा र अर्थले यसको महत्वलाई विशाल मात्रै बनाएको छैन त्यति नै जटिल पनि बनाइदिएको छ । माया प्रेम महसुस गरिने आध्यात्मिक विषय हो । पशुपंक्षीले त माया प्रेमका भावना आ–आफ्ना माध्यममा अभिव्यक्त गरिरहेका हुन्छन् भने चेतनशील र विवेकशील भनिएका मानवजीवन त प्रेमविना निरश हुने नै भयो ।

प्रेम के हो ? र प्रेम किन ? भन्ने बुझ्नै नपाई विपरित लिङ्गीसँगको आकर्षणबारे अहिलेका पुस्ताको दैनिकीको अध्ययनको प्रयास हो यो । ललितपुरको एउटा निजी विद्यालयमा ११ पढ्दै गरेकी निशालाई च्याटमा उसले के लेखिसक्यो होला ? उनलाई त्यो पढ्न आतुर भइसक्छ । विहान कलेजमा भेटेर आए पनि घरमा खाना खाएपछि प्रेमीसँग च्याटमा कुरा गर्न नपाउने हो भने उनलाई कलेजको होमवर्क गर्न पनि मन लाग्दैन । भन्छिन्,‘साँझ बाबा आमा आएपछि च्याट गर्न सजिलो हुदैन दिनभरी च्याट गर्न पाए साँझ होमवर्क र पढ्ने गर्छु ।’

अहिलेको पुस्तालाई प्रविधीले पनि आफ्ना भावना साटासाट गर्न सजिलो बनाइदिएको छ । यसका लागि उनीहरूलाई चिठी लेख्ने झन्झट र चिठी पु¥याइदिने मान्छे खोजिरहनु पर्दैन ।

१६ वर्षिय सन्दिपलाई प्रेमिकासँग पढ्न नपाइने हो कि भन्ने पिरलो छ । उनका अभिभावकले उनलाई कृषि पढाउन चितवन पठाउने तयारी गरिरहेका छन् भने प्रेमिका ललितपुरकै कलेजमा पढ्ने तयारी गरिरहँदा आजभोलि उनलाई ठूलो अलमल भएको छ । कक्षा ८ देखि नै नजिकिएका उनीहरू एसएलसीको परीक्षासम्ममा आइपुग्दा एकदिन पनि छुट्टिन नसक्ने भएका छन् ।

क्षणिक आकर्षण र विकर्षणमा सम्बन्धहरू बन्ने र भत्कने गर्दा अहिलेका प्लस टु जेनेरेशनको मायाप्रेम दिगो नहुनुका साथै करिअर नै डिस्टर्व भइरहेको छ

अहिले १२ मा पढिरहेका सिन्धुलीकी नम्रतालाई प्रेमी भेट्न त्यति असहज छैन किनकी उनी मामासँग कुपण्डोलमा बस्दै आएकी छन् । मामासँग बस्दा घरमा जस्तो अप्ठ्यारो नहुने उनको तर्क छ । पढाईलाई प्राथमिकता दिने बताए पनि उनलाई एकदिन उनको प्रेमी कलेज नआए पुरै कक्षा लिन मन लाग्दैन रे । झन् उसको मोबाइल अफ भयो भने त उनको दिमाग अनेक थरी कुरा चल्दो रहेछ । मोबाइल अफ र मोबाइल बिजी भएको इस्यूमा उनीहरूको कतिपटक त झगडा पनि परिसकेको छ । आजभोलि मोबाइल साइलेन्समा राख्ने तर अफ नगर्ने सहमति त भएको छ तर कहिलेकाही बिजुली नहुँदा फोन बन्द भइहाल्छ ।

माथिका तीन जोडीका आ–आफ्नै समस्या छन् । समस्या फरक भएपनि सबैको चाहना भनेको प्रेमी प्रेमिकासँग कुनै न कुनै माध्यमबाट भेटिरहनु र जोडिरहनु नै हो । यसरी उनीहरूले बुझेको प्रेम उनीहरूकै लागि कहिलेकाहीँ विरक्ति र चिन्ताको विषय बन्दै गएको छ । विशेष गरी दुईबीच ‘अण्डरस्ट्याण्डिङ्ग’ नहुँदा इगोका रूपमा एउटाले अर्कैसँग सम्बन्ध बढाएपछि झगडा र कुटपिट समेत हुने गरेको छ । ‘तलाई देखाइदिन्छु’ भन्ने इगोमा साथीकै प्रेमी या प्रेमिकासँग नजिकिने परम्परागत प्रवित्ति पनि बढ्दै छ ।

आशिष नयाँ वानेश्वरको एक कलेजमा पढ्छन् । एकदिन सानो कुरामा उनको प्रेमिकासँग मनमुटाव बढ्यो । आशिषलाई देखाइदिने भन्दै उनकी प्रेमिकाले आफ्नै साथीसँग रिलेसन बढाएपछि आशिषलाई टिनएजको प्रेमको विश्वास लाग्न छाडेको छ । भन्छन्,‘प्लस टु सकेर एब्रोड स्टडीजमा गएर त्यसलाई नी देखाईदिन्छु् । यसरी क्षणिक आकर्षण र विकर्षणमा सम्बन्धहरू बन्ने र भत्कने गर्दा अहिलेका प्लस टु जेनेरेशनको मायाप्रेम दिगो त हुन्न नै उनीहरूको करिअरलाई नै डिस्टर्ब गर्ने माध्यम बनेको पनि देखिन्छ ।

प्लस टु पुस्तामा प्रेमलाई धेरैले यौनसँग जोडेर व्यवाहार देखाइन थालिएको छ । आशिषलाई अहिले पछुतो छ । त्यतिबेला प्रेमिकासँग यौन सम्बन्ध राखेको भए सायद प्रेम टुट्दैन थियो कि भन्ने कता कता लागिरहन्छ । विशेष गरी केटाहरू प्रेमिकासँग यौनसम्बन्ध स्थापित गर्न सकिए प्रेमिकाले आफुलाई सधै पछ्याइरहने विश्वासमा देखिन्छन् । सम्बन्धलाई दिगो बनाउने विश्वासमा अहिलेका प्लस टु पुस्ता यौनमा निकै उदार देखिएको छ । सार्वजनिक यातायात सपिङ मल, सडकमा समेत उनीहरू प्रेम दर्शाउन आलिङ्गनमा बेरिनुलाई समान्य मान्छन् ।

मध्य वानेश्वरमा लामोसमयदेखि औषधी पसल संचालन गर्दै आएका एक व्यवसायी भन्छन्,‘कलेज ड्रेसमा नै धेरै किशोर किशोरी परिवार नियोजनका अस्थायी साधन खरिद गर्न आउँछन् ।’ विशेष गरी उनीहरू कण्डम भन्दा पनि गर्भनिरोधक चक्की नै लैजाने गरेको ती व्यवसायीको अनुभव छ ।

केटीहरूसँगै आएपनि केटा साथीहरूले किन्ने गरेको उनले बताए । यती मात्र हैन अहिले शहरका विभिन्न चोकमा खुलेका मेरिस्टोप्समा असुरक्षित यौन सम्बन्धका कारण बसेको गर्भबाट छुट्कारा पाउन गर्भपतनका लागि पुग्ने किशोरीको संख्या पनि उत्तिकै छ ।

चिकित्सकहरू भन्छन्,‘उमेर नपुगी हुने यौन सम्बन्धका कारण उत्पन्न समस्या समाधानकालागि प्रयोग गरिने गर्भ निरोधक चक्की या गर्भपतनले अन्ततः किशोरीको प्रजन स्वास्थमा गम्भिर असर पुग्छ ।’ लामोसमय सम्म गर्भ निरोधक औषधी प्रयोग गर्नुपनि हानिकारक हुने चिकित्सक डा. नुतन शर्माको सुझाव छ ।

रत्नराज्य लक्ष्मी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक श्रीराम पौडेलको बुझाईमा अहिलेको पुस्ता सम्बन्ध र यौन दुबैमा उदार छ । लामो समयदेखि अध्यापन गर्दै आएका पौडेलले प्रेमकै कारण उनीहरू पुरानो पुस्ता भन्दा बढी उर्जाशील भएका छन् । अध्ययनलाई प्रेम र सम्बन्धले अबरोध नगर्ने पौडेलको ठम्याइ छ । उनीहरू अध्ययनसँगै प्रेमलाई पनि अगाडी बढाउन निकै समझदार हुन थालेको पौडेलले देखेका छन् ।

विद्यालय स्तरदेखि नै अहिलेको पुस्ता विपरित लिङ्गीसँग आपसमा घुलमिल भएकैले पनि उनीहरू प्रेम प्रस्ताव र यौनका विषयमा खुल्न सकेका हुन् । कुनै केटीले आफ्ना मनका कुरा केटीसाथीलाई भन्दा केटासाथीलाई नै सेयर गर्न बढी मनपराउँछन् । यसले गर्दा पनि अहिलेको पुस्तालाई प्रेम प्रस्ताव राख्न न फ्रेब्रुअरी १४ पर्खनुपर्छ न कुनै जात्रा मेला पर्वलाई नै कुर्नु पर्छ । यो पुस्ता जति चाडो प्रेम जोड्न सक्छ त्यसरीनै तोड्न पनि ।

यसर्थ, सहरमा देखिएका अनेक प्रकारका उदाहरणहरूले सम्बन्ध जोडिने भन्दा पनि तोडिने र सामाजिक रहनसहन नै फरक रहेको तथ्यलाई साधारण रूपमा केलाउन सकिन्छ । करिअर बनाउने बेलामा ‘सेक्स’को साधक र प्रतिशोधका रूपमा फरक रिलेशनसीपमा बाँचीरहेको किशोरपुस्ता सम्हालिन जरूरी देखिन्छ ।