रबिना बोहरा
बागलुङ, १ पुस । धौलागिरि अञ्चल अस्पतालका बिरामी र अस्पताल प्रशासनले सरसफाइमा ध्यान नदिएका कारण यहाँका बिरामी कुरुवाहरु समेत बिरामी हुन थालेका छन् ।
बागलुङ जिल्लामा केही दिन यता बढ्दो चिसोसगैँ बिरामी बढिरहेको अवस्थामा अस्पताल व्यवस्थित नहुँदा बिरामीहरु समेत थप पीडित बनेका छन् । ‘यहाँको ट्वाईलेट धेरै फोहोर छ, पानी पनि छैन, बिरामी कुर्न आएको मान्छे थप बिरामी भईएला भन्ने चिन्ता थपिएको छ,’ धौलागिरि अञ्चल अस्पतालमा बिरामीलाई कुर्न आउनुभएकी शान्ति रेग्मीले भन्नुभयो, ‘अस्पताल प्रशासनले सरसफाइमा ध्यान नदिने हो भने महामारी फैलिन सक्छ ।’
बागलुङ जिल्लामा केही दिन यता बढ्दो चिसाका कारण बिरामीको सङख्यामा अत्यधिक वृद्धि भएको छ । मौसम परिवर्तनसगै बढेको जाडोका कारण घरघरमा रुघाखोकी, ज्वरो, टाइफाइड र निमोनियाका बिरामीको सङख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । चिसोका कारण अधिकांश बालबालिका र वृद्धबृद्धाहरु प्रभावित भएका छन् । मुस्ताङ, भुदि लगायतका क्षेत्रमा आएको हिमपातले गर्दा पनि जिल्लामा अहिले अत्याधिक चिसो बढेको छ । जिल्लाको प्रत्येक घरमा अहिले दुई र तीनजना औसतमा बिरामी रहेको स्थानीयवासीले बताएका छन् । चिसो क्रमशः बढ्दै जाँदा जिल्लाको जनजिवन समेत प्रभावित भएको छ ।
अस्पतालमा अहिले दैनिक ५० देखि एक सयसम्म बिरामी आउने गरेका छन् । जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि दैनिक ५० देखि ७० जनासम्म आउने गरेको चिकित्सकले बताएका छन् । मौसममा भएको परिवर्तनस्वरुप आएको चिसोबाट जिल्लाका दर्जनौँ गाविसका मानिसहरु बिरामी परेका छन् ।
विगतको तुलनामा केहि दिन यता बागलुङ जिल्लामा चिसो ह्वात्तै बढेकाले चसोबाट बच्नका लागी शरिरको ख्याल गर्नुपर्ने स्वाथ्य कर्मीहरुले सुझाव दिएका छन । चिसोबाट बच्न खानपानमा विशेष ध्यान दिन र न्यानो तथा तातो कपडा लगाउन स्वाथ्य कर्मीहरुको सुझाव छ ।















प्रतिक्रिया